arrow

दार्चुलामा गठबन्धनबीच मिल्यो भागबण्डा, कांग्रेसले ५ र माओवादीले ४ पालिका पाउने

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ वैशाख ७ बुधबार
local-level-election-000.jpg
तस्बिर– फाइल

दार्चुला । यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा सत्ता गठबन्धन दलहरुबीच भागबण्डामा सहमति बनेको छ । लामो छलफलपछि मंगलबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने समझदारी बनेको हो । 

यसअघि स्थानीय तहमा भागबण्डाको कुरो नमिल्दा सहमति हुन सकेको थिएन । केन्द्रीय सत्ता गठबन्धनलाई जिल्लामा पनि कायम गर्ने गरी स्थानीय तहमा समझदारी भएको नेपाली कांंग्रेस जिल्ला कार्य समिति सभापति ललितसिंह बोहराले जानकारी दिए । 

मंगलबार भएको भागबण्डाको सहमतिमा नेपाली कांग्रेसले ५ स्थानीय तहमा प्रमुख र नेकपा माओवादी केन्द्रले ४ स्थानीय तहमा प्रमुख पाउने भएको छ । नेपाली कांग्रेसले महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, दुहुँ गाउँपालिका, व्याँस गाउँपालिका र मालिकार्जुन गाउँपालिका पाउने र माओवादीले मार्मा गाउँपालिका, अपी हिमाल गाउँपालिका, नौगाड गाउँपालिका र लेकम गाउँपालिकामा प्रमुख पाउने सहमति भएको काँग्रेस सभापति बोहराले बताए ।

यस्तै कांंग्रेसले ७ पालिका (अपी हिमाल, मार्मा, शैल्यशिखर, महाकाली, लेकम, दुहुँ र नौगाड) मा उपप्रमुख-उपाध्यक्ष पाएको छ भने माओवादीले २ पालिका (व्याँस र मालिकार्जुन) मा उपाध्यक्ष पाएको छ । 

सहमति अनुसार कांग्रेसले ४६ वटा वडा पाएको छ । दार्चुलामा दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले ५ स्थानीय तह, नेकपा एमालेले ३ र नेकपा माओवादीले १ स्थानीय तह जितेको थियो । 

सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले यसअघि जितेका पालिकामा नै चित्त बुझाएको छ । अघिल्लो चुनावमा एक स्थानीय तह जितेको माओवादीले यसपालि थप तीन पालिका पाएको छ । 

जिल्लामा सत्तागठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादीलाई पनि मिलाएर जाने सहमति अनुसार एक दुई ठाउँमा वडाध्यक्ष तथा केही सदस्य दिने बुझिएको छ । यसबारे पत्रकार सम्मलेन गरी जानकारी गराइने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ