arrow

एमालेको क्षेत्रमा पनि सत्ता गठबन्धनबीच मैत्रीपूर्ण प्रतिस्पर्धाको नाटक, कीर्तिपुरमा कसको पकड ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
congress-uml-maobadi-as-jasapa.jpg

काठमाडौं । काठमाडौस्थित कीर्तिपुर नगरपालिकामा सत्ता गठबन्धनको नेपाली कांग्रेस  र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय तह निर्वाचनको दिन नजिकिँदै जाँदा कीर्तिपुर नगरपालिकामा चुनावी सरगर्मी बढ्ने क्रममा गठबन्धन दल कांग्रेस र एमालेबीच प्रतिस्पर्धा देखिएको हो ।  

यतिबेला उम्मेदवारहरूले चुनाव प्रचार तीव्र पार्दै लगेका छन् । पाँच दल सम्मिलित सत्ता गठबन्धनबाट यहाँ चुनावी तालमेल हुन सकेको थिएन । कीर्तिपुर नगरपालिकाको प्रमुख र वडाध्यक्षसहित अन्य पदमा सत्ता गठबन्धन अन्तर्गत नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले आपसी प्रतिस्पर्धा गर्ने भएका छन् । 

जनता समाजवादी पार्टी (जसपा) ले भने प्रमुखमा कांग्रेसलाई साथ दिने भएको छ । राष्ट्रिय जनमोर्चाको भने यहाँ कुनै उपस्थिति देखिँदैन । एमालेले राप्रपा नेपालसँग तालमेल गरेको छ । 

स्थानीय तहको निर्वाचन २०७४ लाई हेर्ने हो भने एमालेले एकलौटी रूपमा जीत हात पारेको थियो । तर अहिलेको अवस्थामा मत परिणाम फरक आउने सम्भावना देखिएको छ । 

यसपल्ट एमाले विभाजन भएकाले त्यसको लाभ कांग्रेसले लिने संभावना बढेको हो । प्रमुख, उपप्रमुख र छ वटा वडामा एकछत्र रूपमा जित हासिल गरेको एमालेले यसपटक पनि आफूले त्यसैगरी विजयी हुने दाबी गरेको छ । छुट्टाछुट्टै रूपमा दलहरूबाट प्रतिस्पर्धा हुने भएपछि नगर प्रमुखको उम्मेदवारीमा मात्र १४ पार्टीले उम्मेदवारी दिएका छन् । 

एमालेबाट केशरत्न बज्राचार्य, कांग्रेसबाट राजकुमार नकर्मी, माओवादी केन्द्रबाट शिवशरण महर्जन, एकीकृत समाजवादीबाट वटुकृष्ण थापा, राप्रपाबाट जितबहादुर विष्ट रहेका छन् । 

नेपाली कांग्रेस (वीपी) बाट प्रविद खनाल, आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट श्यामकाजी महर्जन, नेपाल मजदुर किसान पार्टीबाट श्रीकृष्ण महर्जन र स्वतन्त्रबाट भीमकुमार महर्जन, मनोज बुढाथोकी, श्याम महर्जन र सन्देश महर्जन गरी चार जनाले उम्मेदवारी दिएका छन् । 

कीर्तिपुर नगरपालिकामा ठूला दलहरुबीच कुरा नमिलेपछि आपसी सहमतिमै मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने भन्दै उम्मेदवारी दिएका हुन् । स्थानीय तहको निर्वाचन २०७४ मा एमालेले १, २, ३, ६, ७, ९ गरी ६ वटा वडामा वडाध्यक्ष र सबै सदस्य जितेको थियो । 

वडा नं ४ मा वडाध्यक्ष, एक सदस्यसहित महिला सदस्य र दलित महिला सदस्य कांग्रेसले जितेको थियो । दुई सदस्य एमालेले जितेको थियो । वडा नं ८ मा वडाध्यक्ष कांग्रेसले जितेको थियो भने एक सदस्य माओवादी केन्द्रले र अर्को एक सदस्य कांग्रेसले जितेको थियो । 

त्यस वडामा महिला सदस्य कांग्रेसले र दलित महिला सदस्य एमालेले जितेको थियो । वडा १० मा वडाध्यक्ष एमालेले जितेको थियो भने सदस्य माओवादी केन्द्र र एक सदस्य एमालेले जितेको थियो । 

महिला सदस्य र दलित महिला सदस्य भने यस वडामा माओवादी केन्द्रले जितेको थियो ।   स्थानीय तहको निर्वाचन २०७४ मा कीर्तिपुर नगरपालिकामा २८ हजार १ सय १ मतदाता रहेका थिए भने ३० हजार ३ सय २८ मतदाता अहिले छन् । 

अघिल्लो निर्वाचनदेखि यो निर्वाचनसम्म २२ सय २७ मतदाता बढेका छन् । यहाँ जित हासिल गर्न १० देखि १२ हजार मत ल्याउनु पर्ने देखिन्छ । 

विगतमा एमालेसँग कांग्रेस पराजित भएको थियो । तर अहिले धेरै थोर जति भए पनि कांग्रेसलाई सहज हुने अवस्था देखिएको छ । एमालेबाट विभाजन भएको एस पार्टीले एमालेकै मत कटाउने भएकाले कांग्रेसलाई सहज हुने देखिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ