arrow

एमालेको आक्रमणबाट कांग्रेसबाट वडाध्यक्षका उम्मेदवारसहित तीन जना घाइते 

logo
श्रीकृष्ण सिग्देल, 
प्रकाशित २०७९ वैशाख २६ सोमबार
278926182_1460204424429692_6591165190902382572_n.jpg

भीरकोट । स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका  ८ ढापुकमा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार र कार्यकर्तालाई आइतबार दिउँसो एमाले कार्यकर्ताले कुटपिट र लछारपछार गरेका छ्न् । 

मत माग्दै हिंडेका कांग्रेसका कार्यकर्तालाई अचानक एमालेका कार्यकर्ताले  लुकेर बसी पछाडिबाट आक्रमण गरेको नेपाली कांग्रेसबाट भीरकोट ८ का लागि वडाध्यक्ष पदका उम्मेदवार नन्दलाल खनालले बताए । 

खनालका अनुसार कांग्रेस कार्यकर्ता घनबहादुर गुरुङ, वडा सदस्य हुमकला नेपाली र वडाध्यक्षका उम्मेदवार स्वयं खनालमाथि एमाले कार्यकर्ताले एकैपटक साङ्घातिक आक्रमण गरेको बताए ।

घाइतेको अवस्था मध्यम रहेको र घाइतेहरू वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा उपचार पश्चात घर फर्किएको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार घनबहादुर गुरुङको टाउकोमा चोट लागेको छ । 

गुरुङको निधारमा पाँच ओटा टाँका लगाइएको तथा अन्य दुई जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । वडा सदस्य हुमकला नेपालीको हात र खुट्टामा साधारण चोट लागेको तथा अध्यक्षका उम्मेदवारलाई लछारपछार गर्दा कानमा चोट लागेको अस्पताल स्रोतले जानकारी दियो । 

घाइते खनालका अनुसार एमालेका कार्यकर्ता टीका गुरूङ र दलबहादुर गुरूङले एकैपटक पछाडिबाट ढुङ्गा प्रहार गरी घनबहादुर गुरूङलाई  घाइते बनाएको तथा अन्यलाई लछारपछार गरेका थिए । घाइतेहरूले आरोपित टीका गुरुङ र दल बहादुर गुरुङ विरूद्ध वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएका छन् ।

यता आरोपित पार्टीका एमालेका नेता सन्तोष केसीका अनुसार फेसबुकको स्टाटसलाई लिएर विवाद र भनाभन हुँदा टीका र दलबहादुर गुरूङले पछाडिबाट धकेल्दा लडेर ढुङ्गामा ठोक्किइ निधारमा चोट लागेको  दाबी गरे ।

नेपाली कांगेस भीरकोटका सभापति यामप्रसाद अधिकारीले निर्वाचनको मुखैमा आएर यस्ता गतिविधि हुनु दुःखद र निन्दनीय भएको बताए । 

शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्न र एक आपसमा नभिड्न अधिकारीको आग्रह छ। नेकपा एमालेका नगर कमिटी अध्यक्ष तथा नगर प्रमुखका उम्मेदवार  विश्वनाथ अर्यालले घटना सुन्दा दुःख लागेको बताउँदै निष्पक्ष छानविन गरि दोषी उपर कारबाही हुने पक्षमा आफू रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ