एमालेले अझै सकेन महानगर र उपमहानगरका पूरै उम्मेदवारको छिनोफानो गर्न, आशा गठबन्धनको
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
538
Shares
काठमाडौं । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखको उम्मेदवार केही नाम बाँकी राखेर टुङ्ग्याएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको उम्मेदवारको नाम केही नाम बाँकी राखेर टुङ्गो लगाएको बैठकपछि एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार बैठकले काठमाडौं महानगरपालिकाको प्रमुखमा केशव स्थापित, उपप्रमुखमा सुनिता डङ्गोल, ललितपुरमा प्रमुख हरिकृष्ण व्यञ्जनकार, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, पोखरा प्रमुखमा दीपक पौडेल, उपप्रमुखमा मञ्जुदेवी गुरुङ, भरतपुरको प्रमुखमा विजय सुवेदी, वीरगञ्जमा प्रमुख विजय सरावगीलाई उम्मेदवार बनाउने गरी निर्णय गरेको छ ।
भरतपुरको उपप्रमुख, वीरगञ्जको उपप्रमुख र विराटनगरको प्रमुख र उपप्रमुख भने नाम टुंग्याउन बाँकी राखेको प्रचार विभाग प्रमुख गुरुङले बताए । केन्द्रीय सचिवालय बैठकबाट उपमहानगरपालिकातर्फ एमालेका उम्मेदवारहरू जनकपुर र जितपुर सिमराबाहेक अन्यत्र टुङ्ग्याएको छ ।