arrow

भरतपुर महानगरमा रेणु दाहाल अन्तर बढाउँदै, वडा १ को वडाध्यक्षमा कांग्रेसका केशव विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
Bharatpur_Mahanagarpalika.png

चितवन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी नेतृ रेणु दाहालले अग्रता बढाउँदै लगेकी छिन् । उनले १२१ मतको अग्रता बनाएकी छिन् । 

निकै प्रतिस्पर्धात्मक देखिएको उक्त क्षेत्रमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा चलिरहेको छ । ३ हजार २७७ मत गणना हुँदा रेणुले १ हजार २०८ मत पाएकी छिन् भने एमालेका विजय सुवेदीले १ हजार ८७ मत पाएका छन् । एमाले र राप्रपाबीच गठबन्धन भएको हो । 

गठबन्धनका बागी अर्थात् कांग्रेसबाट विद्रोह गरेर उठेका जगन्नाथ पौडेलले ४२० मत पाएका छन् । उपमेयरमा भने कांग्रेस अगाडि छ । कांग्रेसका चित्रसेन अधिकारीले १ हजार ३६२ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ८७७ मत ल्याएकी छिन् । 

त्यहाँ बदर मत भने १० देखि १२ प्रतिशत देखिएको छ । कसैले मतपत्रमा बहिस्कार लेखेका छन् भने कसैले मतपत्रमा कसलाई भोट दिने भनेर लेखिएको चिट सँगसँगै राखेका छन् । जसका कारण बदर बढी भएको हो । 

भरतपुरको महानगरको वडा नम्बर १ को मतगणना टुङ्गिएको छ । जसमा वडाध्यक्षमा नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका छन् । उनले १ हजार ३९७ मत ल्याए । निकटतम प्रतिद्धन्द्धी एमालेका शुक्रकुमार श्रेष्ठले १ हजार ३ सय १३ मत पाए । 

यसअघि २०७४ को विर्वाचनमा पनि वडा १ मा कांग्रेस विजयी भएको थियो । त्यहाँबाट जयराम श्रेष्ठले जितेका थिए । उनले एमालेकी गीता श्रेष्ठलाई १४ मतको अन्तरले हराएका थिए । 

अहिले वडा नम्बर २ को मतगणना भइरहेको छ । 
 



नयाँ