arrow

संचार उद्यमी अरुण सिंघानिया हत्या प्रकरण : हातहतियार जुटाउने रामविनोदले आत्मसमर्पण गरे

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
rambinod-yadab-new.jpg.jpeg
जनकपुर । संचार उद्यमी अरुण सिंघानियाको हत्यामा संलग्न सद्भावना पार्टीका पूर्व केन्द्रीय सदस्य रामविनोद यादवले अदालत समक्ष आत्मसमर्पण गरेका छन् ।
 
लामो समय फरार रहेका यादवलाई मंगलबार जिल्ला अदालतमा उपस्थित गराइएकामा उनले आत्मसमर्पण गरेका हुन् । 
 
संचार उद्यमी सिंघानियाको हत्याको मुख्य योजनाकार भने धनुषा क्षेत्र नं.४ का  निलम्बित सांसद संजय साह हुन् । रामविनोद संजयका साथी हुन् । 
 
जनकपुर डुडे तथा रेडियो टुडेका सञ्चालक सिंघानियाको २०६६ साल फागुन १७ गते होली पर्वको दिन जनकपुरको शिवचोकमा गोली हानी हत्या भएको थियो ।
 
हत्यामा संलग्न रहेर फरार रहेका एवं तराईमा सशस्त्र गतिविधि गर्दै आएका जनतान्त्रिक टाइगर जनशक्ति पार्टीका अध्यक्ष धर्ती सिंह भनिने चन्द्रदीप यादव गएको चैत १७ गते पक्राउ परेका थिए । उनी पक्राउ परेपछि हत्याकाण्डको  अनुसन्धान तीब्र बनेको थियो । 
जनकपुर टुडे पत्रिकामा आफूलाई बद्नाम गराउने समाचार प्रकाशन गरेको भन्दै संजय साहले पत्रिकाका प्रकाशक सञ्चार उद्यमी सिंघानियाको हत्या गराएका थिए ।
 
साहले सिंघानियाको हत्या गर्न गोली हान्ने मान्छे मिलाउनका लागि चन्द्रदीप यादवलाई  र रुपैयाँ तथा हतियार व्यवस्थापन गर्न रामविनोद यादवलाई जिम्मा दिएको अनुसन्धानबाट खुलेको थियो । 
 
७ वर्ष अघि गोली हानी हत्या गरिएका सञ्चार उद्यमी सिंघानिया हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चन्द्रदीप यादव, एकलाल भन्ने योगेन्द्र सहनी र अन्ती राईनलाई यसअघि नै पक्राउ गरेको थियो । रामविनोद यादव फरार थिए । 
 
संजय साह जनकपुर बम काण्डका मुख्य योजनाकार पनि मानिन्छन् । २०६२ वैशाख १८ गते मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै जनकपुरधाममा शान्तिपूर्ण धर्ना दिइरहेकै समयमा बम विष्फोट हुँदा ५ जनाको मृत्यु भएको थियो, भने कयौं घाइते भएका थिए । उनी सद्भावनाका उपाध्यक्ष थिए । पछि उनी उपाध्यक्षबाट हटाइए । लामो समय फरार रहेका उनलाई प्रहरीले भारतबाट पक्राउ गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ