arrow

यी हुन् काठमाडौंका मेयर उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
ktm-canided-mayour.jpg

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र तथा विभिन्न दलका प्रतिनिधिले उम्मेदवारी दर्ता गराएका छन् । आज प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहको निर्वाचन अधिकृतको कार्यालयमा ठूला दलहरूले बाजागाजा र दलबलसहित आआफ्नो उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । केही साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आइतबार नै उम्मेदवारी दर्ता गराएका थिए । 

सत्ता गठबन्धनका तर्फबाट कामपाको  प्रमुखमा सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छन् । सृजनाको प्रस्तावकमा कामपाका उपप्रमुख हरिप्रभा खड्गी र समर्थकमा नीलकाजी शाक्य रहेका छन् । सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् । 

यसै गरी उपप्रमुखमा गठबन्धनकै साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का नेता रामेश्वर श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठको प्रस्तावकमा प्रवेशमान बज्राचार्य र समर्थकमा भीमसेन खतिवडा (विष्णु) छन् । 

त्यसअघि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का तर्फबाट प्रमुखमा देवेन्द्र खड्गीको समर्थनमा केशव स्थापितले मनोनयन दर्ता गराएका थिए । उनीसँगै उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले पनि मनोनयन दर्ता गराइन् । डङ्गोलको प्रस्तावकमा अजय क्रान्ति शाक्य र समर्थकमा सञ्जित डङ्गोल छन् । 

स्थापित यसअघि विसं २०५४ को स्थानीय निर्वाचनमा प्रमुखमा विजयी भइसकेका थिए । बागमती प्रदेशसभा सदस्यका रूपमा रहँदारहँदै उनले कामपाको प्रमुखमा उम्मेदवारी दिन प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए । 

यस्तै राप्रपाका तर्फबाट कामपाको प्रमुखमा कलाकार मदनदास श्रेष्ठले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन कार्यालयमा अहिले साँझसम्म कामपाको प्रमुखमा ४१ र उपप्रमुखमा २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्  । 

हिजो महानगरपालिकाको मेयरमा बालेन शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ