arrow

जगन्नाथ पार्टीको कारबाही भोग्न तयार, उम्मेदवारी फिर्ता लिन अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
jagannath-poudel-congress-chitwan.jpg

काठमाडौं । बागी उम्मेदवारलाई फकाउन चितवन पुगेका दुई मन्त्री काठमाडौं फर्किएका छन् । भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई फकाउन चितवन पुगेका गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ काठमाडौं फर्किएका हुन् ।

दुवैजना शुक्रबार दिउँसो बुद्ध एयरको विमानबाट काठमाडौं फर्किएका हुन् । बागी उम्मेदवारलाई फकाउन गृहमन्त्री खाँण १४ बैशाखमा चितवन गएका थिए । बिहीबार दिनभर उनलाई मनाउन अनेकन प्रयास गरेका थिए । तर पौडेलले आफू निकै अघि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता नहुने अडान कायम राखेका थिए । घरमै पुगेर फकाउने प्रयास गरेका गृहमन्त्री खाँडलाई बागी उम्मेदवार पौडेलले आफू पछि नहट्ने बताएका थिए । 

पौडेललाई फकाउन गृहमन्त्री खाँणसँगै राज्यमन्त्री श्रेष्ठ पनि घरमै पुगेका थिए । बिहीबार बिहान र राति गरेर दुईपटक छलफल गरे पनि उनी उम्मेदवारी फिर्ता लिन तयार भएनन् । त्यो बीचमा उनीहरूले विभिन्न अफरसमेत गरेका थिए ।

प्रदेशसभा सदस्य बनाउने, गृह राज्यमन्त्री बनाउने जस्ता अफरसमेत उनलाई गरेका थिए । उनलाई फकाउन चितवनका कांग्रेस नेताहरू पनि घरमै पुगेका थिए । तर आफ्नो उम्मेदवारी फिर्ता लिनु भनेको मतदाताको अपमान हुने भन्दै आफू पछि नहट्ने उनको अडान थियो । 

केही दिन अगाडि मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका थिए । उनले कांग्रेस नेताहरूलाई भेटेर बागी उम्मेदवारी फिर्ता लिन लगाएका थिए । भरतपुरबाट प्रचण्ड छोरी रेणु दाहालले मेयरमा उम्मेदवारी दिएकी छिन् । 

यदि पौडेलले उम्मेदवारी फिर्ता नलिएको खण्डमा रेणुलाई जित्न मुस्किल पर्ने देखिन्छ । जसले गर्दा प्रचण्डको दबाब पौडेलको उम्मेदवारी फिर्ता गराउन प्रयत्न गरिरहेका हुन् । 

उम्मेदवारी फिर्ता नलिने अडानमा रहेका पौडेललाई नेपाली कांग्रेसले कारबाहीको तयारी गरेको छ । शुक्रबार बेलुकासम्म उम्मेदवारी फिर्ता लिने समय निर्वाचन आयोगले दिएको छ । तर उनले पार्टीले अनुशासनका कारबाही गरे भोग्न तयार रहेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ