arrow

एर्दोगानको साउदी भ्रमण मध्यपूर्वका लागि 'गेम चेन्जर'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
saudi-turkey-erdogan-mohammed-bin-salman.jpg

काठमाडौं। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको दुई दिने साउदी अरेबियाको भ्रमणले द्विपक्षीय सम्बन्धलाई बढावा दिएको छ । तर, यसले इरानदेखि यमन युद्धसम्म सम्पूर्ण क्षेत्रको सुरक्षा अवस्था परिवर्तन गर्न सक्ने ठानिएको छ ।

साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमान (एमबीएस) सँगको पहिलो भेटपछि, साउदी राज्य समाचार एजेन्सी एसपीएले शुक्रबार दुबै पक्षले 'सबै क्षेत्रमा' सहयोग विस्तार गर्ने तरिकाहरूबारे छलफल गरेको जनाएको थियो । गत शुक्रबारदेखि एर्दाेगानले दुई दिने साउदी भ्रमण गरेका थिए ।

टर्की र साउदी अरेबिया बीचको द्विपक्षीय सम्बन्ध २०१८ मा इस्तानबुलको साउदी वाणिज्य दूतावासमा अमेरिकी साउदी आलोचक जमाल खशोग्गीको हत्यापछि शान्त थियो ।

एर्दोगानले मोहम्मद बिन सलमानलाई प्रत्यक्ष रूपमा आरोप नलगाएको भए प िनउनले भनेका थिए कि जमाल खशोग्गीको हत्यालाई 'साउदी सरकारको उच्च तहले' आदेश दिएको थियो। तर, साउदी अरेबियाले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ।

हत्यापछि टर्कीका अधिकारीहरूले हत्याको अडियो फाइल सार्वजनिक गरेपछि टर्की र साउदी अरेबियाबीचको द्विपक्षीय सम्बन्धमा अर्को धक्का लागेको थियो। अमेरिका र अन्य पश्चिमी देशहरूले पनि तेलको धनी देशबाट आफूलाई टाढा राखेका थिए ।

तर बिस्तारै, रियाद र अन्तर्राष्ट्रिय समुदाय बीचको सम्बन्ध सुधारिएको देखिन्छ । युक्रेन युद्धको परिणाम स्वरुपमा विश्लाई साउदीको तेलको आवश्यकता पहिला भन्दा बढेको छ ।

टर्की र साउदी अरेबिया

एर्दोगानको भ्रमण अघि अंकाराले सुन्नी मुस्लिम पावरहाउससँगको सम्बन्ध सुधार गर्न धेरै काम गरेको गरेको थियो । पहिलो कुरा त टर्कीलेले जमाल खशोग्गीको हत्यालाई लिएर गरेको आलोचना कम पारेको थियो ।

यसको बदलामा टर्कीबाट साउदी अरबको आयात २०२२ को पहिलो दुई महिनामा २.८ प्रतिशतले बढेको थियो । गतवर्ष, टर्कीबाट साउदीले गर्ने आयात ६२.३ प्रतिशतले घटेर ८८ करोड ६० लाख अमेरिकी डलरमा सिमित थियो  ।

दुई देशबीचको सम्बन्ध सुधारको अर्काे चरण भनेको टर्कीले अप्रिलमा खशोग्गीको मुद्दाका संदिग्ध २६ साउदी नागरिकविरुद्धको मुद्दालाई अंकाराबाट रियादमा सारेको थियो । अधिकारवादी समूहहरू र खशोग्गीकी पार्टनर ह्याटिस सेन्गिजले यसको विरोध गरेका थिए ।

'टर्कीको लागि, साउदी अरेबियासँगको सम्बन्ध लामो समयदेखि महत्त्वपूर्ण छ, र खासमा आर्थिक कारणले । टर्कीको राजनीतिक र आर्थिक अवस्था तनावपूर्ण छ। साउदी अरब एकतर्फ टर्कीको खरिदकर्ताको रूपमा महत्त्वपूर्ण बजार हो भने अर्कातर्फ एक सम्भावती लगानीकर्ता पनि हो,' जर्मनीमा आधारित कारपो थिंक ट्याङ्कका विशेषज्ञ सेबास्टियन सन्सले भनेका छन् ।

एक राजनीतिक विश्लेषक र साउदी पत्रकार हानी नक्शबन्दीले भनकी छन्, 'यो भ्रमण कुनै राष्ट्र प्रमुखबीचको सामान्य भ्रमण मात्रै होइन तर, व्यापार, पर्यटन र आर्थिक सम्बन्ध वृद्धिको एक प्रतीकात्मक इशारा हो ।' यसबाहेक उनले सबै क्षेत्रमा हुनसक्ने बढ्दो मेलमिलाप र सहकार्यको विश्वास समेत गरेकी छन् ।

टर्की, साउदी अरेबिया र यो क्षेत्र

टर्कीको कोजाली युनिभर्सिटीका टर्की र क्षेत्रीय मामिलाहरूका लागि विशेषज्ञ प्रोफेसरका रुपमा रहेका समीर साल्हाले अंकाराले संयुक्त अरब इमिरेट्स (युएई), इजरायल, कतार र इजिप्टसँग पनि राम्रो सम्बन्धका लागि जोड दिइरहेको बताएका छन् ।

यस वर्ष गत फेब्रुअरीमा एर्दाेगानको संयुक्त अरब इमिरेट्स (युएई)को यात्राले टर्कीको मुद्रा लिरालाई स्थिर गर्ने मद्दतस्वरुप ४.९ अर्ब डलर मुद्रा आदानप्रदान भएको थियो भने, टर्कीमा १ करोड अमेरिकी डलर लगानीको सम्झौता जुटेको थियो ।

त्यसपछि मार्चमा अंकाराले इजरायलका राष्ट्रपति इसाक हर्जोगलाई न्यानो स्वागत गरेको थियो भने, टर्कीले कतारसँगको सम्बन्ध पनि राम्रो बनाएको छ ।

इजिप्टसँगको सम्बन्ध पनि बलियो हुँदै गइरहेको छ भने, वास्तवमा इजिप्टसँगकै सम्बन्धले टर्की र साउदी अरबबीचको सम्बन्धमा महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। 'त्यसैले हामीसँग आर्थिक साझेदारीको सन्दर्भमा एक प्रकारको त्रिकोणीय सहयोग छ, तर इरानसँगको सुरक्षा चासोको सन्दर्भमा पनि,' कारपो थिंक ट्याङ्कका विशेषज्ञ सेबास्टियन सन्सले भनेका छन्।

टर्की, साउदी अरेबिया, यो क्षेत्र र इरान

साउदी अरेबिया इरानसँग यमनमा प्रोक्सी युद्धमा फसेको अवस्थामा, तेहरानसँग टर्कीकोलामो समयदेखिको सम्बन्धले यो युद्ध अन्त्य गर्न महत्त्वपूर्ण भुमिका खेल्न सक्ने आशा रियादले गरेको छ ।

'एकातर्फ, यमनमा हुथीहरूसँग सम्भावित समाधान खोज्न इरानसँग रणनीतिक रूपमा सम्पर्क गर्नुपर्छ। अर्कोतर्फ, इरान साझा शत्रुको रूपमा काम गरिरहने,' सन्सको भनाइ छ ।

सन्सले  भनेका छन्  'टर्की, इजरायल र इजिप्टसँग मिलेर इरानी विरोधी भावना फैलाउने मोहम्मद बिन सलमानको विदेश नीति आफू र साउदी अरेबियालाई यस क्षेत्रमा प्रमुख भूमिकामा ल्याउने रणनीतिको एक हिस्सा हो ।'

टर्की र साउदी अरेबिया दुबै सुन्नी मुस्लीम मुलुक हुन् भने, इरान शिया मुस्लीम मुलुक हो । टर्की र साउदीबीचको घनिष्ठ द्विपक्षीय सम्बन्धलाई केहीले नयाँ क्षेत्रीय सुन्नी गठबन्धनको रूपमा समेत वर्णन गर्न थालेका छन् ।

तर, यो क्षेत्रको नयाँ गठबन्धन सुन्नी इस्लाम नभएर राजनीतिक मतभेदहरू समाधान गर्नेू हुने विश्लेषक नक्शबन्दीको भनाइ छ । अंकारा र रियाद बीचको सम्बन्ध प्राकृतिक रूपमा रणनीतिक रहने र दुवै पक्ष र खास गरेर साउदीपक्षको अविश्वास उच्च रहने कारपो थिंक ट्याङ्कका विशेषज्ञ सेबास्टियन सन्सको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ