arrow

भ्रष्टाचार न्यूनीकरणका रोलमोडल गिरी चन्द्रागिरीमा फेरि पनि नेतृत्व पाउने विश्वासमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
ghanashyam-giri-chandragiri.jpg
तस्बिर– फाइल

काठमाडौं । स्थानीय तहको निर्वाचन प्रचार प्रसारको अन्तिम दिन मंगलबार उम्मेदवारहरु निकै व्यस्त रहे । उनीहरुलाई एक एक मिनेटको पनि महत्व रह्यो । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा उम्मेदवारी दिएका निवर्तमान मेयर घनश्याम गिरी पनि निकै व्यस्त भए । 

उम्मेदवारी दिएदेखि नै घरदैलो र कोणसभामा व्यस्त गिरी अन्तिम समयसम्म पनि व्यस्त नै रहे । त्यसो त उनलाई धेरै मेहनत भने गर्न नपरेको उनी निकटका कांग्रेसी नेताहरु बताउँछन् । उनले भने, ‘मैले गरेको काम नै मैले चुनाव जित्ने आधार हो ।’ 

चन्द्रागिरीमा गिरीको यो दोश्रो पटकको उम्मेदवारी हो । यसअघि २०७४ सालमा उनी मेयर बनेका थिए । त्यसबेला झण्डै ३ हजार भोटको फरकले चुनाव जितेका थिए । यसपटक पनि उनी चुनाव जित्नेमा ढुक्क छन् । यसपटक कांग्रेससँग माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेको छ । 

मेयरमा गिरीको उम्मेदवारी पर्दा उपमेयरमा जनमोर्चाको उम्मेदवारी छ । गठबन्धन भएकाले पनि गिरीको जित्ने सम्भावना झनै बढेको हो । चन्द्रागिरीका केही वडामा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बीचसमेत तालमेल भएको छ । तर मेयर र उपमेयरमा समाजवादीले पनि उम्मेदवारी दिएको छ । 

गिरीले यो पाँच वर्षको अवधिमा चन्द्रागिरीमा उल्लेखनीय काम गरेका छन् । सुशासनको सवालमा होस् या कोभिड महामारीको बेला उनले गरेको काम देखेर विपक्षीहरुसमेत प्रभावित भएका छन् । 

कोभिड महामारी नियन्त्रण र व्यवस्थापनमा उल्लेखनीय काम गरे वापत चन्द्रागिरीले राष्ट्रिय तहमा पुरस्कार पाएको छ । यसैगरी सदाचारको सवालमा पनि चन्द्रागिरी देशभरका स्थानीय तहहरुमध्ये अब्बल सावित भएको छ । 

गिरीले गरेको काम यतिमामात्र सीमित छैन । उनले विकास निर्माण, खानेपानी, स्वास्थ्य, सरसफाई लगायतका काममा पनि अग्रणी भूमिका निभाएका छन् । 

‘मैले गरेको कामलाई निरन्तरता दिन र अधुरा भएका कामलाई पूरा गर्न फेरि पनि उम्मेदवारी दिएको हुँ’ गिरीले भने, ‘मैले गरेको कामदेखि यहाँका जनता खुशी छन् ।’  

चन्द्रागिरीमा आफूले शन्यदेखि काम शुरु गरेको उनले बताए । उनले भने, ‘म आउँदा यहाँ न कर्मचारी थिए, न कुनै साधन स्रोत थियो । मैले यी सबै व्यवस्था मिलाएँ । यो ५ वर्षको अवधिमा २० करोड रुपैयाँ बराबरको भवन बनायौँ । जर्मनीको सहयोग लिएर एक अर्ब रुपैयाँको अर्को अस्पताल भवन बनाउँदैछौं ।’ 

आफूले सबै पक्षसँग सहकार्य गरेर काम गरेको उनले सुनाए । ‘अघिल्लो कार्यकालमा विपक्षीहरुसँग दुई तिहाइ थियो । त्यति हुँदा हुँदै पनि उहाँहरुसँग सहकार्य र समन्वय गरेर काम गरेँ’ उनले भने । 

करिब ४८ हजार मतदाता रहेको चन्द्रागिरीमा बन्दै गरेको नागढुंगा सुरुङ मार्ग पनि त्यहीँबाट शुरु हुन्छ । यो सुरुङमार्ग बनाउन आफूले सहजीकरणको भुमिका निभाएको उनले सुनाए ।  

उनले भने, ‘यो निर्वाचनमा मैले गरेको कामको उचित मूल्यांकन हुनेछ भन्नेमा म विस्वस्त छु ।’

आफूले जिते भने अबको कार्यकालमा उनले प्रविधिमैत्री सेवामा जोड दिएका छन् । उनले आफूले पूरा गर्न बाँकी रहेका अधुरा काम सक्ने तथा जनताले घरमै बसेर सेवा पाउन् भन्ने लक्ष्य लिएको उनले बताए । यसका लागि घरमै बसेर सरकारी कामहरु गर्न सक्ने प्रविधिमैत्री विकास गर्ने पनि उनले अठोट गरेका छन् । 

भ्रष्टाचार न्यूनीकरणमा नमूना कार्य
उनले नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन भने निकै नै मेहनत गरे । भन्छन् ‘भ्रष्टाचार रोक्न खोज्दा चुनौती धेरै भयो । धेरै अवरोध आउँदो रहेछ । प्रशासनिक क्षेत्रबाट र अन्य क्षेत्रबाट पनि आउँदो रहेछ । छुट्टै टिम नै हुँदोरहेछ । त्यसलाई चिर्न धेरै गार्हो भएको थियो । त्यसलाई चिरेर समितिहरुमार्फत गठन गराएर आफूले हदैसम्मको निगरानी गरेर केही कामहरु गरियो यसमा धेरै अप्ठेरो आउँदो रहेछ । सामान सप्लाईदेखिमै ठूलो खेल हुँदोरहेछ ।’ 

त्यसैले त भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रम अन्तर्गत स्थानीय तहले गर्ने काम कारबाहीलाई थप जिम्मेवार र पारदर्शी गराउने उद्धेश्यले सदाचार प्रतिवद्धता अवधारणा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले तय गरेकामा चन्द्रागिरी नगरपालिका नमूना बन्न गएको हो । गिरी भन्छन्, ‘त्यतिसारो पूरै जिरो त अझै भएको छैन । जिरो त गर्न पनि नसकिने रहेछ । तर पनि जेहोस् हामीले अरुले भन्दा हदैसम्म प्रयास गरेका छौं । मूल्याङ्कन भएको छ त्यसप्रति आभार व्यक्त गर्दछौं ।’

गिरी अगाडि थप्छन्, ‘नेपालमा सबैतिर भ्रष्टाचार भइरहेकामा अलि कम भ्रष्टाचार हुने नगरपालिका भनेर चुनिदिँदा गौरब लाग्छ । सुरक्षा निकायले पनि प्रहरी दिवसको अवसरमा सुरक्षा व्यवस्थापनमा पहिलो नगरपालिका घोषणा गरेर पुरस्कृत गरेको थियो । गौरब लाग्दो रहेछ आफूले काम गरेको कदर हुँदा । सबै जनताले साथ दिएकोमा नगरपालिकाले गौरवान्वित महसुस गरेको छ ।’

गत वर्षमात्रै कोरोना भाइरस (कोभिड–१९) को नाममा हुँदै गरेको ६ करोड रुपैयाँ भ्रष्टाचार हुनबाट बचाएको प्रमुख गिरीको भनाइ छ । उनले भने, ‘क्वारेन्टिनका नामबाट जताजतै धेरै भ्रष्टाचार भयो । आइशोलेसनका नाममा पनि धेरै खर्च हुँदोरहेछ । मैले सामान्य बिरामीलाई होम आइशोलेसनमै राखेर ६ करोड बचाएको छु ।’

खर्च रोक्न खोज्दा पनि कतिपय अवस्थामा रोक्न नसकिएको गिरीको अनुभव छ । भन्छन्, ‘कोभिड १९ को नाममा धेरै रकमहरु गएको भन्ने देखिएको हुनाले नियन्त्रण गर्न खोजेको छु । क्वारेन्टिन बनाउने नाममा धेरै रकम गयो । नगरपालिकाकै २०–२५ लाख रुपैयाँ अनावश्यक खर्च भएको छ । आइशोलेसन बनाउने नाममा धेरै खर्च हुन खोज्यो मैले नियन्त्रण गरेँ । नगरपालिकामा दुई हजार भन्दा बढी संक्रमित भइसके करोडौं रुपैयाँ खर्च हुन्थ्यो । नगरपालिकाले व्यवस्थापन गर्न लागेको भए त प्रतिव्यक्ति ३० हजारका दरले ६ करोड रुपैयाँ गइसक्थ्यो नि त ।’

कसरी रोकियो त रकम भन्ने बारेमा गिरी भन्छन्, ‘मैले स्वास्थ्यसँग समन्वय गरेर होम आइशोलेसनमा बस्न लगाएर पीसीआर टेष्ट नगरपालिकाले निःशुल्क गरिदिने व्यवस्था मिलाएँ । जसले कर तिरेको छ उनीहरुको पैसा दुरुपयोग गर्नु हुँदैन भन्ने लाग्यो । त्यही उद्धेश्य राख्दा धेरै विरोध र चुनौतीको सामना गर्नुपर्‍यो । आइशोलेसन सेन्टर १०–१५ सिटको त बनाएका छौं तर आपत्कालीन हिसाबले मात्र बनाएका हौं । चौध दिन क्वारेन्टनमा राख्दा दुई हजार त न्यूनतम दैनिक खर्च हुन्छ । अरु सेवाहरु पनि दिनुपर्‍यो । उपचार पनि गर्नुपर्‍यो । यसरी गर्दा प्रतिव्यक्ति ३० हजार खर्च हुँदा पनि ६ करोड भैसक्थ्यो । अरु कति हुने हो अझै निश्चित छैन । त्यसलाई नियन्त्रण गर्न खोजिरहेको छु । नियन्त्रण भइरहेको छ अहिलेसम्म । संक्रमित व्यक्तिलाई हामीले झण्डै तीन हजार रुपैयाँ बराबरको हेल्थ किट दिएका छौं । स्वास्थ्यकर्मीहरुले काउन्सिलिङ गरिरहेका छन् ।’ 

जनप्रतिनिधिले चुनावका बेलामा लाखौं खर्च गरेका हुन्छन् । त्यो रकम उठाएर अर्को चुनावसम्मका लागि पनि जम्मा गर्ने योजना बनाएको सुन्नमा आउँछ । गिरी र उजको टिमलाई पनि त चाहिँदो हो नि रकम ? यसबारेमा गिरी भन्छन्, ‘चुनावमा खर्च गरेकाले उठाउन खोज्ने जनप्रतिनिधिको माथिदेखि तलसम्मको टिम हुँदोरहेछ । थाहा पायौं हामीले । मलाई केही जनप्रतिनिधिहरुले साथ दिनुभयो त्यसपछि हामीले नियन्त्रण गर्‍यौं । बीचमा केही भइसकेको रहेछ । त्यसलाई पनि हामीले नियन्त्रण गर्‍यौं । सामान सप्लायरदेखि प्रशासनसम्म टिम हुँदोरहेछ । त्यो नियन्त्रण गर्दा धेरै किसिमको विरोध आएको थियो मलाई । थप प्रयासहरु गरेर पनि विरोध गर्न खोजियो । तर मलाई त्यसले केही असर गरेन । आफ्नै ढङ्गले काम गरेँ । निरन्तर गरिरहेको छु ।’

कोरोनाको चुनौती पार गर्न भएका प्रयासबारे गिरी भन्छन्, ‘नगरपालिकाले आफ्नै अस्पतालमा कोभिड १९ टिम बनाएको छ । १८–२० जनाको स्वास्थ्यकर्मीको टिम बनाएको छ । टिमले काम गरिरहेको छ । अहिले नगरपालिकाले कुनै तनाब बोकेको छैन । आवश्यक सामान खरिद गरिदिने, डाक्टरहरुलाई व्यवस्थापन गरिदिने, भत्ताको व्यवस्थापन गरिदिने, बिरामीहरु राख्न पर्यो भने सशस्त्र प्रहरी अस्पतालमा पठाइदिन्छौंं । अरु होम आइशोलेसनमा बस्छन् ।’



नयाँ