arrow

रियो ओलम्पिक: पुरुष फुटबल सेमिफाइनलमा ब्राजिल-होन्डुरस, जर्मनी-नाइजेरिया भिड्दै

logo
प्रकाशित २०७३ भदौ १ बुधबार
Brazil_football_rio.jpg.jpeg
काठमाडौं। जारी रियो ओलम्पिकको पुरुष फुटबल खेलको सेमिफाइनल भिडन्त आजबाट सुरू हुँदैछ। पहिलो खेलमा आयोजक ब्राजिलले होन्डुरसको सामना गर्दैछ। खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरू हुनेछ। 
 
समुह चरणमा राम्रो प्रदर्शन गर्न नसके पनि ब्राजिलले क्वाटरफाइनलबाट भने आफ्नो प्रदर्शनलाई सुधारेको छ। यसकारण पनि ब्राजिलको आजको प्रदर्शन राम्रो हुनसक्छ। उसलाई घरेलु मैदान र ठूलो समर्थकको अनुकुलता पनि छ। 
 
विश्वकप फुटबल ट्रफी पाँच पटक उचालेको ब्राजिलले ओलम्पिक फुटबलमा भने अहिलेसम्म एक स्वर्ण पनि हात पार्न सकेको छैन। यद्दपी आयोजक ब्राजिको खातामा समान ३ रजत र काँस्य पदक भने छ। 
 
आजको खेलमा बार्सिलोनाका ब्राजिलियन स्टार नेयमार धेरैको ध्यानमा पर्न सक्दछन्। नेयमार जारी प्रतियोगितामा धेरैले नजर राखेको खेलाडी हुन्। समुह चरणको खेलहरूमा राम्रो गर्न नसकेका नेयमार क्वाटरफाइनदेखि भने फर्ममा छन्। उनले क्वाटरफाइनलमा एक गोल पनि गरेका थिए। 
 
त्यस्तै अर्को सेमिफाइनमा जर्मनीले नाइजेरियाको सामना गर्नेछ। खेल बिहिबार बिहान १२:४५ बजे सुरू हुनेछ। ओलम्पिक पुरूष फुटबल इतिहासमा जर्मनी र नाइजेरियाको खातामा १-१ स्वर्ण छ। 
 
पुरूष फुटबलतर्फ १९७६ को मोन्ट्रेल ओलम्पिकमा तत्कालिन पूर्व जर्मनीले स्वर्ण जितेको थियो भने अफ्रिकी मुलुक नाइजेरियाले १९९६ को एटलान्टा ओलम्पिकमा स्वर्ण हात पारेको थियो। 
 
क्वाटरफाइनलमा ब्राजिलले कोलम्बियालाई र जर्मनीले पोर्चुगललाई पाखाँ लगाउँदै सेमिफाइनल पुगेको हो। फाइनल खेल भने अगष्ट २१ मा हुनेछ।



नयाँ