गुल्मी सभापतिलाई रेसुङ्गाको प्रमुख उम्मेदवार बनाउने कांग्रेसको निर्णय
रमेश विश्वकर्मा,
प्रकाशित २०७९ वैशाख ११ आइतबार
982
Shares
गुल्मी। आशन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीलाई प्रमुख पदको उम्मेदवार बनाउने निर्णय भएको छ ।
नेपाली कांग्रेस रेसुङ्गा नगर कार्यसमितिले नगरपालिकाको प्रमुख पदमा तीन जनाको नाम क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समितिमा सिफारिस गरेसँगै क्षेत्रबाट आएको राय सहितको सिफारिसलाई जिल्ला कार्यसमितिले पनि जिल्लाको रायसँगै नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिमा पठाएको थियो । प्रदेश कार्यसमितिले सभापति पन्थीलाई नेपाली कांग्रेसको तर्फबाट रेसुङ्गा नगरपालिकाको प्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
जनताको प्रत्यक्ष जीविकोपार्जन सँग जोडिएर काम गरेका नेताका रूपमा परिचित सभापति पन्थी नगरपालिकाको प्रमुख पदका लागि उम्मेदवार बनेका हुन्। रेसुङ्गा नगरपालिका–५, भुवनपानीका बासिन्दा हुन् । ४६ वर्षीय पन्थी २०४६ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीति गर्दै आएका छन्। झन्डै ९ वर्षसम्म नेपाल तरुण दलको जिल्ला अध्यक्ष एका पन्थी यसअघिको जिल्ला अधिवेशनमा अत्यधिक मतले नेपाली कांग्रेस गुल्मी सभापतिमा विजयी भएका थिए ।
नेपाली कांग्रेसले प्रत्यक्ष जनताको जनजीविकासँग जोडिएर काम गर्ने भएकोले आफू नगरपालिकामा बहुमतका साथ विजयी हुने पन्थीको दाबी छ । उनले सधैँ नेपाली कांग्रेस पार्टी विपन्न, गरिब र दलित समुदायको पार्टी भएको बताउँदै आएका छन् ।
पटक-पटक मन्त्री बन्दा एउटा खोलामा पुल नबनेको गुल्मीमा उनको पहलमा तम्घास-सिमलटारी खण्डको सडकमा पक्की पुल बन्न लागेका छन् । पन्थी आफू सत्ता बाहिर रहेर पनि गुल्मी जिल्लाको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।