arrow

यसपटक कांग्रेसले चुनाव जित्छ – बुढानीलकण्ठका मेयरका उम्मेदवार चालिसे 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
binod-chalise-congress-budhanilkantha.jpg

काठमाडौं । स्थानीय तहको चुनावको रौनक बुढानीलकण्ठ नगरपालिकामा ह्वात्तै बढेको छ । यस नपामा नेपाली कांग्रेसबाट मेयरमा उम्मेदवारी दिएका विनोद चालिसेको सक्रियता झनै बढेको छ । उनी उम्मेदवारी दर्तापछि नै घरदैलौ अभियानमा जुटेका छन् । 

२०७४ को चुनावमा यस नपामा नेकपा एमालेले चुनाव जितेको थियो । त्यसबेला नेपाली कांग्रेस र एमालेको भोट झण्डै ४ हजारको फरक थियो । तर परिस्थिति अहिले फेरिएको छ । यहाँका स्थानीय जनता एमालेले गरेको कामदेखि दिक्क भइसकेको कांग्रेसी नेताहरुको दाबी छ । त्यसैले यसपटक बुढानीलकण्ठमा नेतृत्व परिवर्तन हुने उनीहरुको ठोकुवा छ । 
 
अहिले बुढानीलकण्ठमा करिब ४१ हजार भोट छ । यो भोट यसपटक नेपाली कांग्रेसतिर आकर्षित भएको चालिसेको भनाइ छ । ‘यहाँका जनतासँग हामी निरन्तर सम्पर्क, संवाद, भेटघाटमा छौं । उहाँहरुले हामीप्रति देखाउनु भएको सद्भाव, माया र उत्साहले पनि म ढुक्क भएको छु कि यसपटक बुढानीलकण्ठमा हामीले चुनाव जित्छौं’, चालिसेले भने । 

उनी अगाडि भन्छन्, ‘हामीले निश्चित योजना र कार्यक्रम बनाएका छौं । हामीले चुनाव जित्यो भने यो यो काम गर्ने छौं भनेर योजना तयार गरेका छौं ।’ बुढानीलकण्ठमा एमालेको कार्यशैलीदेखि बुढानीलकण्ठका जनता दिक्क भइसकेको उनको भनाइ छ । 

उनले भने, ‘उहाँहरुले सुशासनको कुरा गर्नुहुन्छ तर सुशासनको नारा खाली देखाउनको लािग मात्र हो । व्यवहारमा उल्टो काम गर्नुहुुन्छ । यस नपामा उहाँहरुले गरेको भ्रष्टाचार र अनियमिताबाट बुढानीलकण्ठका जनता असन्तुष्ट भएका छन् । यो ५ वर्षको अवधिमा उहाँहरुले कुरा मात्र गर्नुभयो । काम केही गर्नु भएन ।’

बुढानीलकण्ठमा नेपाली कांग्रेसलाई चुनाव जिताउन कांग्रेसका सबै नेताहरु एक भएर लागेको चालिसेले बताए । उनले भने, ‘मलाई सबैको सहयोग र समर्थन छ । अहिले बुढानीलकण्ठका सबै कांग्रेसका साथीहरु एक भएर लाग्नु भएको छ ।’ 

चालिसको भनाइमा यसपटक बुढानीलकण्ठमा नेपाली कांग्रेसको प्रतिष्पर्धा एमालेसँग हुन्छ । यद्यपि यस नपामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले पनि उम्मेदवारी दिएका छन् । केही वडामा भने नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादीवीच तालमेल पनि भएको छ । 

आफूले चुनाव जितेमा सुशासन र सम्वृद्धिलाई प्राथमिकता दिने उनले बताए । ‘जनताको समस्यासँग हामी परिचित छौं । हामीले चुनाव जित्यौं भने उहाँहरुको गुनासो आउन दिने छैनौं’ उनले भने । 
 



नयाँ