काठमाडौं। भन्सार विभागले साउन १ गतेदेखि लागूहुने गरी जारी गरेको झिटी गुण्टा भारी आदेश अन्तर्गत्को सुविधालाई परिमार्जन गर्दै काँचो सुन आयातमा पूर्ण प्रतिबन्ध लगायो। उक्त व्यवस्था अनुसार विदेशबाट आउनेहरूले ५० ग्राम भन्दा बढी सुन ल्याउन नपाउने नियम जारी गरेसँगै सुनको भाउ नेपाली बजारमा आकासिन थालेको व्यवसायीहरूले बताउने गरेका छन्।
यस भन्दा अघि आफूलाई चाहिने ५ सय ग्रामसम्म सुन आफैंले विदेशबाट फर्किँदा ल्याउन पाउने व्यवस्था भएपनि यो साउन १ गतेदेखि रोकिएपछि नेपाली सुन बजारमा विचौलियाहरूको विगविगी हुन थालेको व्यवसायीहरू बताउँछन्। अहिले काँचो सुन केन्द्रीय स्तरका वाणिज्य बैंकहरूले मात्रै आयात गर्न पाउँछन्। बैंकहरूले अहिले कम्तिमा १ केजीको सुन नेपालमा आयात गर्न स्वीकृती पाएको छ। तर, बैंकहरूले ल्याएको सुन साना व्यवसायीसम्म पुग्नको लागि एक केजी सुन एकैपटकमा किन्न भने सास्या रहेको छ। उनीहरूको सामथ्र्य अनुसार एकै पटक एक केजी खरीद गर्न नसक्ने हुँदा बीचमा विचौलियाहरूले बढी शुल्क लिएर थोरै परिमाणमा सुन विक्री गर्ने गरेको पनि व्यवसायीहरूको छ।
यस्तै, गुनासाहरू बढी भएपछि भन्सार विभागको अघुवाईमा केही दिन अगाडि विभागको कार्यालय त्रिपुरेश्वरमा विभाग, वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय राष्ट्र बैंक लगायतका सम्बन्धित निकायका प्रतिनिधिहरूबीच छलफल पनि भएको थियो। यही छलफल पछि भन्सार विभागले राष्ट्रबैंकको नाममा सयग्रामसम्मको ढिक्का सुन सुन आयात गर्न बैंकहरू स्वीकृति दिन पत्र पनि लेखेर पठाईसकेको भन्सार विभागका प्रवक्ता सूर्य सेढाईँले जानकारी दिए।
तर, यो विषयमा राष्ट्रबैंकबाट वाणिज्य मन्त्रालयलाई पत्र लेख्न भने ढिलाई भएको छ । जसले गर्दा यस व्यवस्थाले मान्यता पाउन ढिलाई भएको मन्त्रालयका अधिकारीहरू बताउँछन् । यस विषयमा कुरा गर्दा राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले यस विषयमा वाणिज्य विभागलाई नै सोध्न आग्रह गर्दै यस विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए।
उता, वाणिज्य मन्त्रालयको अन्तराष्ट्रिय व्यापार शाखाका उपसचिव रामेश्वर पोखरेलले राष्ट्रबैंकले सुनको विषयमा मन्त्रालयलाई लेखेको पत्र प्राप्त नभएको जानकारी दिए । उनले राष्ट्र बैंकबाट उक्त पत्र आएपछि मात्रै मन्त्रालयमा आवश्यक छलफल गरी सुन सम्बन्धि विद्यमान कार्यविधि परिमार्जन गरेर सय ग्रामसम्मको सुन ल्याउन स्वीकृति दिन सकिने जानकारी पनि दिए । उक्त कार्यविधि वाणिज्य मन्त्रालय अन्तर्गत् पर्ने भएकोले राष्ट्रबैंकले पनि स्वीकृति दिएको खण्डमा वाणिज्य मन्त्रालयले आपसी छलफल गरी यो कार्यविधि परिमार्जन गर्न सक्नेछ।
सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले अहिले नेपाल भरी रहेका २२ हजार सुनचाँदी व्यवसायीमा ५ सय व्यवसायी पनि एकैपटकमा १केजी सुन किन्न सक्ने नरहेको भन्दै यस्तो अवस्थामा विचौलियाको विगविगीले सबैलाई समस्या सिर्जना भएको बताउँछन्। उनी २०६६ सालमा कार्यविधि बनेपछि नै यस विषयमा आफूहरूले पटकपटक ताकेता गरेको भएपनि अहिले आएर बल्ल भन्सार विभागले यसमा सक्रियता देखाएको भन्दै खुशी व्यक्त पनि गरे। उनले यतिबेलासम्म पनि राष्ट्रबैंकले वाणिज्यलाई पत्र नपठाएको भन्ने सुनेको भन्दै राष्ट्रबैंकले यसमा ढिलाई गर्नु दुखद् रहेको जानकारी पनि दिए।