arrow

धौलागिरि क्षेत्रकै एक मात्र दलित महिला उम्मेदवार दुधे बच्चा बोकेर चुनावी मैदानमा 

logo
सन्तोष गौतम,
प्रकाशित २०७९ वैशाख २० मंगलबार
local-level-election-everytime1.jpg

म्याग्दी । यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि म्याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार छन् । नेकपा (माओवादी केन्द्र) ले मीना विश्वकर्मालाई रघुगङ्गा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएको हो । रघुगङ्गा–६ की २८ वर्षीय मीना दुधे बच्चा बोकेर चुनावी मैदानमा होमिएकी छन् । 

नेकपा (माओवादी केन्द्र) को रघुगङ्गा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले स्थानीय तहको प्रमुख पदमा उम्मेदवार बन्ने विश्वकर्मा धौलागिरि क्षेत्रकै एक मात्र दलित महिला भएको जानकारी दिए । “म के गाउँपालिकाको अध्यक्ष बन्न सक्दिन र ?’,’ मीनाले हरेकजसो सभा र भेलामा भन्छिन्, “यो हाम्रो समुदायको लागि अवसरसँगै चुनौति पनि हो । हामी कति दिन अरुको भोट बैंक बन्ने । नेतृत्व गर्ने अवसर पाए गरेर पनि देखाउँछु ।”

गाउँपालिका अध्यक्ष जितेमा आफ्नो समुदायको उत्थानको साथै अन्य समुदायका गरिब विपन्नको समस्याप्रति ध्यान दिने उनको भनाइ छ । मीनाको आत्मविश्वास र साहसबाट प्रभावित भएको माओवादीका गण्डकी प्रदेश सदस्य रहनुभएका प्रदेशसभा सदस्य विनोद केसीले बताए । 

मीनाले दलित समुदायले भोग्दै आएको विभेद र उत्पीडनको समस्याको बारेमा भावुक शैलीमा अभिव्यक्ति दिँदा भाषण सुन्न आएकाका आँखा रसाउने गर्छन् । उत्पीडनको आवाज बोकेर चुनावी मैदानमा उत्रनुभएकी उनको प्रतिस्पर्धीको रुपमा एमालेका प्रेमबहादुर कार्की र नेपाली कांग्रेसका भवबहादुर भण्डारी छन् । 

गाउँपालिका उपाध्यक्षमा एमालेले यामकुमारी गर्बुजा, कांग्रेसले प्रेमकुमारी पुन र माओवादीले रिमबहादुर कटुवाललाई उम्मेदवार बनाएको छ । रघुगङ्गामा निर्वाचित हुने ४२ पदका लागि १३५ चुनावी मैदानमा रहेका सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले बताए । बेनी नगरपालिका–१० पात्लेखेत माइती भएको मीनाको कक्षा १० पढ्दै गर्दा १७ वर्षको उमेरमा मागी विवाह भएको थियो । 

अनेरास्ववियु क्रान्तिकारी र वाइसिएलमा आबद्ध भएकी उन विवाहपछि राजनीतिमा निष्क्रिय भएकी थिइन् । गाउँमै खेतीकिसानी गरेर जीविकोपार्जन गर्दै आएकी मीना पछिल्लो समय पार्टीसँग सम्बद्ध भएर उम्मेदवार बनेकी हुन् । उनका जेठा छोरा १० वर्षका छन् । दुई वर्षका छोरा बोकेर भोट माग्न घरदैलो अभियानमा उनी व्यस्त छिन् । मिनाका श्रीमान् पनि सँगै चुनाव प्रचारमा छन् ।

प्रमुख पदमा मीनासहित म्याग्दीमा तीन महिला उम्मेदवार छन् । धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेकी थमसरा पुन र बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मिनाकुमारी शर्मा उम्मेदवार बनेका छन् । माओवादी केन्द्रले मङ्गला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छ । दलित समुदायबाट प्रमुख पदमा टेकबहादुर र मीना दुई मात्र उम्मेदवार छन् । 

वडाध्यक्ष पदमा दुई मात्र महिला उम्मेदवार छन् । सो गाउँपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेले लक्ष्मी बुढाथोकी र माओवादी केन्द्रले मनमाया चोचाङ्गीलाई उम्मेदवार बनाएका छन् । ६ वटा स्थानीय तह, ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । 

धवलागिरि गाउँपालिकाको वडा नम्बर १ गुर्जामा अध्यक्षसहित तीन सदस्यमा माओवादी केन्द्र र एक सदस्यमा स्वतन्त्र उम्मेदवार निर्विरोध भएका छन् । एमाले सबै स्थानीय तहमा एकल प्रतिस्पर्धामा उत्रिएको छ । कांग्रेस र नेकपा माओवादी केन्द्रले बेनी नगरपालिका, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा तालमेल गरेका छन् । चार गाउँपालिकाका अध्यक्ष र १७ वडाध्यक्ष एकै पदमा दोहोरिएर उम्मेदवार बनेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ