चितवन । विभागीय त्रिभुवन आर्मी क्लबले चितवनमा भएको चौथो नेपाल कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । उपाधिसंगै आर्मीले तीन लाख हात पारेको छ ।
स्पोर्टस फर अल क्लब नेपालले आयोजनामा गरेको प्रतियोगितको फाइनलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २ –० गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो । आर्मीका लागि खेलको १९औं मिनटमा भरत खवासले पुलिसका तीन खेलाडीलाई छलाई डिबक्स भित्रबाट सहजै गोल गर्दै अग्रता दिलाए ।
एक गोलले पछाडी परेको नेपाल प्रहरीले खेलमा फर्कने प्रयास गर्दा २४औ मिनटमा दिनेश गुरुङ्गको प्रहारलाई गोल रक्षक विकेश कुथुले बचाउ गरे । यस्तै आर्मीका लागि २६औं मिनटमा टंक बस्नेतले हानेको बलमा कप्तान भरत खवासले किपरको अगाडी बाट गरेको हेड बल गोल रक्षक सोजित गुङ्गले बचाउ गरे ।
खेलको ३०औं मिनटमा आर्मीका सुमन अर्यालले गोल गर्दै खेललाई २–० को अवस्थामा ल्याए । क्याम्पाचौरमा भएको प्रतियोगिताको दोश्रो हाफमा दुवै पक्षबाट राम्रा प्रयास भएपनि गोल हुन नसकी खेल २–० को नतिजामा सकियो ।
विजेता आर्मीले नगद ३ लाख सहित ट्रफी र प्रमाण पत्र तथा उपविजेता पुलिसले नगद २ लाख सहित प्रमाण पत्र पायो । प्रतियोगिताभरको म्यान अफ द म्याच आर्मीका सुमन अर्याल भए । उच्च गोल कर्ता सेनाकै भरत खवास घोषित भए ।
उनले प्रतियोगिताभर तीन गोल गरेका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी पुलिस क्लबका रविन श्रेष्ठ घोषित भए । तीनै जनाले १०–१० हजार रुपैंया प्राप्त गरे ।
विजता तथा उपविजेता टिमलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापालगायतले पुरस्कार वितरण गरेका थिए ।