काठमाडौं। स्वीडेन ब्राजिललाई सेमिफाइनलमा पेनाल्टी सुटआउट मार्फत ४-३ गोलले पराजित गर्दै फाईनल प्रवेश गरेको छ।
पेनान्टी सुटआउटलाई आफ्नो पक्षमा पार्न नसक्दा आयोजक ब्राजिल जारी रियो ओलम्पिक अन्तर्गत महिला फुटबल इभेन्टको फाइनलमा पुग्नबाट चुकेको छ। स्वीडेनविरूद्धको सेमिफाइनल खेलमा आयोजक टोली पेनाल्टीमा पराजित भएको हो। योसँगै ब्राजिलको महिला फुटबलमा स्वर्ण हात पार्ने सपना पनि तुहिएको छ।
निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीबाट गोल नभएपछि खेल ३० मिनेटको अतिरिक्त समय थपिएको थियो। र अतिरिक्त समयमा पनि गोल नभएपछि नतिजाको लागि खेल पेनाल्टी सुटआउटतर्फ धकिलिएको हो। पेनाल्टीमा स्वीडेनले आयोजक ब्राजिलमाथि ४-३ को जित निकालेको हो।
स्वीडेनलाई जिताउन गोलरक्षक हेडभिग लिन्डाले पेनाल्टीमा महत्वपूर्ण दुई गोल बचाउ गरे। स्वीडेनको भने ओलम्पिकको महिला फुटबलमा यो पहिलो फाइनल यात्रा हो।
यस्तै क्यानाडामाथि २-० गोलको जित निकाल्दै जर्मनी पनि फाइनलमा प्रवेश गरेको छ। रोमान्चक खेलमा जर्मनीले खेलको पहिलो हाफको २१ मिनेटमा मेलानीको गोलबाट अग्रता लिएको हो। दोस्रो हाफको ६० मिनेटमा सारा डेबरिजले गोल गर्दै जर्मनीको अग्रता दोब्बोर बनाइन्।
फाइनल खेल स्वीडेन र जर्मनीबीच अगष्ट २० मा हुनेछ।