arrow

उम्मेदवारको दर्ता शुरु भइसक्यो, कांग्रेसले अझै टुंगो लगाएन प्रदेश १ मा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
congress-province1-always.jpg

विराटनगर । आसन्न स्थानीय तह निर्वाचनको उमेदवारी दर्ताको समय शुरु भइसक्दासमेत प्रदेश नम्बर १ मा पार्टीका उम्मेदवार तय हुन सकेका छैनन् । निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय तोकेको छ । तर प्रमुख सत्ताघटक नेपाली कांग्रेसले आइतबार मध्यान्हसम्म पनि प्रदेश १ का सबै जिल्लाका उम्मेदवारमात्र तय गर्न सकेको छैन । 

कांग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीका अनुसार चौध जिल्लामध्ये पहाडी छ जिल्लामा उम्मेदवार तय गर्ने काम भइरहेको छ । ‘ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुंगा, धनकुटा र तेह्रथुम जिल्लाका उमेदवार तय भइसकेका छन्’, उनले भने, ‘अब आज फेरि बैठक बसेर बाँकी जिल्लाका स्थानीय तहको उम्मेदवार टुंगो लगाउँदै छौं ।’

धेरै स्थानीय तहको विषयमा कांग्रेसको प्रदेश समितिलाई ‘डकुमेन्ट’ नै प्राप्त नहुँदा छलफल अघि बढाउन र उम्मेदवार चयन गर्न समस्या भएको रायमाझीको भनाइ छ । 

उम्मदेवार बन्नेहरुको नाम पार्टीको पालिकास्तर हुँदै जिल्ला र प्रदेशसम्म पठाउनु पर्ने प्रावधान छ । ‘तर, सिफारिस भएको भनि तल्लो तहबाट औपचारिक सिफारिस पत्र र जानकारी प्राप्त भएको छैन’, रायमाझीले सुनाए । 

नेपाली कांग्रेसले केन्द्रीय समितिले महानगर र उपमहानगरमा उठ्ने मेयर–उपमेयरको उम्मेदवारको टुंगो लगाउँछ । 

तर, त्यस बाहेक भने प्रदेशले सिफारिस गर्छ । प्रदेश एकमा एक सय ३७ स्थानीय तह छन् । 

ती तहहरुमा कांग्रेससहितका दलले गठबन्धन गर्ने निर्णयका कारण पनि कतिपय पालिकामा उम्मेदवार चयन हुन सकेका छैनन् । 

कांग्रेस प्रदेश समितिले राजनीतिक रुपले महत्वपूर्ण मानिएका झापा, मोरङ र सुनसरीका उम्मेदवार छान्ने विषयमा छलफल नै शुरु गरेको छैन । 

कतिपय पालिकाहरुमा कांग्रेसको स्थानीय समितिले गठबन्धनको विरोध गरिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ