- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि असहाय संरक्षण मञ्चका अध्यक्ष बैद्यनाथ साह सेवकले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सेवकले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै काठमाडौँपछि जनकपुरधामलाई दोस्रो ठूलो पर्यटकीय स्थल बनाउन सकिने भन्दै आफूले जितेपछि यहाँका विभिन्न पोखरी एवम् मठमन्दिरलाई सौन्दर्यीकरण गर्ने बताए ।
आफ्नो भिजनले ‘म जनकपुरधामलाई पर्यटकीय क्षेत्र बनाउन सक्छु । यहाँको फोहोर व्यवस्थापन गर्न सक्छु । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्न र युवालाई रोजगारी सिर्जना गर्न मसँग थुप्रै योजनाहरु पनि रहेको र त्यसलाई कार्यानव्यनमा ल्याउन नेतृत्व तहमा पुग्न आवश्यक रहेको छ ।’, सेवकले भने ।
स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका साहले आफू विगत १५ वर्षदेखि सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आइरहेकोले जनकपुरधामवासीले आफूमाथि विश्वास गरेर मत दिने विश्वास व्यक्त गरे ।
साहले आफू नेता नभई सेवक रहेको र जनकपुरधामबासीको सेवा गर्नका लागि आफ्ना लागि नेतृत्वमा पुग्न आवश्यक रहेको जिकिरसमेत गरे । उनले विगतमा पनि आफूले जनकपुरधामवासीका लागि थुप्रै सेवामूलक कामहरु गरेको समेत बताए ।
कोरोना महामारीको समयमा पनि करिब ५ हजार घरमा राहत वितरण गरेको स्मरण गराउँदै साहले जनकपुरधामवासी आफ्नो कामसँग प्रभावित रहेकोले आफ्नो जित सुनिश्चित रहेकोसमेत दाबी गरे ।
पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘मलाई नेता बन्नु छैन, जनकपुरधामवासीको सेवक भएर काम गर्न चाहन्छु ।’ यसअघि जनकपुरधामको मेयर पदका लागि निर्माण व्यवसायी बलराम महतो र नेपाली कांग्रेसका नगरसभापतिबाट राजीनामा दिएका मनोज साहले स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारीको समय निर्धारण गरिएको छ ।