arrow

बिरामी बोक्न निजी गाडी दिने पाण्डेय उम्मेदवार, भने- एम्बुलेन्सको व्यवस्था नहुन्जेल सरकारी गाडी चढ्दिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २० मंगलबार
ramprasad-panday.PNG

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रामप्रसाद पाण्डेयले गाउँपालिकामा नयाँ एम्बुलेन्सको व्यवस्था नहुन्जेल आफुले सरकारी गाडी प्रयोग नगर्ने घोषणा गरेका छन् ।

“मतदाताको विश्वास जित्दै आफू गाउँपालिका अध्यक्ष निर्वाचित भएर आएपछि पनि नयाँ एम्बुलेन्सको व्यवस्था जहिलेसम्म हुन्न उक्त अवधिसम्म मैले नियमानुसार पाउने गाडी सुविधा नलिने गरी निर्णय गरेको छु” उनले भने । “बिरामी तथा अशक्तलाई लाई पहिलो प्राथमिकता दिनु मानवीय धर्म हो भन्ने लाग्छ ।”

उनी छत्रकोटमा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार हुन् । हाल छत्रकोट गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स भएको र त्यो पनि पुरानो अवस्थामा रहेकोले तत्काल नयाँ एम्बुलेन्सको व्यवस्था गर्नु अहिलेको प्राथमिकता रहेको पाण्डेको भनाई छ ।

उनले यसअघि कोभिड कालमा पनि अशक्त तथा अत्यावश्यक बिरामी बोक्न आफ्नो निजी गाडी प्रयोग गर्दै आएका थिए । कोभिडकलामा ज्यानै जोखिममा राखेर सेवा गरेको भन्दै स्थानीयले उनको प्रशंसा गर्ने गरेका छन् ।

आगामी निर्वाचनमार्फत छत्रकोटमा  मतदाताले आफूलाई जिम्मेवारी दिने कुरामा कुनै द्विविधा नरहेको उनले उल्लेख गरे । समुन्नत छत्रकोट बनाउने योजना अनुमोदनका लागि मतदातासँग दैनिक साक्षात्कार भइरहेको पाण्डेको भनाई छ ।

सेवा प्रवाह सरल बनाउने जनजीविकाका एजेण्डादेखि पूर्वाधार विकाससम्मका योजनासहित पाण्डे चुनावी मैदानमा छन् । उच्च सामाजिक तथा राजनैतिक छविका कारण पाण्डे र उनको पार्टी उच्च मनोबलका साथ चुनावी दौडाहामा लागेको छ ।

छत्रकोट एमालेको प्रभाव क्षेत्र हो जहाँबाट अघिल्लो स्थानीय चुनावमा पनि एमाले विजयी भएको थियो । नेकपा एमाले छत्रकोट गाउँ कमिटीका अनुसार चुनावी घरदैलो,भेटघाट मतदाता प्रशिक्षण लगायतका प्रचारात्मक कार्यक्रम तीव्र रूपमा भइरहेका छन् । त्यहाँ उपाध्यक्षमा सावित्रा ज्ञवाली उम्मेदवार छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ