arrow

पुनर्निर्माण प्राधिकरणको एक महिने विशेष अभियान सुरू

logo
प्रकाशित २०७३ साउन ३१ सोमबार
पुनर्निर्माण.jpg.jpeg
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितहरूसँग अनुदान सम्झौतालाई प्रभावकारी बनाउनको लागि एक महिने अभियान सञ्चालन गरेको छ । जुन अभियानको सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट प्राधिकरणका सिईओ सुशील ज्ञवालीले घोषणा गरेका हुन् । 
 
डेढ महिनामा भूकम्प प्रभावित जिल्लाका जनतालाई अनुदान रकम उपलब्ध गराउने घोषणा गरिसकेको सरकारको घोषणा र प्राधिकरणको कार्ययोजनालाई पूरा गर्न एक महिनासम्म विशेष अभियान सुरु गरेको प्राधिकरणका सिईओ ज्ञवालीले जानकारी दिए । 
 
यस अभियान अन्तर्गत मूख्यतः सम्झौता सम्पन्न भएका घरधनीका लागि अनुदानको पहिलो किस्ता रकम बैंक खातामा पुर्‍याउने, अनुदान सम्झौताको काम सम्पन्न गर्ने र अहिलेसम्म दर्ता भएका गुनासोको सुनवाई गरिने पनि प्राधिकरणले जनाएको छ । 
 
विशेष अभियानलाई सफल पार्नका लागि प्राधिकरणले आवश्यकता अनुसार साँझ, बिहान र सार्वजनिक बिदाका दिनमा पनि काम गर्ने व्यवस्था मिलाइएको छ । 
 
अभियानका क्रममा प्राधिकरणको उपक्षेत्रीय कार्यालयहरुमा रहेका जनशक्ति परिचालन गर्नुका साथै सो अवधिभर जिल्लामै बसेर काम गर्ने गरी ११ वटै जिल्लामा प्राधिकरणको केन्द्रीय कार्यालयबाट समेत आवश्यकता अनुसार थप जनशक्ति खटाइनेछ । 
 
प्राधिकरणका अनुसार २०७३ साल साउन ३१ गते मध्यान्ह १२ बजेसम्म ३ लाख ३९ हजार ४ सय ६२ घरधनीसँग अनुदान सम्झौता सम्पन्न भइसकेको छ । यस्तै ४९ हजार ७ सय ४९ घरधनीको बैंक खातामा पहिलो किस्ताको रकम पुगिसकेको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि साउन २८ गतेदेखि अनुदान सहयोग रकमको निकासा सुरु भएको छ । 
 
भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा अनुदान सम्झौताको क्रम धेरै अघि बढिसकेको पनि प्राधिकरणले जनाएको छ । गाउँ विकास समितिमा अनुदान सम्झौता भएपछि त्यसको विवरण जिल्ला विकास समितिमा पुग्ने र त्यहाँबाट कोष तथा लेखा नियन्त्रकको कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी बैंक खातामा रकम जम्मा हुने क्रम जारी रहेको पनि उसले जनाएको छ । 
 
त्यसैले अहिले प्राधिकरण, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतका केन्द्रीय आयोजना कार्यान्वयन इकाई र त्यस अन्र्तगतका निकायहरु तथा महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतका निकायहरु भूकम्प पीडित जनताको बैंक खातामा रकम उपलब्ध गराउने काममा लागेका पनि जनाएको छ । 
 
अनुदान सम्झौता र अनुदान वितरणको कार्य संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र महालेखा नियन्त्रकको कार्यालयसँगको सहकार्यमा हुन्छ । घर बनाउनका लागि प्राविधिक सहयोग सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र सो अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाईमार्फत उपलब्ध हुन्छ । त्यसका लागि गाविस तथा नगरपालिकामा इन्जिनियरहरु परिचालित भएको पनि प्राधिकरणले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ