arrow

देउवा-मोदीबीच लुम्बिनीमा विशेष वार्ता हुने, दिल्लीमा भएका सम्झौतामा थप विस्तारित एजेन्डा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
deuba-modi-nepal-india.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेठ २ अर्थात् मे १६ मा गर्ने नेपालको लुम्बीनी भ्रमणमा विभिन्न एजेन्डाहरु समावेश हुने भएका छन् । मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँग हुने वार्तामा जलविद्युत र कनेक्टिभिटीलगायत विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने विस्तृत एजेन्डा हुने शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्राले बताएका हुन् ।

यस्तै दुई पक्षीय वार्ताका बीचको सीमा विवाद पनि समेटिन्छ किन नाई भन्ने प्रश्नमा उनले भनेका छन्, ‘भारतले सधै विद्यमान द्विपक्षीय संयन्त्र नै मुद्दामा छलफल गर्नको लागि उत्तम माध्यम हो भन्ने कुरालाई कायम राखेको छ र यस्ता मुद्दालाई राजनीतिकरण नगरेर जिम्मेवार ढंगले छलफल गरिनुपर्छ।

लुम्बिनी भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले पवित्र मायादेवी मन्दिरको दर्शन गर्नुका साथै लुम्बिनी विकास कोषले आयोजना गरेको बुद्धजयन्ती कार्यक्रममा सम्बोधन गर्ने भएका छन् । 

गत महिना भारत भ्रमणमा गएका प्रधानमन्त्री र देउवाबीच लुम्बिनीमा व्यापक वार्ता हुने बताइएको छ । 

यस्तो घनिष्ठ क्रममा पुनः भ्रमण भइरहेको तथ्य उच्चस्तरीय आदानप्रदानको निकटताका साथै पारस्परिक लाभकारी साझेदारी उच्चस्तरमा पुगेको प्रतिबिम्ब भएको विदेश सचिव क्वात्राको भनाइ छ ।

लुम्बिनीमा मोदी र देउवाबीच हुने वार्ताले जलविद्युतको विकास, कनेक्टिभिटीलगायत विभिन्न क्षेत्रमा साझा समझदारी र सहयोग गर्न गत महिना दिल्लीमा भएको सहमतिलाई थप विस्तार गर्ने भारतीय विदेश सचिव क्वात्राले बताएका छन् ।

मोदीको यो भ्रमणले नेपालसँगको सम्बन्धप्रति भारतको प्रतिबद्धतालाई पुनःपुष्टि गर्ने र नयाँ दिल्लीले छिमेकीलाई प्राथमिकतामा राखेको कुरालाई थप झल्काउने भारतीय अधिकारीहरुको विश्वास छ ।

क्वात्राले अघि भनेका छन्, 'दुई नेताबीचको वार्तामा बृहत् एजेन्डा हुनेछ भन्ने मलाई लागेको छ।' उनले भारत-नेपाल साझेदारीको सम्पूर्ण क्षेत्र र परिदृश्य धेरै फराकिलो र व्यापक भएको बताएका छन् ।

गत महिना प्रधानमन्त्री देउवाले भारत भ्रमण गर्दा भएको वार्ताबाट लुम्बिनीमा पनि वार्ता सुरु हुने र यसमा नेपाल भारत द्विपक्षीय संलग्नताका सबै पक्षहरू समेटिने विश्वास गरिएको छ । 'चाहे त्यो विकास साझेदारी होस्, कनेक्टिभिटी परियोजनाहरू कसरी अघि बढिरहेका छन् भनेर मूल्याङ्कन गर्न होस्,' क्वात्राले भनेका छन् ।

यस्तै दक्षिण एसियाका दुई समाजलाई जोड्न जलविद्युत सहयोग, व्यापार र लगानीसँग सम्बन्धित पक्षहरूबाहेक थप के गर्न सकिन्छ भन्ने बिषयमासमेत छलफल हुने भएको छ ।

सीमा विवादको समस्यालाई सम्बोधन गर्न द्विपक्षीय संयन्त्र स्थापना भएको क्वात्राको भनाइ छ ।

उनले भने, 'जहाँसम्म दुई देशबीचको सीमा वार्ताको सवाल छ, तपाईहरू सबैलाई थाहा छ, दुवैपक्षबीच स्थापित द्विपक्षीय संयन्त्रहरू छन्।'

'हामीले जहिले पनि ती मुद्दाहरूमा राजनीतिकरण नगरी जिम्मेवार ढंगले छलफल गर्ने नै उत्तम तरिका हो भन्ने कुरा ध्यानमा राखेकाछौं। जुन ती स्थापित द्विपक्षीय संयन्त्रहरूमार्फत हुन्छ,' उनले भने ।

सन् २०२० मा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको भूभाग समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक भएपछि दुई देशबीचको सम्बन्धमा तनाव आएको थियो ।

भारतका पाँच राज्य सिक्किम, पश्चिम बङ्गाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्डसँग नेपालको १ हजार ८ सय ५० किलोमिटरभन्दा लामो सीमा जोडिएको छ ।

बद्ध जयन्तीको अवसरमा लुम्बिनीमा रहने मोदीको भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत सहभागी हुनेछन् । 

मोदीको भ्रमणका क्रममा द्विपक्षीय सम्बन्धका विषयमासमेत कुराकानी हुने भएको छ । यो भ्रमणले नेपाल भारत बीचको शदियौंको सम्बन्धलाई थप नयाँ उचाई दिन मद्दत गर्ने परराष्ट्र मन्त्रालयले बताएको छ ।

गत महिना (अप्रिल) मा मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको भ्रमण गरेका थिए । भारतीय प्रधानमन्त्री मोदी नेपालको भ्रमणमा आउनु दुई पक्षीय सम्बन्धका लागि शुभ संकेत भएको परराष्ट्रविद्को भनाइ छ ।

यस बिषयमा परराष्ट्रविद् डा दिनेश भट्टराई भन्छन्, 'हाइएस्ट लेभलमा यसरी यति छिटो छिटो भिजिट हुनु चाहिँ राम्रो संकेत हो । नेपाल भारत सम्बन्धमा, यसले सद्भाव, समझदारी र विश्वासको वातावरण बनाउन सहयोग गर्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ