काठमाडौं । कप्तान पारस खड्काको ८४ रनको मद्दतले नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको दोस्रो खेलमा नेदरल्याण्ड्ससामु २१८ रनको चुनौती पेश गरेको छ ।
नेदरल्याण्ड्सको भीआरए ग्राउण्ड एम्स्टेल्भिनमा नेपाली समय अनुसार २ः४५ बजे सुरू भएको खेलमा नेदरल्याण्ड्सले टस जितेपछि नेपालले पहिले ब्याटिङ गरेको हो ।
नेपालले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २१७ रन बनायो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ८४ रनको योगदान गरे । ९४ बल खर्चिएर १ छक्का र ७ चौका प्रहार गरे ।
कप्तान खड्काले सागर पुनसँग ११८ रनको साँझेदारी गरे । खड्का असन मलिकको बलमा भान डर मरवीको क्याच फन्दामा परे ।
क्रिजमा कप्तान खड्कालाई राम्रो साथ दिएका सागर पुनले ४५ रनको योगदान गरे । ७८ बल खर्चिएका पुनले २ चौंका हाने । उपकप्तान ज्ञानेन्द्र मल्लले पनि ३९ रनको योगदान गरे । मल्लले ५२ बल सामना गर्दै १ छक्का र १ चौका प्रहार गरे ।
शरद भेषावकर, अनिल मण्डलले भने दोहोरो अंक जोड्न सकेनन् । भेषाकरले ६ र मण्डलले ४ रन बनाए । राजु रिजाल भने रनको खाता नखोली पभेलियन फर्किए ।
नेदरल्याण्ड्सका लागि एमजेजी रिप्पनले २ विकेट लिए । नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले ७ विकेटको लज्जास्पद हार बेहोरेको थियो । ३८.१ ओभर क्रिजमा टिकेको नेपाली टोली ९४ रनमै अलआउट भएको थियो । पाएको ९५ रनको सहज चुनौती नेदरल्याण्ड्सले मात्र ३ विकेटको नोक्सानीमा १६.५ ओभरमै भेट्टायो ।
८ राष्ट्र सम्मिलित विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल अहिले छैटौं स्थानमा रहेको छ । ७ खेलबाट १२ अंक जोडेको नेदरल्याण्ड्स शीर्ष स्थानमा छ, भने नेपालले समान ७ खेलबाट ४ अंक मात्रै जोडेको छ ।
े
नेपालले यसअघि पाँच खेल हारिसकेकाले सोमबारको खेलमा जित हासिल गर्न सकेन भने अर्को चरण पुग्ने सम्भावना लगभग टुंगिने छ ।