काठमाडौं। आज तपाई फुटबल भन्नुस्, दुनियाँले ब्राजिललाई सम्झिँन्छ। फुटबलले नै ब्राजिललाई विश्वमाँझ चिनायो। त्यसकारण खेलकुद कुनै पनि मुलुकलाई अरूमाझ चिनाउँने एउटा दरिलो माध्यम हो। यसर्थ खेलकुद मुलुकको पहिचान हो।
यतिखेर ब्राजिलको रियो दि जेनेरियोमा ओलम्पिक खेलकुदको महाकुम्भ चलिरहेको छ। ओलम्पिकले आफ्नो ३० वटा संस्करण पार गरिसकेको छ भने रियोमा जारी ओलम्पिक खेलकुद यसको ३१ औं संस्करण हो। धेरै खेललाई समावेश गरिने र विश्वका अधिकांश मुलुकहरूको सहभागिता रहने भएका कारण पनि ओलम्पिकलाई बहुप्रतिक्षित खेलकुदको रूपमा चिनिन्छ।
बहुप्रतिक्षित खेलकुद ओलम्पिकलाई विश्वले नै चासोको साथ हेर्ने गर्दछन्। कुन राष्ट्रले कति स्वर्ण जिते, कसले के कीर्तिमान रचे, अधिकांशले चासो राख्ने विषय हुन्। सबै राष्ट्रहरू सकेसम्म धेरै पदक बटुल्ने दाउमा हुन्छन्। र यो यसकारण पनि महत्वपूर्ण छ कि, जो धेरै पदक बटुल्न सफल हुन्छ, ऊ दुनियाँमा कहलिन्छ।
अमेरिकालाई हेर्नुस्, ऊ ओलम्पिकमा प्राय अगाडि। पदक संङ्ख्या उसैको बढी। त्यसैले ओलोम्पिकको हरेक संस्करणमा अधिकांशको नजर अमेरिकातिर जान्छ। जारी रियो ओलम्पिकमा पनि अमेरिका पदक तालिकामा पहिलो स्थानमै छ। ओलम्पिकमा युरोपेली राष्ट्रहरूको पनि स्थिति राम्रै छ। पूर्वी एसियाबाट चीन, जापान र दक्षिण कोरियाको पनि स्थिति सन्तोषजनक नै छ।
सबैको पालो पछि अब कुरो गरौं दक्षिण एसियाको। ओलम्पिकमा दक्षिण एसियाली राष्ट्रहरूको सहभागिता रहँदै आएपनि अपेक्षित प्रतिफल भने देखिँदैन। प्रदर्शनको हिसाबले ओलम्पिकमा दक्षिण एसियाली राष्ट्रहरू छायाँमा परेको देखिन्छ।
ब्राजिलमा जारी रियो ओलम्पिकमा पनि दक्षिण एसियाको कुनै पनि राष्ट्रले पदक तालिकामा खाता खोल्न सकेको छैन। खेलकुदमा दक्षिण एसियाको बलियो मानिने भारतले पनि कुनै पदक जित्न सकेको छैन।
दक्षिण एसियाली राष्ट्रहरूको ओलम्पिक प्रदर्शन
नेपाल: नेपालले आफ्नो ओलम्पिक यात्राको आरम्भ १९६४ को टोकियो ओलम्पिकबाट गरेको पाइन्छ। दक्षिण एसियाली राष्ट्रमा नेपालको पनि ओलम्पिकमा राम्रो प्रदर्शन छैन। यद्दपी नेपालको खातामा ओलम्पिकको १ काँस्य पदक भने छ।
१९८८ को सिओल ओलम्पिकमा नेपलाका लागि बिधान लामाले तेक्वान्दोतर्फ काँस्य पदक दिलाएका हुन्।उक्त ओलम्पिकमा तेक्वान्दोलाई प्रदर्शनी खेलका रुपमा समावेश गरिएको थियो। यो नै नेपालका लागि ऐतिहासिक ओलम्पिक पदक हो।
त्यसयता नेपालले हालसम्म ओलम्पिकमा कुनै पदक हात पारेको छैन। जारी रियो ओलम्पिकमा पनि नेपालले कुनै पदक हात पार्न सकेन। मात्र नेपालका लागि पौडी खेलाडी गौरीका सिंह जारि रियो ओलम्पिकको सबभन्दा कम उमेरको खेलाडीको कीर्तिमान रच्न सफल भइन्।
भारत: दक्षिण एसियामा भारतलाई खेलकुदको पावर हाउस मानिन्छ। ओलम्पिकमा भारतले आफ्नो पहिलो सहभागिता १९२० को एन्टर्वप ओलम्पिकमा जनाएको हो। भारतले हालसम्म ओलम्पिकमा २४ पदक हात पारेको छ। जसमध्य स्वर्ण पदक ९ वटा छन्।
भारतले ९ मध्य ८ स्वर्ण हक्कीमा र एक स्वर्ण सुटिङमा जितेको हो। भारतले हक्कीतर्फको खेलमा स्वर्णमा ह्याट्रिक गरेको थियो। भारतले हक्कीतर्फ लगातार १९२८, १९३२ र १९३६ को ओलम्पिक संस्करणमा स्वर्ण पदक हात पारेको थियो।
यस्तै भारतले हक्की खेलमै १९४८ को लन्डन ओलम्पिक, १९५२ को हेलसिन्की ओलम्पिक, १९५६ को मेलबोर्न ओलम्पिक, १९६४ को टोकियो ओलम्पिक र १९८० को मस्को ओलम्पिकमा स्वर्ण हात पारेको हो। पछिल्लो समय भारतले बेजिङ ओलम्पिक २००८ मा सुटिङतर्फ स्वर्ण हात पारेको थियो। ओलम्पिकमा भारतको खातामा ४ रजत ११ काँस्य पनि छ।
ओलम्पिकमा दक्षिण एसियाबाट अन्य राष्ट्रको तुलनामा भारतको प्रदर्शन केही सन्तोषजनक देखिन्छ। यद्दपी यो पर्याप्त भने होइन।
पाकिस्तान: पाकिस्तानले आफ्नो ओलम्पिक यात्रा १९४८ को लन्डन ओलम्पिकबाट गरेको पाइन्छ। पाकिस्तानले हालसम्म ओलम्पिकमा १० पदक जितेको छ। जसमा स्वर्ण र रजत ३ र काँस्य ४ वटा छन्। पाकिस्तानले ३ वटै स्वर्ण हक्कीतर्फ पाएको हो।
पाकिस्तानले १९६० को रोम ओलम्पिक, १९६८ को मेक्सिको सिटी ओलम्पिक र १९८४ को लस ऐन्जल ओलम्पिकमा हक्कीतर्फ स्वर्ण जितेको हो। पाकिस्तान भारतपछि दक्षिण एसियाकै ओलम्पिकमा बढी पदक जित्ने राष्ट्र हो।
अफगानिस्तान: अफगानिस्तानले ओलम्पिकमा आफ्नो पहिलो उपस्तिथि १९३६ को बर्लिन ओलम्पिकमा जनाएको हो। हालसम्म अफगानिस्तानको खातामा ओलम्पिकको २ वटा काँस्य पदक छ।
अफगानिस्तानले तेक्वान्दोमा २००८ को बेजिङ ओलम्पिक र २०१२ को लन्डन ओलम्पिकमा काँस्य जितेको हो। जारी रियो ओलम्पिकमा अफगानिस्तानले पनि हालसम्म कुनै पदक हात पारेको छैन।
बङ्गलादेश: बङ्गलादेशले ओलम्पिकमा आफ्नो पहिलो सहभागिता १९८४ को लस एन्जल ओलम्पिकमा जनाएको हो। बङ्गलादेशले जारी रियो ओलम्पिकसहित गरेर ९ वटा ओलम्पिक संस्करणहरूमा आफ्नो सहभागिता जनाएको छ।
यद्दपी बङ्गलादेशले हालसम्म ओलम्पिकमा पदक भने जित्न सकेको छैन।जारी रियो ओलम्पिकमा पनि बङ्गलादेशको खातामा कुनै पदक छैन।
श्रीलंका: श्रीलंकाले आफ्नो ओलम्पिक यात्राको सुरूवात १९४८ को लन्डन ओलम्पिकबाट गरेको हो। श्रीलंकाको खातामा भने ओलम्पिकको २ रजत पदक रहेको छ।
एथलेटिक्स् अन्तर्गतको दुवै रजत श्रीलंकाले १९४८ को लोन्डन ओलम्पिक र २००० को सिड्नी ओलम्पिकमा जितेको हो। जारी रियो ओलम्पिकमा श्रीलंकाले पनि कुनै पदक हात पारेको छैन।
माल्दिभस: माल्दिभसले ओलम्पिकमा आफ्नो पहिलो सहभागिता १९८८ को सिओल ओलम्पिकमा जनाएको हो। हालसम्म माल्दिभसले ओलम्पिकमा कुनै पदक हात पार्न सकेको छैन। ब्राजिलमा जारी रियो ओलम्पिकमा पनि माल्दिभसले कुनै पदक हात पारेको छैन।
भुटान: १९८४ को लस एन्जल ओलम्पिकमा सहभागिता जनाउँदै भुटानले आफ्नो ओलम्पिक यात्रा आरम्भ गरेको हो। २००८ को बेजिङ ओलम्पिकसम्म भुटानले एउटा मात्र खेल आर्चरीमा सहभागिता जनाउँदै आएकोमा २०१२ को लन्डन ओलम्पिकमा भने भुटानले एयर राइफलमा पनि सहभागिता जनाएको थियो। आर्चरी भुटानको राष्ट्रिय खेल पनि हो।
हालसम्म भुटानको खातामा ओलम्पिकको कुनै पदक छैन भने जारी रियो ओलम्पिकमा पनि भुटानले कुनै पदक हात पारेको छैन।