काठमाडौं। काठमाडौंमा जारी नेपाल विद्यार्थी संघको निर्वाचनमा देखिएको समस्या हल गर्ने विषयमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच दुई बुँदे सहमति भएको छ।
सोमबार दिउँसो भएको दुईनेताहरू बीचको बैठकमा नेविसंघको निर्वाचनलाई विधिवत रूपमा सम्पन्न गर्नको लागि विवादित भनिएको दुई विश्वविद्यालयहरू पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालय र काठमाडौं उपत्यकाका क्याम्पसहरूको प्रतिनिधि हेरफेर गर्ने सहमति भएको नेविसंघका महाधिवेशनका प्रचार संयोजक मोती भण्डारीले जानकारी दिए ।
त्यस्तै, यस अघि नै अधिवेशन भईसकेको भनिएको ६४ जिल्लाका प्रतिनिधिहरूमा पनि हेरफेर गर्ने सहमति भएको उनले जानकारी दिए। यो सहमति साँझ ७ बजेसम्म कार्यान्वयन गर्ने समझदारी पनि भएको छ। यसमा भागवण्डा कसरी मिलाउने भन्ने विषय भने बाहिर खुलाईएको छैन। यो सहमति कार्यान्वयन भएपछि पौडेल पक्षले भने मंगलबार मात्रै मनोनयन दर्ता गर्ने जनाएको छ।