arrow

मतदाताले काम गर्ने मान्छे भनेर चिनेका छन् मैले जित्छु –लाक्पा शेर्पा गर्जा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
lakpa-sherpa-jiri-nagarpalika-congress.jpg

दोलखा । जिरी नगरपालिकाका मेयरका उम्मेदवार लाक्पा शेर्पा गर्जाले आफूले निर्वाचन जित्ने दाबी गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा जिरी वडा नम्बर १ को वडाध्यक्ष जितेका शेर्पाले यसपटकको निर्वाचनमा मेयरमा उम्मेदवारी दिएका हुन् । 

उनले आफूलाई काम गर्ने जनप्रतिनिधिका रुपमा मतदाताले चिनेकाले आफू भारी मतले विजयी हुने दाबी गरेका छन् । भन्छन्, ‘म गत स्थानीय तहको निर्वाचनको वडा १ को वडाध्यक्ष हुँ । मैले पाँच वर्षको अवधिमा वडा १ लाई नमूनाको रुपमा विकास गरेको छु । यसकै आधारमा मतदाताले मलाई जिताउँछन् ।’

उनी नेपाली कांग्रेस नै विकासको लागि सदैव अग्रसर भएर लाग्ने पार्टी भएको दाबी गर्दै यसलाई मतदाताले राम्रोसँग बुझेको बताए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयर पद नेकपा एमालेले जितेको थियो । तर यसपालि भने कांग्रेसले नै जित्ने उनको दाबी छ । 

शेर्पा भन्छन्, ‘एमालेले के काम गर्यो भनेर जनताले देखिसकेका छन् । उसले अब जित्ने छैन ।’ सत्ताधारी गठबन्धनबीच चुनावी तालमेल भएको भए पनि जिरीमा नेकपा माओवादी केन्द्रले उल्लंघन गरेको छ । मेयरमा बागी उम्मेदवार खडा गरिदिएको छ । 

यस सम्बन्धमा शेर्पा भन्छन्, ‘हामीले तालमेल गर्ने भनेर सोही अनुसार नै भागबण्डा गरेर उम्मेदवार उठ्यौं । सहमति अनुसार हामी अगाडि बढ्यौं तर माओवादीबाट बागी उठेका छन् । उनीहरुका पनि मत बाझिएका छन् । बागी फिर्ता हुन्छ भनेका छन् । तर अहिलेसम्म फिर्ता नलिइ प्रचारप्रसार गरिरहेकाले केही भन्ने अवस्था रहेन ।’

उनी तालमेल नभए पनि आफूले चुनाव भने जित्ने दाबी गर्छन् । भन्छन्, ‘मैले विज्ञहरु लिएर खानेपानी, बाटोघाटो सबै व्यवस्थित गरिरहेको छु । मसँग कुनै लोभ छैन । त्यसकै आधारमा जित्छु । मतदाताले काम गर्ने मान्छे भनेर चिनेका छन् मैले जित्छु ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ