arrow

गुरु भट्टराईका २१ शैक्षिक गुरुयोजना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
guru-bhattarai-syangja.jpg

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाको मेयरका उम्मेदवार गुरु भट्टराईले नगरको शैक्षिक विकासका लागि आफ्ना २१ गुरुयोजना अगाडि सारेका छन् । आफू निर्वाचित भएमा आगामी पाँच वर्षमा गर्ने कामहरुको स्थानीय संकल्पपत्र सार्वजनिक गर्दै उनले काम गरेर देखाउने मौका दिन अपील गरेका छन् । 
 
विद्यालय तहदेखि नै राजनीतिमा सक्रिय युवा नेता भट्टराई अहिले नेपाली कांग्रेस स्याङ्जाको सचिवसमेत भएका छन् । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय भएकाले उम्मेदवार भट्टराईले नगरपालिकामा शिक्षा र युवालाई अवसर दिने विषयलाई उच्च प्राथमिकतामा राखेका छन् । 

गल्याङ नगरलाई शिक्षाको केन्द्र बनाउने उनको अठोट छ । उनले कक्षा १ देखि १२ सम्मको शिक्षालाई निःशुल्क शिक्षा बनाउन पालिकाबाट अनुदान प्रदान गर्ने योजना बनाएका छन् । त्यसैगरी बालविकासदेखि आधारभूत तहसम्मका कक्षामा नैतिक शिक्षा अनिवार्य गरी सभ्य नागरिक निर्माणका लागि पहल गर्ने, एक विद्यालय एक शिक्षकहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरी सबै विद्यालयलाई समान हिसाबले अब्बल बनाउने, दलित विद्यार्थीलाई उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्ने, क्याम्पस पढ्ने दलित विद्यार्थीलाई मासिक छात्रवृत्तिको ब्यबस्था गर्ने उनले अठोट लिएका छन् । 

विद्यालयको गुणस्तर सुधारका लागि प्रधानाध्यापकलाई उत्तरदायी बनाउँदै उत्कृष्ट नतिजाको आधारमा पुरस्कार र थप अनुदान दिने, माध्यमिक शिक्षालाई थप गुणस्तरीय बनाउन बिषयगत शिक्षक तालिमको ब्यबस्था गर्ने, विधाबारिधि गर्ने नगर भित्रका नागरिकलाई १ लाख रुपैयाँसम्मको सहयोग उपलब्ध गराउने उनको योजना छ । 

मेयरका उम्मेदवार भट्टराईले विभिन्न वार्डहरुमा प्राबिधिक शिक्षा सन्चालन गर्ने, प्रत्येक विद्यालयमा कम्तीमा एक जना दक्ष कम्प्युटर शिक्षक राख्ने र त्यसका लागि प्रभाबकारी तालिमको ब्यवस्था गर्ने, शिक्षकहरुलाई आस्थाको आधारमा नभै क्षमताको आधारमा पुरस्कार र जिम्मेवारीको ब्यबस्था गरिने प्रतिवद्धता जनाएका छन् ।  

नगर भित्रका केही विद्यालयहरुलाई नमुना विद्यालय बनाइ शैक्षिक पर्यटनको केन्द्र बनाउने, गुरुकुलहरुलाई थप अनुदानको ब्यबस्था मिलाई विद्यार्थीहरुको आकर्षण बढाउने उनको योजना छ । 
उनले आफ्नो शैक्षिक संकल्पको १४ नं. बुँदामा लेखेका छन्, “निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई समेत पुस्तक र छात्रवृत्तिमा अनुदानको ब्यवस्था मिलाइने छ ।” 

त्यसैगरी स्थानीय पाठयक्रमको निर्माण गरी स्थानीय विषय वस्तुहरुको जानकारी, प्रसार प्रसार र प्रबद्र्धन गर्नुका साथै फरक क्षमता भएका बच्चालाई थप अनुदान र रेखदेखको ब्यवस्था मिलाइने मेयरका उम्मेदवार भट्टराईले बताएका छन् । 

उनले पालिकास्तरीय विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन सम्बन्धी कार्यक्रमहरु गर्ने र मेयरसँग बालबालिका कार्यक्रम मार्फत बच्चाहरुलाई सानैदेखि जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने संकल्प गरेका छन् । 

उनले शैक्षिक क्षेत्रमा नगरस्तरमा गर्न लागेका योजनाहरुको २० औँ नम्बरमा “सीटीईभीटीसँगको सहकार्यमा अल्पकालीन र दीर्घकालीन सीपमूलक तालिमको ब्यवस्थापन गरी दक्ष नागरिक उत्पादन गर्ने उल्लेख छ ।”

विद्याालय तहमा अनिवार्य प्रयोगात्मक शिक्षणका लागि शिक्षक तालिम र थप अनुदानको ब्यवस्था मिलाउने पनि प्रतिबद्धता पनि गल्याङ्को मेयरका उम्मेदवार भट्टराईले गरेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ