arrow

एमालेको किल्ला भत्काउँदै कांग्रेस 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
Congress-UML_Election.jpg

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको किल्ला भत्काएको छ । धेरै वर्षदेखि एमालेको गढ मानिएको स्थानमा कांग्रेसले भत्काएको हो । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेसले बाजी मारेको छ । 

अन्तिम मत परिणामअनुसार गाउँपालिका प्रमुखमा नेकपा एमालेका विक्रम गुरुङलाई ४८२ मतले पछि पार्दै नेपाली कांग्रेसका मिनबहादुर गुरुङले जितेका हुन् । उपप्रमुखमा पनि कांग्रेसकी सीता अधिकारीले एमालेकी सीता तिवारीलाई पराजित गरेकी हुन् । 

सीता अधिकारीले ६ हजार ३७६ मत पाउँदा सीता तिवारीले ५ हजार ९५१ मत ल्याएकी छन् । सोही पदमा नेकपा माओवादी केन्द्रकी प्रविणा अधिकारीले ९ सय ७३ मत ल्याएकी छन् । गाउँपालिकाको ९ वडामध्ये ७ वटा वडामा काँग्रेसले र २ वडामा एमालेले जित हासिल गरेको छ । यसअघि २०५४ र २०७४ मा एमालेले जितेको थियो । 

त्यसैगरी दैलेखको नारायण नगरपालिका–१ दैलेखको सदरमुकाम रहेको वडा हो । राजनीतिक हिसाबले निकै महत्वपूर्ण रुपमा हेरिने वडामा २६ वर्षपछि कांग्रेसले नेतृत्व लिने अवसर पाएको छ । २०५४ देखि निर्वाचनमा जित्दै आएको वडामा २६ वर्षपछि नेकपा एमालेले आफ्नो किल्ला गुमाएको हो । 

२०५३ सालमा स्थापना भएको नारायण नगरपालिकामा पहिलो चुनाव २०५४ मा भएको थियो । त्यसबेला एमालेबाट पहिलो वडाध्यक्षमा दिपबहादुर श्रेष्ठ निर्वाचित भएका थिए । त्यसयता राजाको प्रत्यक्ष शासनकालमा वडाध्यक्षहरु यामबहादुर मल्ल र यामु श्रेष्ठ मनोनित भएका थिए । 

२०७४ को स्थानीय चुनावमा नेकपा एमालेका तिर्थनारायण श्रेष्ठ विजयी भएका थिए । कांग्रेसले विभिन्न समयमा हुने निर्वाचनमा आफ्नो पक्षमा वडाध्यक्ष जित्न निकै सकस भयो । संगठन निर्माणमा जुटिरह्यो त्यसको फल अहिलेको निर्वाचनमा आफ्नो पोल्टामा वडाध्यक्ष पार्यो । 

२६ वर्षपछि नारायण नगर पालिका–१ मा कांग्रेस उम्मेदवार सन्देशकुमार श्रेष्ठ विजयी भएका हुन् । ३ सय ७८ मत ल्याएर विजयी भएका श्रेष्ठका निकटम प्रतिद्धन्द्धी एकीकृत समाजवादीका रमेशकुमार केसीले ३ सय ५८ मत ल्याएका थिए । २०५४ देखि जित्दै आएको नेकपा एमाले तेस्रो स्थानमा आयो। एमालेबाट वडाध्यक्षका उम्मेदवार मनोज थापाले ३ सय मत ल्याएका थिए । यसरी वडामा आफ्नो विरासत एमालेले यस पटकको निर्वाचनमा गुमाएको हो । दैलेखमा ११ स्थानीय तह र ९० वटा वडा रहेका छन् ।  

अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ‘क्लिन स्विप’ गरेको धनकुटाका दुई पालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । निर्वाचन आयोगका अनुसार धनकुटाको छथर जोरपाटी गाउँपालिका र सागुरीगढी गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको हो । 

छथर जोरपाटी गाउँपालिकामा नेपाली कांग्रेसका छत्रबहादुर सुब्बा ४ हजार ३५९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका शेर बहादुर लिम्बुले ४ हजार १६४ मत प्राप्त गरे । 

उपाध्यक्षमा पनि गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी गीता गुरुङ विजयी भएकी छिन् । उनले एमालेकी गोमा कार्कीलाई पराजित गरेकी हुन् ।  त्यस्तै सागुरीगढी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्र राई ५ हजार ३९९ मतका साथ विजयी भएका छन् । 

उनका प्रतिस्पर्धी एमालेका कुमारजंग याखाले ४ हजार ८२८ मत प्राप्त गरे। उपाध्यक्षमा भने एमालेकी मुना राई विजयी भइन् । उनले जनता समाजवादी पार्टीका लिलाराज लावतीलाई पराजित गरेकी हुन् । 

धनकुटाको चौबिसे गाउँपालिकामा भने नेकपा एमाले विजयी भएको छ । त्यसैगरी सोलुखुम्बूको सोताङ गाउँपालिकामा पनि एमालेको गढ भत्किएको छ । २६ वर्षपछि अहिले कांग्रेसले चुनाव जित्ने अवसर पाएको छ । सोताङमा कांग्रेसका खिलराज बस्नेतले जित हात पारेका छन् । 

उनले एमालेका प्रकाश कार्कीलाई पराजित गरेका हुन् ।



नयाँ