arrow

टिका लगाउनुपर्ने अवस्था दोहोर्‍याउनु नपरोस्, सभापतिजी चुप लागेर बस्नुहुन्न : प्रकाशशरण

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
Prakash-Saran-Mahat-copy1.jpg.jpeg
काठमाडौं । नेविसंघ महाधिवेशन विवाद समाधान निर्देशन समितिका संयोजक तथा नेपाली काँग्रेसका नेता प्रकाशशरण महतले  महाधिवेशन कुनै हालतमा नरोकिने स्पष्ट पारेका छन् । 
 
आइतबार रिपोर्टर्स क्लबमा महतले भने,‘महाधिवेशन कुनै हालतमा रोकिँदैन, सोमबार मनोनयन हुन्छ, संगलबार चुनाव हुन्छ ।’ उनले अहिले आरोप–प्रत्यारोपमा उत्रिने समय नभएको भन्दै महाधिवेशन सफल पार्ने अभियानमा लाग्न आग्रह समेत गरे । महतले फर्जी प्रतिनिधि छनोट गरिएको भनेर हल्ला चलाइएपनि त्यसमा कुनै सत्यता नभएको जिकिर गरे । 
 
पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा निर्वाचित भइसकेपछिको पहिलो कार्यसमिति बैठकबाटै भ्रातृ संगठनको चुनाव ६ महिनाभित्र सम्पन्न गर्ने निर्णय गराएको उल्लेख गर्दै महतले भने, ‘पटक–पटक घोषणा र स्थगित हुँदै आएको नेविसंघको अधिवेशनको मिति आउन १२ दिन अघि मात्रै पार्टी सभापतिले मेरो संयोजकत्वमा निर्देशन समिति गठन गर्नुभयो, त्यसपछि तोकिएको समयमै विधिसम्मत महाधिवेशन गराउने चुनौती हाम्रो काँधमा आयो ।’ 
 
महतले विवादित जिल्लाको सहमतिमै प्रतिनिधि छनोट गरिएको बताउँदै भने,‘सहमतिमै प्रतिनिधि चयन भएको हो, यसमा कुनै विवाद छैन ।’ टिका लगाएर नेविसंघमा नेतृत्व चयन गर्ने परम्परा तोड्ने चाहना पार्टी सभापति देउवाको रहेको उल्लेख गर्दै महतले भने,‘हाम्रो चाहना भनेको यो परम्परा तोड्नु हो ।’ उनले अहिले महाधिवेशन स्थगन हुने कुरा कसैले पनि सोच्न नहुने भन्दै सबैले महाधिवेशन सफल पार्न सहयोग गर्नुपर्ने धारणा राखे । उनले थपे,‘टिका लगाउनुपर्ने अवस्था दोहोर्‍याउनु नपरोस्, यस्तै अवस्था रहीरहे सभापतिजी चुप लागेर बस्नुहुन्न, आशा गरौं त्यस्तो अवस्था नओस् ।’ 
 
सबै पक्षलाई खुशी तुल्याउने प्रयासका कारण महाधिवेशन लम्बिएको तर्क गर्दै महतले महाधिवेशनको मुखमा आएर अनावश्यक विवाद झिकेर विद्यार्थीहरुबीच अहिष्णुता उत्पन्न गराउने काम कसैले पनि गर्न नहुनेमा जोड दिए ।
 
उनले अगाडि थपे, ‘पार्टी सभापतिले बरु जो आएपनि नेविसंघभित्रैबाट नेतृत्वमा आउने भन्दै उहाँले आफ्नो अनुकुलको नेतृत्व ल्याउन कुनै जोडबल गर्नुभएन, सबै पक्षलाई सहमतिमा ल्याएर महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने पार्टी सभापतिको चाहनाले पनि हामीलाई ऊर्जा मिलेको छ, महाधिवेशन सफल बनाउनतिर केन्द्रित हुनुपर्छ ।’ 
 
पार्टी सभापति देउवाले फर्जी प्रतिनिधि चयन गरेर नेविसंघको नेतृत्व कब्जा गर्न खोजेको आरोप अर्को पक्षले लगाएको छ, नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने,‘पार्टी सभापतिजीले त्यस्तो चाहेको भए, अहिले अवसर थियो नि, तर उहाँको चाहना त्यस्तो नभएर महाधिवेशनमार्फत, चुनावबाटै नेतृत्व चयन गर्नु हो ।’
 
महतले अघि थपे,‘महाधिवेशनका लागि मुलुकभरबाट आएका विद्यार्थी प्रतिनिधिहरुको चाहना भने विधिसम्मत् तरिकाबाट हुने निर्वाचनमा मतदातालाई रिझाएर नेतृत्वमा पुगौं भन्ने छ, अर्को कुरा निर्देशन समितिमा रहेकाहरु (म, किशोरसिंह राठौर, र प्रदीप पौडेल) सबै नेविसंघको नेतृत्वमा रहिसकेका व्यक्तिहरु अहिले हामी यही सँगै छौं, महाधिवेशन सफल बनाउनु हाम्रो उद्देश्य हो ।’ 
 
कार्यक्रममा नेविसंघ नेतृत्व हुँदै पार्टीको केन्द्रिय राजनीतिमा स्थापित भैसकेको नेताहरु चन्द्र भण्डारी, एनपी साउद, विश्वप्रकाश शर्मा, ऋषिकेशजँग शाह उपस्थिति थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ