arrow

मध्यपुर थिमीका मेयरका उम्मेदवार सुरेन्द्र भन्छन् –कांग्रेस धेरै नै अगाडि छ  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
surendra-shrestha-congress-bhaktapur.jpg

सुरेन्द्र श्रेष्ठ मध्यपुर थिमी नगरपालिकाका मेयरका उम्मेदवार हुन् । नेपाली कांग्रेसको तर्फबाट उनले उम्मेदवारी दिएका हुन् । यस क्षेत्रमा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका छन् । जस अनुसार मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी केन्द्रले उम्मेदवारी दिएका हुन् । 

श्रेष्ठ नेपाली कांग्रेस भक्तपुरको नगर सभापति पनि हुन् । उनी २०४६ सालदेखि नेपाली कांग्रेसमा सक्रिय छन् । मध्यपुर थिमीमा उनको प्रतिस्पर्धा उनकै परिवारका सदस्यसँग भएको छ ।  

उनका आफ्नै ज्वाइँ मदनसुन्दर श्रेष्ठले नेकपा एमालेबाट मेयरमा उम्मेदवारी दिएका छन् । उनी भन्छन, ‘यो विचारको लडाइँ हो । परिवारको विषय यहाँ जोडिन्न ।’ यसपटक मध्यपुर थिमीमा नेपाली कांग्रेस र गठबन्धन दल विजयी हुनेमा उनी ढुक्क छन् । प्रस्तुत छ, उनीसँग हाम्राकुराले गरेको कुराकानी– 

० मध्यपुर थिमीमा तपाईले जित्नहुन्छ भन्ने आधार के के छन् ?
मध्यपुर थिमीमा यस पटक नेपाली कांग्रेसलगायत गठबन्धनको पक्षमा परिणाम आउँछ  । यसमा धेरै आधारहरु छन् । मध्यपुर थिमी पहिलेदेखि नै नेपाली कांग्रेसको गढ हो । पछिल्लो निर्वाचनमा यो क्षेत्रमा हामीले दुई तिहाइ जितेका थियौं तर पनि नेतृत्व गुमाएका थियौं । त्यो बेला एमालेका उम्मेदवारले हामी बाहेक बाँकी रहेका सम्पूर्ण दलसँग गठबन्धन गरेका थिए । त्यो बेला चुनावमा भाग लिएका ८ दलमध्ये ७ दलसँग एमालेको गठबन्धन थियो । यति हुँदा हुँदै पनि हामीले ७४ प्रतिशत भोट ल्याएका थियौं । यो पाँच वर्षको अवधिमा मध्यपुर थिमीमा नेतृत्वले गरेको कामदेखि यहाँका जनता निराश छन् । उनीहरुले सुशासनको कुरा गरे । तर व्यवहारमा उल्टो गरे । कार्यपालिकामा दुई तिहाईभन्दा बढी हाम्रो उपस्थिति भएकाले विकास निर्माणका कामलाई अगाडि बढायौं । कार्यपालिकामा १९ जनामध्ये १५ सिटमा नेपाली कांग्रेसको उपस्थिति थियो । 
मठमन्दिर बनायौं । तर पनि शिक्षा, स्वास्थ्य, फोहरमैला व्यवस्थापन जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा नेतृत्वले भूमिका खेल्न सकेन । त्यसैले यहाँका जनता असन्तुष्ट छन् । यसपटक नेतृत्व परिवर्तन होस् भन्ने यहाँको जनताको चाहना छ । त्यसैले मध्यपुर थिमीमा नेपाली कांग्रेससहितको गठबन्धन विजयी हुने निश्चित छ । 

० गठबन्धनमा रहेका दलदहरुबीच एकता र सहकार्य कायमै छ ?
नेपाली कांग्रेसका सभापतिज्यूले कुनै पनि अवस्थामा गठबन्धन नतोड्न र  गठबन्धन दलसँग सहकार्य गरेर अघि बढ्न निर्देशन दिनु भएको छ । हामीले गठबन्धन दलसँग सहकार्य गरेर अघि बढेका छौं । शुरुमा हाम्रा केही महिला दिदीबहिनीले केही कुरा उठाउनु भएको थियो । तर अहिले उहाँहरुले पनि बुझ्नु भएको छ । लोकतन्त्रको रक्षाको लागि गठबन्धन भएको हो भन्ने उहाँहरुले बुझ्नु भएको छ । अहिले मध्यपुर थिमीमा गठबन्धनको विरोधमा काँही पनि कुरा आएको छैन । हामी एक छौं । 

० कांग्रेसभित्र त असन्तुष्टि छैन नि ? 
हामी एक भएका छौं । मध्यपुर थिमीका सबै कांग्रेसका नेताहरु घरदैलो अभियानमा हुनुहुन्छ । यो अभियानमा उहाँहरु सक्रिय हुनुहुन्छ । कांंग्रेस एक छ । सबै नेताहरु पार्टीको कार्यक्रममा इमान्दारीपूर्वक र सक्रियताको साथ लाग्नु भएको छ । तपाईले घरदैलो कार्यक्रम र  कोणसभा देख्नु भएको छ । मध्यपुर थिमीमा नेपाली कांग्रेसका सबै नेताहरु कांग्रेसको कार्यक्रममा सक्रिय सहभागी हुनु भएको छ । टिकट लिने बेलामा हामीले प्रतिष्पर्धा गर्यौं । एक जनाले टिकट पाए पछि हामी एक भएका छौं ।  हिजो नेतृत्व गुमाउँदा भएको अप्ठेरो हामी सबैले बुझेका छौं । त्यसैले यसपटक कुनै पनि अवस्थामा नेतृत्व नगुमाउने अभियानमा हामी छौं । 

० परिवारभित्रै तपाईको प्रतिष्पर्धा छ । आफ्नै ज्वाइँसँग भिडन्त छ । पारिवारिक अप्ठेरो कत्तिको छ ?
परिवारको कुरा परिवारमै राख्नुपर्छ । मैले ३० वर्षदेखि  राजनीति गरेको हुँ । हिजो वीपी कोइरालालाई जेलमा राखेर आफ्नै दाइ प्रधानमन्त्री भएको इतिहास पनि छ ।  त्यसैले राजनीतिमा यस्तो हुन्छ । हामी नीति र एजेण्डामा लड्ने हो । उहाँ र मबीच नीति, विचार र एजेण्डा फरक–फरक छ । यसमा नाताको सम्बन्ध छैन । यो विचारको कुरा हो । यो कुरा मध्यपुर थिमीका जनताले बुझेका छन् । नेतृत्वमा आउँदा उनीहरुले हिजो नयाँ बस्ती र पुरानो बस्तीबीच विभेद सिर्जना गर्न खोजेका थिए । हामीले यो विभेद हुन दिन्नौं । 

० भनेपछि तपाईलाई परिवारका सबै सदस्यले भोट दिन्छन् ?
यो निश्चित छ । तपाईले बैशाख ३० मा देख्नुहुनेछ । मलाई सबैको समर्थन छ । यो विचारको प्रतिष्पर्धा हो । व्यक्तिको कुरा होइन । 

० तपाईले कति भोटको फरकले चुनाव जित्नहोला त ? 
हामी मध्यपुर थिमीमा आम मतदातासँग पुगेका छौं । उहाँहरुले तपाईहरु ढुक्क हुनुहोस् हामीले भोट दिन्छांै भन्नु भएको छ । यहाँको भोट करिब ४१ हजार छ । पछिल्लो चुनावमा कांग्रेसले ११ हजारको हाराहारीमा भोट ल्याएको थियो । त्यो बेला उहाँहरुले १४ हजारको हाराहारीमा भोट ल्याउनु भयो । त्यो बेला माओवादीसँग ४ हजारको हाराहारीमा भोट थियो । अहिले माओवादीसँग हाम्रो गठबन्धन छ । त्यसैले अहिले १५ देखि २० हजारको हाराहारीमा भोट आउने हाम्रो अनुमान छ । कांग्रेस धेरै नै अगाडि छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ