arrow

कृष्ण सिटौलाले केपी ओलीसँग हात मिलाए, कचनकवलमा कांग्रेस र एमालेबीच गठबन्धन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १० शनिबार
Kp-oli-Krishna-Sitaula-650x406.jpg

झापा । झापाको कचनकवल गाउँपालिकामा सत्ता गठबन्धन तोडिएको छ । त्यहाँ नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी गठबन्धन बनेको छ । उक्त क्षेत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको क्षेत्र हो । केन्द्रमा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच एकता भएकामा सिटौलाको क्षेत्रमा अवज्ञा भएको हो । 

पार्टीको चौधौं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँग चुनावी तालमेल गरेका सिटौलाले यसपालि भने केन्द्रको निर्देशनको अवज्ञा गरेका हुन् । यद्यपि कांग्रेसले स्थानीय तहमा आवश्यकता र औचित्यका आधारमा तालमेल गर्न सकिने बताएको थियो । सोही आधारलाई टेकेर सिटौलाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाएका हुन् । 

तर यसअघि तिनै सिटौलालाई प्रतिनिधिसभाको निर्वाचनमा हराउनका लागि एमालेले २०७४ सालमा राप्रपालाई भोट दिएर जिताएको थियो । 

यसपालि कांग्रेस र एमालेबीच गठबन्धन भएसँगै कचनकवल गाउँपालिकाको अध्यक्ष कांग्रेसलाई र उपाध्यक्ष एमालेलाई दिने सहमति भएको छ । अध्यक्षमा कांग्रेसका कालेन्द्र राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उठ्ने भएका छन् । गाउँपालिकाका ७ वटा वडामा वडाध्यक्ष र सदस्यसमेत मिलाउने प्रयास भइरहेको अध्यक्षका उम्मेदवार राजवंशीले बताए ।

कचनकवलमा कांग्रेस र एमालेबीच चुनावी गठबनधन बनेको एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले पनि पुष्टि गरेका छन् । उनले वडाध्यक्ष र सदस्यहरुको भागबन्डाको विषयमा छलफल चलिरहेको जानकारी दिए । 

कचनकवलमा राप्रपाको वर्चस्व तोड्न कांग्रेस र एमालेले गठबन्धन गरेका हुन् । राप्रपाका तर्फबाट बहालबाला अध्यक्ष अन्जार आलम र उपाध्यक्ष निमसरी राजवंशी उठ्ने भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ