एजेन्सी । इङ्गलिश क्लब एस्टन भिल्लाका पूर्व स्टार डलिएन एट्किन्सनको प्रहरीले गोली हानी हत्या गरिदिएको छ । ४८ वर्षीय एट्किन्सनको सोमबार बिहान टेलफ्रोडस्थित आफ्नै निवासमा गोली हानी हत्या गरिदिएको हो ।
घटनाको खबरपछि वेष्ट मरसिया प्रहरी पोष्टका अधिकारीहरू घटनास्थल पुग्दा एट्किन्सन गोली लागेको अवस्थामा भेटिएका थिए ।
गम्भीर घाइते भएका एट्किन्सनले उपचार पाएपनि उनको विहान ३ बजे मृत्यु भएको अस्पताललाई उदृत गर्दै डेली मेलले जनाएको छ ।
डेली मेलसँग कुरा गर्दै वेष्ट मरसिया प्रहरीले घटनाबारे अहिले नै केही भन्न नसकिने र थप अनुसन्धानका लागि घटनालाई ‘इन्डिपेन्डेन्ट पुलिस कम्पेल्नस कमिसन’मा ट्रान्सफर गरिएको जनाएको छ ।
एट्किन्सन १९९० दशकका राम्रा स्ट्राइकर हुन् । एट्किन्सनले इङ्गलिश प्रिमियर लिगमा बर्मिङघम र एस्टन भिल्लाबाट खेलेका छन् । उनले बर्मिङघमका लागि २० भन्दा बढी गोल गरेका छन् ।
यस्तै, एट्किन्सनले एस्टन भिल्लाका लागि ८५ खेलबाट २३ गोल गरेका छन् ।
करियरको सुरुवात भने उनले इप्सविच टाउन क्लबाट गरेका थिए । १९८५–१९८९ सम्म उनले टाउनका लागि ६० खेल खेल्दा १८ गोल गरेका थिए । डलिएनको जन्म सन् १९६८ मार्च २१ मा इङ्गल्याण्डको टेलफोर्डमा भएको थियो ।