arrow

थप दुई बागी उम्मेदवारलाई पार्टीबाट निष्कासन गर्‍यो कांग्रेसले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २० मंगलबार
nepali-congress-flag.jpg

खोटाङ । नेपाली कांग्रेस खोटाङले आधिकारिक उम्मेदवारबिरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएका थप दुई उम्मेदवारलाई पार्टीबाट निष्कासन गरेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा कांग्रेसकातर्फबाट उठाइएका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका क्षेत्रीय प्रतिनिधि राजेन्द्र राई र खोटेहाङ गाउँपालिका–८ सिमपानीको वडाध्यक्षको पदमा आधिकारिक उम्मेदवारबिरुद्ध बागी उम्मेदवारी दिएका क्षेत्रीय प्रतिनिधि चन्द्रबहादुर थापालाई कारबाही गरेको हो । 

दुवै स्वतन्त्र उम्मेदवारलाई कांग्रेसको विधान २०१७ (संसोधन सहित) को दफा ३४ को उपदफा ४ (क) बमोजिम ५ वर्षका लागि पार्टीको साधारण सदस्यता नरहने गरी निष्कासन गरिएको नेपाली कांग्रेस खोटाङका अनुशासन समितिका संयोजक एबं जिल्ला सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिएका छन् । कांग्रेसले स्वतन्त्र उम्मेदवार राई र थापाका प्रस्तावक र समर्थकलाई सोही बराबरको कारबाही गरेको छ । कारबाहीमा परेका राई पुर्वगाबिस अध्यक्ष र थापा निवर्तमान वडाध्यक्ष हुन् । 

यसअघि १७ वैशाखमा कांग्रेसले ऐसेलुखर्क गाउँपालिका अध्यक्षको आधिकारिक उम्मेदवारबिरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सन्तबीर तामाङलाई पनि कारबाही गरेको थियो । पाँच वर्षका लागि पार्टीबाट निष्कासनमा परेका तामाङ कांग्रेसका पालिका सभापति हुन् । ऐसेलुखर्कमा कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका श्रीबहादुर राई उठेका छन् । कांग्रेसबाट उपाध्यक्षमा राजेश राजभण्डारी उम्मेदवार छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ऐसेलुखर्क गाउँपालिमामा कांग्रेसका बिश्वनाथ निरौला बिजयी भएका थिए ।  यसअघि जितेका दललाई सम्वन्धित पालिकाको प्रमुख दिने केन्द्रीय सहमती विपरित जिल्लामा अन्य दललाई गाउँपालिकाको नेतृत्व दिने निर्णय गरेको बिरोधमा तामाङले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 



नयाँ