arrow

डोटीका सबै पालिकामा जित्ने कांग्रेसको दाबी 

logo
प्रकाश बम, 
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
279093390_545118696976124_4345513055743212954_n.jpg

डोटी । नेपाली कांग्रेस डोटीका शीर्ष नेताहरुले एक्लै भिडेर सबै पालिकामा जित्ने दाबी गरेका छन् । प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्लाका शीर्ष नेताहरुबीच एकता रहेको सन्देश दिँदै गठबन्धन नगरेर पार्टी जोगाउन सफल भएको बताए । 

सो कार्यक्रममा जिल्ला सभापति नरेन्द्रबहादुर सिंह, प्रदेश सांसद भरतबहादुर खड्का, पूर्व पार्टी सभापति प्रदिपकुमार देउवा, आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्ट, जिल्ला सदस्य एवम् पूर्व महाधिवेशन प्रतिनिधि भूमीराज बडु लगायतका नेताहरु सहभागी रहेका थिए ।

पार्टी सभापति नरेन्द्रबहादुर सिंहले सुशासन, पारदर्शिता र विकास निर्माणका एजेण्डासहित लामो अनुभव बोकेका नेताहरुलाई कांग्रेसले सेवाका लागि पठाएको बताए । 

कांग्रेसभित्रको आन्तरिक मनमुटावको फाइदा लिने प्रयत्न विपक्षीहरुले गरे पनि त्यो बिफल बनाएर छोड्ने उनको भनाइ थियो । पत्रकार सम्मेलनमा सभापति सिंहले अधिकांश पालिकामा आकांक्षीहरु सौहार्दपूर्ण वातावरण तयार गरी घरदैलो र चुनावी अभियानमा हिँडिसकेको जानकारी दिए । 

‘धेरै कार्यकर्ताहरु कांग्रेसको जनलहर देखेर हौसिनु भएको छ, हाम्रो जितत सुनिश्चित छ’, सभापति सिंहले भने, ‘गठबन्धनका नाममा हैसियतभन्दा बढी माग भएपछि सहमती भएन, त्यसमा केही दिन अल्झदा पार्टीका गतिविधि रोकिएका थिए ।’

प्रदेश सांसद भरतबहादुर कठायतले जिल्ला तहका सवै नेताहरु एकजुट भएर ठाउँ ठाउँमा खटिसकेकाले अब जनता र कार्यकर्ता अलमलमा नपरी कांग्रेसलाई जिताउन अनुरोध गरे ।

कम्युनिष्टहरु भ्रम फैलाउन सिपालु हुन्छन्’, सांसद खड्काले भने, ‘अहिलेको गठबन्धन गरेर जाने कुरामा व्यक्तिगत रुपमा आफू विपक्षी भए पनि पार्टी नेतृत्वको निर्देशन परिपालना गर्नु दायित्व हो । तर जनता र कार्यकर्ताको इच्छा विपरीत नेतृत्वले विवेक गुमाउन हुन्न ।’

नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्ट, पूर्व पार्टी सभापति प्रदिपकुमार देउवा, पूर्व महाधिवेशन प्रतिनिधिभूमीराज बडुले पनि उम्मेदवारलाई जिताउन सबै नेता कार्यकर्ताहरु खटिनु पर्ने बताए । उनले असन्तुष्ट कार्यकर्ताहरुलाई समेत तीतामीठा कुरा भुलेर पार्टीले दिएको जिम्मेवारीमा लाग्न अनुरोध गरे ।

टिकट वितरणप्रति असन्तुष्ट नेताहरुलाई २ दिनभित्र सहमति गराउने गरी आफ्नो नेतृत्वमा गृहकार्य भइरहेको सभापति सिंहले बताएका छन् । पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै सभापति सिंहले टिकट वितरण गर्दा लामो गृहकार्य र छलफलपछि बिना पूर्वाग्रह निर्णय लिए पनि केही साथीहरुको चित्त दुख्नु स्वभाविक रहेको बताए ।

 ‘यद्यपि पार्टी नीति र पद्धति बाहिर नजाउन भनेर हामीले सम्झाइ बुझाई गरेर मूल लाइनमा फर्काउनु दायित्व हो’, सिंहले भने, ‘उहाँहरुका जायज कुरा सुन्न तयार छौं, हदै सम्मको लचकता अपनाउँछु तर उहाँहरुलाई २ दिनभित्र मूललाइनमा फर्कन आग्रह गर्छु ।’ 

त्यस्तै पत्रकार सम्मेलनमा पार्टी सभापति सिंहले कांग्रेस क्षेत्र नम्बर (ख) का क्षेत्रीय उप( सभापति किरण मल्ल, क्रियाशील सदस्य ललित पन्त र टेकराज भट्टलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ