- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अहिले नेपाल निर्वाचनमय भएको छ । मन्जुपतन, कान्तिपुर, देव पाटन र काठमाडौं अनेक नाम पाएको काठमाडौं महानगर शासकका लागि राजधानी भएकाले राजनैतिक महत्व राख्दछ । आम जनताको लागि यो स्वास्थ्य, शिक्षा, ब्यापार, रोजगारीको केन्द्र हो । राजधानीको हिसाबले पूर्वाधार लगायतमा उम्मेद्वारहरुले ध्यान दिनुपर्ने त छँदैछ यसको नेतृत्व गर्छु भन्ने र मतदाताले पनि यसको ऐतिहासिक, सांस्कृतिक, सामाजिक महत्वलाई बुझ्नुपर्छ ।
भाषा बंशावली अनुसार आधुनिक काठमाडौंको निर्माण ईशाको दशौं शताब्दीतिर राजा गुणकामदेवको पालामा भएको हो भन्ने भनाइ छ । कतिपयले राजा हरिहर मल्लको पालामा यो शहरको निर्माण भएको बताउँछन् । काठमाडौं शब्द काष्ठमण्डपबाट आएको हो । मत्स्येन्द्रनाथको जात्रामा एउटा कल्पवृक्ष पनि मान्छेको रुपमा मत्स्येन्द्रनाथको दर्शन गर्न आएको थियो । तर एउटा ज्यापूले चिनिहाल्यो र पक्रियो ।
उसको प्रतिभाको सम्मान गर्दै कल्पवृक्षले ज्यापूको कीर्ति राख्ने प्रतिज्ञा गरेअनुसार भोलिपल्ट बिशाल रुख भेटियो र त्यही एउटा रुखबाट एउटा घर निर्माण भयो । त्यो घरमा कुनै देवीदेवताको मूर्ति राखिएन । त्यसलाई सत्तलको रुपमा स्थापित गरियो । माथि उल्लेखित हरफहरुले काठमाडौसँग विशेषतः दुई कुराहरु जोडिएर आउँछन् । एउटा काठमाडौंले लामो इतिहास बोकेको छ । अर्को शारीरिक रुपमा बल लगाउनु पर्ने काम गरे पनि काठमाडौंबासी किसानको रहस्य पत्ता लगाउन सक्ने अलौकिक क्षमता र समाजप्रतिको जिम्मेवारीबोधसहित सत्तल बनाउने उसको योजना ।
इतिहास भन्छ – मन्जुश्रीले काठमाडौं उपत्यका बसाए पश्चात् यहाँ अनेकन आक्रमणहरु भए । अनेक बंशले शासन चलायो । विभिन्न कालखण्डमा कहिले बौद्ध त कहिले हिन्दू धार्मिकताको बाहुल्य रह्यो । यी सबै हुँदा हुँदै पनि काठमाडौंले धार्मिक सहिष्णुतालाई सधैं कायम राख्यो । सबैभन्दा महत्वपूर्ण कुरा दक्षिणबाट शंकराचार्यले हिन्दूत्वलाई बढाउँदै बुद्ध धर्मलाई समाप्त पार्दा पनि काठमाडौंले त्यसलाई मर्न दिएन । बरु शंकराचार्यले कर लगाएपछि बौद्ध धर्म अनुयायी बाँडालगायत कतिपय जाति बिहार छोडेर गृहस्थ भए ।
कतिपयको भनाइमा पुरानो अवलोकितेश्वर बोधिसत्वको यात्रा नै शैव धर्मको विस्तार भएपछि नाथ सम्प्रदायका प्रवर्तक गोरक्षनाथका गुरु मत्स्येन्द्रनाथको यात्राको नामले चल्न थाल्यो । नाम फेरियो । तर यहाँको चलन, चाड पर्व रोकिएन ।
काठमाडौं नेवार बाहुल्य भूमि हो । कोही यिनको मूलजरो दक्षिणको ‘नायर प्रदेश’ भन्छन् जुन नायरबाट नेवार भयो पनि भनिन्छ । कोही चीनबाट आएका मन्जुश्रीका शिष्यहरु भएकाले मङोल हुन् भन्छन् । यो भन्नेहरुको संख्या बढी छ । जरो जहाँको भए पनि नेपाली कला संस्कृति र इतिहासलाई सम्वृद्ध बनाउन यिनको महत्वपूर्ण भूमिका छ । नेवार बिना काठमाडौं मात्रै हैन सिङ्गो नेपालको कला, साहित्यको इतिहास अधुरो हुन्छ ।
उत्तर र दक्षिणको धर्म र संस्कृति र कलाको संगम, सम्मिश्रणले काठमाडौंलाई सधैं सम्वृद्ध बनायो । मन्दिरको शहर भनेर चिनायो जहाँं स्वयम्भु माथिबाट पशुपति गजुर हेरेर शिवको प्रार्थना गर्छन् अनि पशुपतिबाट निस्किएर बौद्धनाथको परिक्रमा लगाउँछन् । त्यसैले काठमाडौं मन्दिरहरुको शहर जहाँं हरेक दिन चाड मनाइन्छ भनिन्छ । घोडेजात्रा, भक्कु भैरब, गठे मंगल, गाईजात्रालगायत सयौं जात्रा काठमाडौंमा यद्यपि कायम छ ।
शिवदेव प्रथमले राजगद्दी पाउनासाथ जब अंशुबर्मा शक्तिशाली भए त्यसपछि गोकर्णको दरबार सरेर देवपाटनमा बनेको नौ तल्ले (कतै सात तल्ले) दरबारमा सरेको उल्लेख छ । विभिन्न चिनियाँ यात्रीहरुले पनि यो दरबार र अन्य कला कृति देखेको र यसको सुन्दरताको खुलेर प्रशंसा गरेको पाइन्छ । काठमा जति मसिना कामहरु गरिएको छ हातबाट त्यति मिहीन र सुन्दर कालिगढी अन्त शायद नै गरिएको होला ।
काठमाडौंले चीन वा उत्तरबाट झिंगटीको छाना भएका अनेक तले दरबार पनि भित्र्यायो भने अर्कोतिर ‘नगर शैली’ को कलालाई पनि भित्र्यायो । भनिन्छ लिच्छवीकालीन कैलाश कुट भवनमा माथिल्लो तलामा एक हजार बढी मानिस अटाउन सक्थे जुन त्यो समयको कलाको विकासको उत्कर्षको उदाहरण मानिन्छ ।
मल्लकालमा आइपुग्दा काठमाडौंले आफ्नो छुट्टै स्थान सुरक्षित गरिसकेको थियो । भोट, पाटन र भक्तपुरमासमेत काठमाडौंका तत्कालीन राजा महिन्द्र मल्लको नोट चल्थ्यो । भोटलाई मुद्रा दिएर चाँदी लिँदा वर्षको एक लाख नाफा गर्दथ्यो । महिन्द्र मल्लले अरुतिरबाट मान्छेहरु ल्याएर जनसंख्या बढाए । जसले कृषि, ब्यापारमा उत्पादकत्व बढ्यो । उनको पालादेखि सर्वसाधारणले अग्ला घरहरु बनाउन थालेको इतिहास पाइन्छ ।
धेरै अघिदेखि काठमाडौंको तराइसँग विशेष सम्बन्ध छ । अझ मल्ल राजाहरुले तराइको कर्नाट बंशसित आफ्नो सम्बन्ध छ भनेर उल्लेख गरेका छन् । जयस्थिति मल्लको सामाजिक ब्यवस्थामा पनि तेर्हौते पण्डितहरुको हात थियो । काठमाडौं शहरको मुल ढोकाटोलमा अझै तिनको उपस्थिती देखिन्छ ।
रत्न मल्लको पालामा नेपालमा पहिलो पटक मुसलमानहरुको प्रवेश भएको मानिन्छ । बाहिरबाट आउनेलाई स्वीकार र स्वागत गर्ने काठमाडौंको पुरानो इतिहास छ ।
यही काठमाडौंले अहिले स्थानीय तहको निर्वाचनमार्फत जनप्रतिनिधि चुन्दैछ । सिङ्गो काठमाडौंको गरिमाको रक्षा गर्ने जिम्मा उसले पाउँछ । त्यसैले पनि महानगरको प्रमुख पद यसै पनि प्रमुख नै छ । रहँदै आएको छ । रहन्छ पनि । तर त्यसको गरिमा राख्न सक्ने जनप्रतिनिधि आउन सक्छ । स्वच्छ छविको आउनु पर्छ ।
ऊ सुशासन कायम गर्ने खालको, आफू पनि सुशासनमा कटिबद्ध भएको, इमानदार, जनभावनाको कदर गर्न सक्ने खालको भयो भने महानगरबासीको पनि रक्षा गर्छ । तर भ्रष्ट, कपटी, यौन दूराचारी वा कुनै किसिमको व्यभिचारी लम्पट खालको भयो भने त्यसले सर्वसाधारण नागरिको अस्तित्व त संकटमा पार्छ नै सिङ्गो महानगरलाई नै ध्वस्त पार्न सक्छ ।
मल्लकालमा राजा महिन्द्र मल्लका छोरा सदाशिव मल्ल ब्यभिचारी निस्किए । बाटोमा युवतीहरुलाई निस्किन गाह्रो हुन लाग्यो । एकदिन जनताले उनलाई कुटेर राज्यबाट धपाए र उनी भक्तपुर गएर लुके । भादगाउँले राजालेसमेत शरण नदिएर थुनेर राख्दा उनी त्यहाँबाट झुक्याएर भागे । उनका कारण पुरानो बंशबाट राजसत्ता अर्कैमा सर्न पुग्यो ।
लोकतन्त्रमा निर्वाचन नै असक्षम, खराबलाई सत्तामा पुग्नबाट रोक्ने सबैभन्दा राम्रो माध्यम हो । जनताले पुरस्कार र दण्ड दिन सक्ने हैसियत पाउनु नै प्रजातन्त्रको सुन्दर पक्ष हो ।
यो आज महानगर बन्दै गर्दा यसले धिमेबाजा, नौबाजालाई पनि संरक्षित गर्नुपर्छ नयाँ आउने र्याप पुस्तालाई पनि स्वीकार्नुपर्छ । काठमाडौंको माटोले कोतपर्व, नारायणहिटी काण्ड पनि भोगेको छ । प्रजातन्त्र र गणतन्त्रको लागि लड्ने र मर्नेको रगत पनि भोगेको छ । सिंहदरबारभित्र छिर्ने चिल्ला गाडीदेखि सडक पेटीमा सामान बेच्ने गरीब पनि समेटेको छ ।
निर्वाचनमा मत दिँदै गर्दा राजनीतिक पार्टीप्रतिको आक्रोशको प्रतिकृया स्वरुप दिइने मत काठमाडौंका लागि प्रत्युत्पादक बन्नु हुँदैन । राजनीतिक रुपले अस्थिर नेपाल जस्तो देशमा सयौं दल हुँदा हुँदै कुनै एउटा व्यक्तिलाई जिताउने प्रयासले बहुदल काम नलागेको प्रमाणित गर्ने कोसिसमा हाम्रो युवा पुस्तालाई नजानिँदो ढंगले प्रयोग पो गरिँदैछ कि भन्ने पनि सोचिनु पर्छ ।
समग्रमा माथि उल्लेख गरिए जस्तै काठमाडौंका जनता रुप फेरेर आउने मत्स्येन्द्रलाई त चिन्न सक्छन् भने पक्कै पनि आउने निर्वाचनमा असल र खराब उम्मेदवार पनि चिन्नेछन् र योग्यलाई महानगरको मेयरमा निर्वाचित गर्ने छन् ।