arrow

मेरो कार्यकालमा सम्पूर्ण ध्यान देउमाईलाई ‘स्मार्ट सिटी’ बनाउन हुनेछ – होम दुलाल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
hom-dulal-congress-ilam.jpg
तस्बिर– फाइल

इलाम । बौद्धिक नेताको सूचीमा पर्ने देउमाई नगरपालिकाको मेयरका उम्मेदवार होम दुलालले आफूले चुनाव जिते संघीय र प्रदेश सरकारसँग मिलेर पालिकाको विकास गर्ने बताएका छन् । 

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका उनले विकासका लागि तीन वटै सरकारको सहकार्य अतिआवश्यक भएको स्पष्ट पार्दै संघीय र प्रदेश सरकारसँग मिलेरै देउमाईको विकास हुने बताएका हुन् । 

उनी यसपालि आफू नै मेयर हुने पूर्ण विश्वासका साथ प्रत्यक्षरुपमा मतदातासँग भेट्ने र प्रतिवद्धता जनाउने काम भएको बताउँछन् । 

दुलालले मतदाताको घरदैलोमा पुगेर उनीहरुका कुरा सुन्ने काम भएको बताए । भन्छन्, ‘घरदैलोमा पुग्ने काम भइरहेको छ । सकेसम्म मतदातासँग पुग्ने काम भइरहेको छ । समस्याहरु टिप्ने काम भएको छ ।’

उनी २०७४ को स्थानीय तहको निर्वाचनमा मेयरमै झिनो मतले पराजित भएका थिए । यसपालि भने कांग्रेसको बलियो संगठन, गठबन्धनको मत र यसअघि एमालेको तर्फबाट जितेका मेयर सूर्य पोखरेलले काम नगरेको गुनासो आउँदासमेत फेरि पोखरेल नै एमालेको उम्मेदवार बनेकाले त्यसको फाइदा दुलाललाई हुने विश्वास गरिएको छ । 

दुलाल भन्छन्, ‘पहिले झिनो मतले पराजित भएको थिएँ । अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी र क्षेत्रीय पार्टीहरुको समर्थन रहेको छ । ती मतले पनि सघाउ पुग्छ । यसपटक जितिन्छ भन्ने विश्वास छ । प्रतिस्पर्धी उम्मेदवारले अघिल्लो पटक पनि अवसर पाएको तर खासै काम नगरेको भएकाले त्यसको प्रभाव पनि पर्ने विश्वास लिएको छु ।’

कस्ता छन् त उनका एजेन्डा ? उनी भन्छन्, ‘खासगरी पूर्वाधार विकास, कृषि क्षेत्रलाई समृद्धिको आधार बनाएर कृषिलाई प्राथमिकतामा राखेको छु । पर्यटनको प्रवद्र्धन गरी युवालाई रोजगारीको कार्यक्रममा विशेष जोड दिएको छु । शिक्षा रोजगारमूलक बनाउने कुरालाई जोड दिएको छु । अनि स्वास्थ्य सेवालाई सर्वसुलभ र सबैको पहुँचमा पुर्याउने तथा सामाजिक सुरक्षाको दायरालाई बढाउने जस्ता कुरालाई अगाडि सारेको छु ।’ 

उनले देउमाईलाई स्मार्ट नगरका रुपमा पनि विकास गर्न चाहेको बताएका छन् । उनी आफूले जिते देउमाईवासीले धित्कार्नुपर्ने दिन नआउनेसमेत दाबी गरेका छन् । उनले भने, ‘मेरो कार्यकालमा सम्पूर्ण ध्यान देउमाईलाई स्मार्ट सिटी बनाउन हुनेछ ।’

को हुन् होम दुलाल ? 
उनी बौद्धिकमात्र नभइ एक असल राजनीतिज्ञ हुन् । २०३६ सालदेखि नेविसंघका तर्फबाट पाँचथर जिल्लाका दर्जन बढी सभामा बहुदल पक्षीय वक्ता रहँदा उनले धेरैलाई जनचेतना जगाए । 

निरन्तर शिक्षासँगै राजनीतिमा होमिएका होम पद भन्दा जिम्मेवारीमा रमाउँदै गर्दा २०४६–४७ सालमा नेविसंघ इलाम जिल्ला सभापति बने । नेपालमा बहुदल ल्याउन दिनरात होमिने क्रममा जेलसमेत परेका उनी २०४७ सालमा नेपाल ट्रेड युनियन कांग्रेसको जिल्ला अध्यक्षसमेत भए । 

२०४८ सालमा नेपाली कांग्रेसको क्षेत्रीय सभापति भए । २०६० सालमा पार्टी जिल्ला सचिवमा निर्वाचित भए । स्पष्ट वक्ता भएकै कारण पटक पटक प्रशासनको गिरफ्तारी खेप्न पुगेका उनी विभिन्न चरणमा कांग्रेसको महाधिवेशन प्रतिनिधि  र महासमिति सदस्य भए । 

उनलाई पञ्चायतकालमा तीन वटा मुद्दासमेत लागे । सात महिना जेल सजाय भोगे । अध्ययनमा प्रखर उनी राजनीतिमा लाभ र लोभ दुवै नभएका कारणले नै आर्थिक उन्नति गर्न सकेनन् । 

उनका सहयात्रीहरु पैतृक सम्पत्तिसमेत राजनीति गरेकै कारण सकाएको बताउँछन् । निष्ठा र आदर्शको राजनीति गर्ने भएकैले चाकरी र चाप्लुसी गर्न नजानेका कारण उनी उच्च ओहदामा पुग्न नसकेकोसमेत उनी निकटकाहरु बताउँछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ