arrow

'संगठनका निम्ति हजार अपमान सहन तयार छु तर संगठन, विधि र पद्दति नहारोस'

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ साउन ३१ सोमबार
kundan-kafle.jpg.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघका नेता कुन्दन काफ्लेले संगठनका निम्ति आफू एक पटक होईन हजार पटक अपमान सहन र असफल हुन तयार रहेको बताएका छन्। नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन उद्घाटनको नवौं दिनसम्म पनि वन्दसत्र लगायत, निर्वाचनका अन्य प्रक्रिया सहज रुपमा सुचारु हुन नसकेकोप्रति  दुःख व्यक्त गर्दै संगठनका लागि अपमान सहन तयार भएपनि संगठन अनि विधि र प्रकृया हार्न नहुने पक्षमा आफ्नो मत राखेका छन्। 
 
काफ्लेले जारी गरेको प्रेस विज्ञप्ती यस प्रकार रहेको छः
नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन उद्घाटनको नवौं दिनसम्म पनि वन्दसत्र लगायत,निर्वाचनका अन्य प्रक्रिया सहज रुपमा सुचारु हुन नसकेको प्रति म दुःख व्यक्त गर्छु।
 
नेपाल विद्यार्थी संघको एउटा सिपाहीको रुपमा मेरा निमित्त संगठन नै सवैभन्दा ठुलो विषय हो । लोकतन्त्रमा जीवन्त र गतिशील संगठनका निम्ति आवधिक रुपमा हुने महाधीवेशन र नेतृत्व चयन अनिवार्य सर्त हो । वितेका नौं बर्षमा नियमित र विधिवत महाधिवेशनमार्फत नेतृत्व चयन हुन नसक्दा नेविसंघको सांगठनिक र नीतिगत पक्षमा समेत ठुलो क्षति हुन पुग्यो । नेपाल विद्यार्थी संघले व्यहोरेको क्षति नेपाली काँग्रेसले मात्र होईन अन्ततः नेपालको लोकतन्त्रले समेत व्यहोर्नु परेको छ। हिजोका दिनमा चाहे पंचायकालमा होस वा हिंसा र निरंकुशताको कालखण्डमा होस संकटको हरेक क्षणमा नेविसंघले आन्दोलनको अगुवाई मात्र होईन कतिपय अवस्थामा पार्टीलाई मार्गदर्शन समेत गरेको छ । आज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यन्वयन गर्ने चुनौंतिपुर्ण कार्यभार नेपाली काँग्रेसको काँधमा आईरहेको वेला हामीलाई एउटा सशक्त, उर्जाशील र गतिशिल नेविसंघ चाहिएको छ,जसले संविधान कार्यन्वयनसंगै शैक्षिक रुपान्तरण र सामाजिक अभियानको समेत अगुवाई गर्न सकोस । नौं बर्षमा भएको महाधिवेशन मार्फत नेविसंघवाट समाजले त्यहि यूगीन दायीत्वबोधको अपेक्षा गरेको छ । त्यसका निमित्त हाम्रो पहिलो कार्यभार यो महाधिवेशनलाई सफलतापूर्वक टुङ्गाउनु नै हो ।
 
वर्तमान नेविसंघ नेतृत्व र त्यसलाई पक्षपोषण गर्ने पार्टी नेतृत्वले अनेकन अनियमितता र जालझेल गरि भागवण्डामा ल्याएका नक्कली प्रतिनिधिहरू खारेज गरेर विधिवत अधिवेशन गरिनुपर्छ भन्ने हाम्रो विगत २ बर्ष देखिको माग, दवाव अभियान र संघर्षका वावजुत गत २३ गते विना तयारी अधिवेशनको उद्घाटन भएपछि हामीले अनेकन पटक भएका जालझेल र षडयन्त्रका तानावाना सहेर अनि 'अपमानको विष पिएरै'भए पनि संगठनका निम्ति महाधिवेशनको प्रकृया स्वीकार गरेका थियौं । मेरा निम्ति व्यक्ति होईन संगठन र विधिको जित पहिलो सर्त हो।    
 
नेविसंघ नेतृत्वले अनियमितता गरि भागवण्डामा प्रतिनिधि छनोट गर्दा बिभिन्न जिल्ला र क्याम्पसमा छुटेका केहि विद्यार्थी साथीहरूको नाम सहमतिमा सहभागि गराउने निर्णय सर्वसम्मत रुपमा पार्टीको निर्देशन समितिले गरेपश्चात फेरि महाधिवेशन प्रतिनिधीको नामावली प्रकाशित भएपछि ति प्रतिनिधिहरूको स्थान परिवर्तन गर्ने सर्त राखेर अधिवेशन नै बहिस्कार गर्ने अभिव्यक्ति केहि पक्षवाट आएपछि महाधिवेशनको सफलताका खातिर त्यसका निम्ति पनि हामी खुला हृदयका साथ सहमत भयौं।
 
आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरू,
पार्टी नेतृत्व लगायत सम्बन्धित सवैमा आग्रह गर्न चाहन्छु,प्रतिनिधिहरूको मतदान गर्ने अधिकार कुन्ठित नगरियोस । कुनै पनि बहानामा विद्यार्थीलाई आफ्नो नेतृत्व चयन गर्नवाट नरोकियोस,म जे त्याग गर्न पनि तयार छु ।मेरा निम्ति हिजो पनि संगठन प्राथमिकता हो,आज र भोलि पनि । मलाई स्मरण छ, पोखरा महाधिवेशनमा मेरो नेता गगन थापाले आफू स्वभाविक र लोकप्रिय अध्यक्षको उम्मेदवार र आम बिद्यार्थीको अपार स्नेह र समर्थन हुँदा हुँदै अधिवेशन स्थलमा अनेकन षडयन्त्रका तानावान बुनेर विधिसम्मत अधिवेशन हुनवाट रोकिँदा पनि सवै आफ्ना इच्छा र पिडालाई हृदयको कुनामा थन्काएर संगठनका हितका लागि त्यसपछिका अलोकप्रिय परिणामलाई स्वीकार गर्नु भएको थियो ।  मलाई यो पनि स्मरण छ, मेरा अर्का नेता चितवन महाधिवेशनवाट भारी मतले निर्वाचित अध्यक्ष प्रदिप पौडेललाई महाधिवेशन गर्न नदिएर राजिनाम गर्न बाध्य पार्दा समेत संगठनका हितका लागि आफ्नो व्यक्तिगत  चाहनालाई कुर्वानी गर्नु भयो र अपमानको भारि बोक्न तयार हुनुभयो । म तिनै अग्रज नेताहरूवाट दिक्षित र प्रशिक्षित नेविसंघको सिपाही हुँ । आज मेरा निम्ति यो महाधिवेशनको सफलता नै जित हो । त्यसका अगाडि मेरो व्यक्तिगत सफलताअसफलता गौण विषय हो । संगठनका निम्ति म एक पटक होईन हजार पटक अपमान सहन र असफल हुन तयार छु तर संगठन अनि विधि र प्रकृया नहारोस । आम विद्यार्थी प्रतिनिधिहरू निराश भएर अनि हारेर काठमाडौंवाट फर्के भने हामी कोहि व्यक्तिको जित र तुष्टिकरणको कुनै मूल्य रहने छैन । त्यतिवेका संगठन हार्नेछ अनि पार्टी र लोकतन्त्र । अतः यो महाधिवेशन सफलताका निम्ति म फेरि पनि त्याग गर्न तयार छु । संगठन र पद्दति नहारोस। विधि र पद्दतिको पक्षमा हाम्रो संघर्षमा साथ दिने, स्नेह प्रदान गर्ने सवैप्रति आभारी छु! जय नेपाल!
 
मितिः२०७३४ ३१                                                                                                                        
तपाईको साथी,
कुन्दनराज काफ्ले 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ