arrow

निधिको भारत दौड तीन तहको उच्च भ्रमणमा केन्द्रित : रणजित राय

logo
प्रकाशित २०७३ भदौ १ बुधबार
ranjit-ray-new-rep.jpg.jpeg
काठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजित रायले छिट्टै नेपाल–भारतबीच द्धिपक्षीय उच्च तहको भ्रमण हुने बताएका छन् । 
 
वुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा राजदुत रायले छिट्टै दुई देशका उच्च तहको भ्रमण हुने बताएका हुन् । उनले भने,‘द्धिपक्षीय उच्च भ्रमण तय गर्नको लागि पनि नेपालका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि विहिबार दिल्ली जाँदैहुनुहुन्छ ।’ उनले मन्त्री निधिको भारत भ्रमणले नै भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण र नेपालका राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणको मिति तय गर्नेमा केन्द्रित रहने स्पष्ट पारे । 
 
राजदुत रायले द्धिपक्षीय उच्च भ्रमण हुन आवश्यक रहेको उल्लेख गर्दै भने,‘नेपाल–भारतबीच द्धिपक्षीय उच्च भ्रमण हुन जरुरी छ, यस्ता किसिमको भ्रमण र अन्र्तक्रियाले आपसी सम्बन्ध सुमधुर बनाउँछ ।’ यद्यपि, राजदूतले भ्रमणको मिति भने अहिले नै तय नभएपनि आफहरु भ्रमण मिति तय गर्नको लागि गृहकार्यमा जुटेको स्पष्ट पारे ।  
 
भारत नेपालमा स्थायित्व, शान्ति र विकास भएको हेर्न चाहन्छ भन्दै राजदूत रायले थपे,‘हामी नेपालमा विकास भएको हेर्न चाहन्छौं, त्यसको लागि भारत सँधै नेपाललाई सहयोग गर्न तयार छ ।’ भारतको राष्ट्रिय स्वार्थ आर्थिक वृद्धि भएको उल्लेख गर्दै उनले थपे,‘हामी अहिले आर्थिक वृद्धि गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौं, अब हामी दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्यमा छौं, तर यसको लागि छिमेकी मुलुकमा स्थायित्व हुनुपर्छ, विकास हुनुपर्छ, यो भारतको चाहना हो ।’ 
 
भारतले एक्लै उक्त लक्ष्य हासिल गर्न नसक्ने भन्दै उनले भने छिमेकमा शान्ति र स्थिरता हुनुपर्छ भन्ने भावनाका साथ भारतले छिमेकी पहिलो प्राथमिकतामा राखेको बताए । उनले थपे,‘छिमेकमा अस्थिरता भयो भने भारतमा पनि अस्थिरता हुन्छ, भारतमा अस्थिरतमा भयो भने छिमेकी मुलुकमा पनि अस्थिरता हुन्छ, त्यसैले  यो एक अर्को देशको लागि म्युच्युल ईन्ट्रेष्ट हो ।’ 
 
कहिलेकाहीँ भारतले नेपालमा अस्थिरता चाह्यो भन्ने आरोप लगाउने गरेको आफूले सुनेको भन्दै राजदुत रायले खण्डन गरे,‘यो त स्वयम् भारतको हितको विपरितमा छ, किनकी नेपालमा अस्थिरता भयो भने भारतको विकासमा पनि असर पर्छ नि, त्यसैले भारतले कहिलेपनि त्यस्तो अस्थिरता चाहँदैन् ।’ 
 
उनले भारतको नेपालसँग त अझै युनिक सम्बन्ध रहेको उल्लेख गर्दै थपे,‘नेपाल–भारतवीच खुल्ला सिमाना छ, जनता जनताबीच प्रगाढ सम्बन्ध छ, कुनै नदी नेपालबाट बगेपनि गंगामा मिसिन्छ, त्यसैले मलाई लाग्छ कि एक देश अर्को देशमा यस्तो अस्थिरता चाहन्छ भन्ने भावना कसैको मनमा पनि आउनै हुँदैन ।’ यद्यपि, उनले सम्बन्धमा फरक हुने धारणा राखे । 
 
नेपाल–भारत सम्बन्धमा धेरै उतारचढाब र चुनौती आएको कुरा स्वीकार्दै राजदूत रायले भने,‘चूनौतिले सम्बन्धलाई अझै मजबुत बनाउँछ, बलियो बनाउँछ, वर्तमान सम्बन्धमा केही मतमतान्तर देखियो भन्दै यसले दिर्घकालिन असर पर्छ भनेर कसैले पनि सोच्नुहँदैन ।’ 
 
आगामी दिनमा नेपाल–भारत सम्बन्धलाई राजनीतिक भन्दापनि आर्थिक साझेदारीको रुपमा अघि बढाउनुपर्नेमा उनको जोड थियो । उनले थपे,‘राजनीतिक विषय एउटा कुरा हो, आर्थिक साझेदारी अर्को विषय हो, त्यसैले आर्थिक साझेदारीको कुरा गर्दा राजनीतिक कुरा जोड्नु हुँदैन ।’ आर्थिक साझेदारीका आयोजनाहरुलाई अघि बढाउनको लागि पनि मिडियाको सकारात्मक भूमिकाको आवश्यकत्ता रहेको राजदुत रायले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ