arrow

पौडेलपक्ष आफैं बोक्सी, आफैं झाँक्री : काफ्ले समूह

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
kundan-kafle-samuh.jpg.jpeg
काठमाडौं । नेविसंघको विवाद चुलिँदै जाँदा उम्मेदवारहरूबीच एक आपसमा आरोप प्रत्यारोप चर्किन थालेको छ । पौडेल पक्षले नामावली प्रकाशित भएकोमा असहमति जनाउँदै नाराबाजीमा उत्रिएकोप्रति संकेत गर्दै काफ्ले समूहले भने पौडेल पक्ष आफैं बोक्सी र आफैं झाँक्री बनेको आरोप पनि लगाएका छन् । 
 
सो समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘तत्कालिन नेविसंघका निर्वाचित अध्यक्ष प्रदीप पौडेललाई अधिवेशन गराउनै नदिई हटाएर पार्टीले ६ महिनाभित्र विधिवत अधिवेशन गराउने गरी रन्जित कर्णको नेतृत्वमा वनाएको नेविसंघ समिति स्वयंले २५ सय ४६ को हाराहारीमा ’महाधिवेशन प्रतिनिधिको सिलिङ’ तोकेको थियो । तर, आफैले तोकेको सिलिङमा आफू अनुकुल संख्या थपघट गरी अपारदर्शी र अवैधानिक ढङ्गले भागवण्डावाट ६४ जिल्लाका प्रतिनिधि टुङ्गाएर सिलिङलाई ३ हजार ५४ पु¥याउने काम गरियो । देशभर नक्कली स्ववियु सिर्जना गरि  ९८ क्याम्पसवाट नक्कली प्रतिनिधि राखि पार्टीलाई बुझाईयो ।’ 
 
उनीहरूले त्यस्तो नक्कली प्रतिनिधिको सूचीलाई पार्टीका तत्कालिन महामन्त्री प्रकाशमान सिंह नेतृत्वको निर्देशन समितिले समेत सदर गरी अवैधानिकतालाई ‘लाहछाप’ लगाउने काम गरिएको आरोप पनि लगाएको छ ।
 
 

प्रेस विज्ञप्ति

मितिः२०७३४ ३०

आदरणीय पत्रकार मित्रहरू,

महाधिवेशन प्रतिनिधि साथीहरू

 

नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन उद्घाटनको आठौं दिन वितिसकेको छ । हिजो साउन २९ गते राति नेपाली काँग्रेसको वेवसाईटमार्फत प्रतिनिधिहरूको नामावली सार्वजनिक भइसकेपश्चात पनि वन्दसत्र लगायत, निर्वाचनका अन्य प्रक्रिया सुचारु हुन नसकेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

तत्कालिन नेविसंघका निर्वाचित अध्यक्ष प्रदीप पौडेललाई अधिवेशन गराउनै नदिई  हटाएर पार्टीले ६ महिनाभित्र विधिवत अधिवेशन गराउने गरि रन्जित कर्णको नेतृत्वमा वनाएको नेविसंघ समिति स्वयंले २५४६ को हाराहारीमा 'महाधिवेशन प्रतिनिधिको सिलिङ' तोकेको थियो । तर आफैले तोकेको सिलिङमा आफू अनुकुल संख्या थपघट गरि अपारदर्शी र अवैधानिक ढङ्गले भागवण्डावाट ६४ जिल्लाका प्रतिनिधि टुङ्गाएर सिलिङलाई ३०५४ पुर्‍याउने काम गरियो । देशभर नक्कली स्ववियु सिर्जना गरि  ९८ क्याम्पसवाट नक्कली प्रतिनिधि राखि पार्टीलाई बुझाईयो । त्यस्तो नक्कली प्रतिनिधिको सुचिलाई पार्टीका तत्कालिन महामन्त्री प्रकाशमान सिंह नेतृत्वको निर्देशन समितिले समेत सदर गरि अवैधानिकतालाई 'लाहछाप' लगाउने काम गरियो । नक्कली क्याम्पसमा नक्कली स्ववियु वनाउने, नक्कली प्रतिनिधि राख्ने,अपारदर्शी ढङ्गवाट भागवण्डा गरि महाधिवेशन प्रतिनिधि छनोट गर्ने र नेतृत्व कब्जा गर्ने प्रवृत्तिका विरुद्ध हामीले त्यतिवेला देखि नै ६४ जिल्लावाट आएका करिव ७५० लगायतका अवैधानिक (फर्जी) प्रतिनिधिहरूलाई खारेज गर्न र विधिवत महाधिवेशनको सुनिश्चितता गर्न  दवाव,जागरण र आमरण अनसन मार्फत संघर्ष गर्दै आएको विदित नै छ ।

बिधिवत महाधिवेशनका लागि आवश्यक नीतिगत र व्यवस्थापकीय कुनै तयारी नगरिकन गत २३ गते ११औ महाधिवेशनको उद्घाटन गरिएपश्चात नेविसंघ नेतृत्वले भागबण्डा गरि ल्याएका १६०० बढि अवैधानिक प्रतिनिधिलाई समेत बिर्सेर हामी महाधिवेशन प्रकृयामा सहभागि हुनका लागि तयार भयौं । हामीसंग भएको सहमति अनुसार अधिवेशन हुन नसकेका र विवादित क्याम्पस तथा जिल्लाहरूमा महाधिवेशन पछिको ३ महिनाभित्र विधिवत प्रकृयावाट नेतृत्व चयन गर्ने र जारी महाधिवेशन प्रयोजनका लागि ति क्याम्पस तथा जिल्लाहरूको प्रतिनिधित्व बन्चित नहोस भन्नका खातिर सरोकारवालाहरूको सहमतिमा प्रतिनिधित्व सुनिश्चितता गरि महाधिवेशन प्रकृया अगाडि वढाउने सर्वसम्मत निर्णय पार्टी निर्देशन समितिले गरेको थियो । यसरी सहमति गरेपश्चात जम्मा ३४९८ जना प्रतिनिधि संख्या हुनुपर्नेमा महाधिवेशन प्रतिनिधिहरूको नामावली सुचिकृत (टाईप) गर्ने क्रममा पुनः नेविसंघ नेतृत्वले जथाभावी नामावली थपि ३७६० जनाको नामावली सार्वजनिक गर्‍यो ।

आफैले नक्कली प्रतिनिधि थप गर्ने र वाहिर आम प्रतिनिधिहरूका विचमा महाधिवेशन बहिस्कार गर्ने अभिव्यक्ति दिदै जारी प्रकृयालाई प्रभावित पार्ने दुस्प्रयास नेविसंघ अध्यक्ष र अन्य जिम्मेवार व्यक्तिहरूवाट भईरहेको  छ । यो दुर्भाग्यपूर्ण छ । वर्तमान अध्यक्ष स्वयंको अधिवेशनको प्रक्रिया अवरुद्ध गर्ने दुराग्रहपूर्ण व्यवहारले काठमाडौंमा अनेकन कष्ट सहेर अधिवेशनको प्रकृयाको पक्षमा रहेका हजारौं विद्यार्थी साथीहरूको इच्छा र आकाङ्क्षामाथि कुठाराघात गरेको छ । पार्टीबाट गठित निर्देशन समितिमार्फत् सर्वसम्मत रुपमा तय भएका प्रतिनिधिमा आफैले प्रतिनिधि थप गर्ने र आफैले नक्कली भयो भन्दै महाधिवेशन प्रकृयावाट भाग्न खोज्नु पराजयको भयबाट सिर्जित मानसिकताको उपज हो र विधिको उल्लङ्घन पनि । यसलाई हामीले विधिवत महाधिवेशनका पक्षमा आएको लहर र समर्थनवाट अत्तालिएर फेरि हाम्रा विरुद्ध नेविसंघ नेतृत्व र त्यसलाई पक्षपोषण गर्ने पार्टी नेतृत्वले रचेको अर्को षडयन्त्रका रुपमा लिएका छौं । हामी कुनै पनि बहानामा महाधिवेशनको जारी प्रकृया नरोक्न नेविसंघ, महाधिवेशन निर्देशन समिति र नेपाली काँग्रेस नेतृत्व समक्ष जोडदार माग गर्दछौं ।

अन्त्यमा,

हजारौं प्रतिनिधि साथीहरूको बसाइ र खवाइको बेवास्ता गरी बन्द कोठाभित्र षड्यन्त्र रची अधिवेशन भाड्ने यस्ताखाले कर्तुतलाई समयमै चिन्न र होशियारीका साथ महाधिवेशनका पक्षमा खबरदारी गर्न एवं कुनै पनि हल्ला र भ्रममा नपरी महाधिवेशन प्रकृयामा सहभागि हुन सम्पूर्ण प्रतिनिधि साथीहरूमा हार्दिक अपिल गर्दछौं । साथै प्रतिनिधि साथिहरूले हामीप्रति देखाएको स्नेह र साथप्रति हार्दिक आभार र सम्मान प्रकट गर्दछौं।  जय नेपाल!   

विधिवत महाधिवेशन पक्षधर विद्यार्थीहरूको तर्फवाट,

कुन्दनराज काफ्ले

अध्यक्षका उम्मेदवार



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ