arrow

भक्तपुरमा चारतारे झण्डा फहराउने कांग्रेस नेताहरुको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
congress-flag-final-final.jpg
तस्बिर– फाइल

भक्तपुर । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भक्तपुरमा ठूलो परिवर्तन हुने विश्वास धेरैले गरेका छन् । पछिल्लो स्थानीय तहको निर्वाचनको परिणाम नेपाली कांग्रेसका लागि भक्तपुर नराम्रो सपना भएको थियो । पक्षको नतिजा कम मात्रामा थियो । 

दुई वर्षअघि गरिएको प्रदेश सभाको उपनिर्वाचनमा भक्तपुरमा एक सिटमामात्र नेपाली कांग्रेस विजयी भयो ।  तर अब परिस्थिति त्यस्तो नभएको दाबी स्थानीय नेताहरुको छ । यसपटक परिस्थिति धेरै फेरिएको भक्तपुर कांग्रेसका नेताहरू बताउँछन् । 

उनीहरू भन्छन्, ‘यसपटक भक्तपुरका सबै पालिकामा कांग्रेसको झण्डा फहराउने छौं ।’ भक्तपुरमा ४ वटा पालिका छन । मध्यपुर थिमीमा नेपाली कांग्रेस र माओवादीले तालमेल गरेका छन । सूर्य विनायक र चाँगुनारायणमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले तालमेल गरेका छन् । चाँगुनारायणमा भने सबै दलले आफ्नो–आफ्नो किसिमबाट उम्मेदवारी दिएका छन् । 

मध्यपुर थिमीमा मेयर, उपमेयरसहित सबै वडामा गठबन्धन दल विजयी हुनेमा मध्यपुर थिमीका कांग्रेसका नेताहरुको दाबी छ । यस पालिकाबाट वर्तमान केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ तथा पूर्व केन्द्रीय सदस्य मनमोहन भट्टराईको मतदाता सूचीमा नाम छ । 

‘यसपटक हामी एमाले भन्दा धेरै बलियो भएका छौं । त्यसमा पनि नेपाली कांग्रेस र माओवादीबीच गठबन्धन भएको छ’ मध्यपुर थिमीमा नेपाली कांग्रेसबाट मेयरमा उम्मेदवारी दिएका सुरेन्द्र श्रेष्ठले भने, ‘हामीप्रति जनतामा ठूलो उत्साह छ । त्यसैले यसपटक मध्यपुरमा नेपाली कांग्रेस विजयी हुनेमा कुनै शंका छैन ।’

पछिल्लो स्थानीय निर्वाचनमा मध्यपुर थिमीमा मेयरमा नेपाली कांग्रेस विजयी नभए पनि उपमेयर र ६ वटा वडामा नेपाली कांग्रेस विजयी भएको थियो । ‘यसबाट पनि मध्यपुर थिमीमा नेपाली कांग्रेस बलियो छ भन्ने पुष्टि हुन्छ’ श्रेष्ठले भने, ‘मध्यपुर थिमी पहिलेदेखि नेपाली कांग्रेसको गढ हो । यसपटक हामी झनै बलियो भएका छौं ।’  

मध्यपुर थिमीमा एमालेबाट मदनसुन्दर श्रेष्ठ, राप्रपाबाट भुवन श्रेष्ठ तथा नेपाल मजदुर किसान पार्टीबाट आशाहरी प्रजापतिले मेयरमा उम्मेदवारी दिएका छन् । पछिल्लो स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमीमा एमाले र नेमकिपाले चुनावी तालमेल गरेका थिए । एमालेले मेयर र नेमकिपाले उपमेयरमा उम्मेदवारी दिएको थियो ।  

यसैगरी मध्यपुर थिमी वडा १ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका बाबुकाजी डंगालले पनि  यसपटक आफू विजयी हुनेमा ढुक्क छन् । ‘मैले मतदाताहरूको भावना बुझेको छु । यसटक पनि हाम्रो पक्षमा लहर शुरु भएको छ’ डंगोलले भने, ‘म १ हजार देखि १ हजार २ सय मतको फरकले विजयी हुने छु ।’ 

पछिल्लो स्थानीय निर्वाचनमा पनि वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको थियो । नेपाली कांग्रेस भक्तपुरका महाधिवेशन प्रतिनिधि सन्तोष भट्टराईले भने, ‘हाम्रो पक्षमा माहौल शुरु भइसकेको छ । मध्यपुर थिमीका जनता एमालेको कामदेखि दिक्क भइसकेका छन् । यसपटक नेपाली कांग्रेसलाई जिताउने मध्यपुर थिमीका जनताको चाहना छ ।’ 

मध्यपुर थिमीमा नेपाली कांग्रेसलाई जिताउन कांग्रेसका सबै कार्यकर्ता एक जुट भएको उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ