arrow

सोचेजस्तो परिणाम नआएपछि धाँधली भयो भन्ने एमालेको आरोपप्रति कांग्रेसको गम्भीर आपत्ति 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
congress-party-office-final.jpg
तस्बिर– फाइल

काठमाडौं । यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति गम्भीर आपत्ति रहेको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण मअतले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरुको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्ति (रुझान) ले एमाले अत्तालिएको भन्दै सोही कारण एमालेले आरोप लगाएको बताएका हुन् । 

विज्ञप्तिमा लेखिएको छ, ‘प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्व, सुझबुझपूर्ण र दूरदर्शिताका कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थाको रक्षा र संविधानको संरक्षण तथा कार्यान्वयनका लागि साझेदार दलहरुका बीचमा स्थानीय तह निर्वाचनमा कतिपय ठाँउहरुमा तालमेल सम्भव भयो र अन्य ठाँउहरुमा मित्रवत प्रतिस्पर्धा भयो । राष्ट्रहित र लोकतन्त्रको संरक्षणको उद्देश्यले भएको यो तालमेललाई गठबन्धनमा संलग्न हुनुहुने सबै राजनीतिक दलहरु र सम्बन्धित दलका नेता तथा कार्यकर्ता, शुभेच्छुक र समर्थक मतदाताहरुले विश्वास गर्नुभयो । यही विश्वासको जगमा सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको नतिजा आइरहेको छ । यसलाई हामीले स्वभाविक मानेका छौं ।’

कांग्रेसको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि जारी गर्नुभएको विज्ञप्तिमा समेत निर्वाचन निष्पक्ष गर्न प्रमुख भूमिका खेल्ने निर्वाचन आयोग, आयोगद्धारा परिचालित राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ । तर, निर्वाचनको परिणाम आफूले दाबी गरेजस्तो नआएपछि निर्वाचनको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्धरुपमा धाँधली गर्यो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा हो । निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दुई दिन राख्ने निर्णय निर्वाचन आयोगको हो, त्यसमा सरकार वा गठबन्धन दलको कुनै भूमिका छैन । 
निर्वाचनमा सहभागिता महत्वपूर्ण कुरा हो । विजय र पराजय सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको स्वविवेकले गरेको मतदानमा निर्भर हुने नतिजा मात्र हो । लोकतन्त्रमा जनताको अभिमतलाई सबैले सहजरुप स्वीकार गर्नु पर्दछ । सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको विवेकको सम्मान गर्न हामी आग्रह गर्दछौं ।’
 
थप स्पष्ट पार्दै कांग्रेसले भनेको छ, ‘सत्तारुढ गठबन्धनले निर्वाचन आचारसंहिताको मर्यादाभित्रै रहेर निर्वाचनमा प्रतिस्पर्धा गरेको हो । नेपाली कांग्रेसको सरकारले स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गर्न सहयोग पुर्याउन कहिकतै कमि गरेको छैन । यो स्मरण गराउन चाहन्छौं कि जब जब नेपाली कांग्रेसको नेतृत्वमा निर्वाचन सम्पन्न भएको छ तब मात्र स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्भव भएको छ ।’

कांग्रेसले स्थानीय तहको निर्वाचनमा कांग्रेसप्रति देखिएको जनसमर्थनका लागि सम्पूर्ण मतदाता, नेपाली कांग्रेसका शुभचिन्तक, समर्थक सबैलाई धन्यवादसमेत दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ