arrow

एमालेको नेतृत्व उल्टाउँदै दिपायल सिलगढीमा कांग्रेस विजयी   

logo
प्रकाश बम, 
प्रकाशित २०७९ जेठ ३ मंगलबार
doti-dipayal-congress.jpg

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । जिल्ला सदरमुकाममा पर्ने उक्त नगरपालिकामा नेपाली कांग्रेस मेयर–उपमेयरसहित भारी मतले विजयी भएको हो ।

नगर प्रमुखमा नेपाली कांग्रेसका उमेदवार बाजी सिंह खड्का (विजय) ५ हजार १३८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लक्ष्मण मलासीले ३ हजार ५१५ मत प्राप्त गरे । अर्का प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवार खगेन्द्रबहादुर साउँद (केबी)ले १ हजार ९८३ मत मात्रै प्राप्त गरेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेयरका उमेदवार रोशन भण्डारीले ५६ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टीका उम्मेदवार कलादेवी श्रेष्ठले १४ मत प्राप्त गरिन् । त्यस्तै राष्ट्रिय जनमोर्चाका उम्मेदवार नरेश आलेले ५ मत प्राप्त गर्दा स्वतन्त्र उमेदवार असोक बिक (लुहार) ले ४ मत प्राप्त गरे । 

नगर उपप्रमुखमा नेपाली कांग्रेसकै उम्मेदवार कलावती महर (साउँद) ४ हजार ७६८ मतसहित विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार रुपा कठायतले ४ हजार १२९ मत प्राप्त गरिन् । 

अर्का प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी उम्मेदवार ऐश्वर्या भण्डारी (विष्ट) ले ५७८ मत मात्रै प्राप्त गरिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी उमेदवार शान्तीकुमारी बोगटी (खड्का) ले १८७ मत मात्रै प्राप्त गरिन् । 

निर्वाचित मेयरका उम्मेदवार खड्का २०७४ सालको निर्वाचनमा नेकपा एमालेकीउम्मेदवार मञ्जु मलासीसँग पराजित भएका थिए । २०७४ मा कांग्रेसले ४ वटा वडा मात्रै जितेको थियो भने एमालेले ५ वडासहित मेयर–उपमेयर जितेको थियो । 

यसपटक एमालेको विरासत तोड्दै कांग्रेस पाँच वटा वडामा विजयी भएको छ । स्वतन्त्र जितेका एक जना वडा अध्यक्ष यसअघि कांग्रेसबाट विजयी भएका थिए । एमाले नगरका दुई वटा वडा र माओवादी एक वडामा विजय भएको छ ।

वडा नं १ मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णबहादुर साउँद, २ मा स्वतन्त्र उम्मेदवार राजेन्द्र खड्का र ३ मा नेपाली कांग्रेसकै नारायण सिंह साउँद विजयी भएका छन् । त्यस्तै, वडा नं ४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार अशोककुमार सोप, ५ मा कांगेसका गणेशबहादुर भण्डारी र ६ मा नेकपा एमालेका नरेश मलासी विजयी भएका छन् । 

वडा नं ७ मा एमालेका कर्ण बहादुर विष्ट, ८ मा नेपाली कांग्रेसका दशरथ बलायर र ९ मा नेपाली कांग्रेसका हर्क बहादुर साउँद विजय हुनुभएको छ ।
 दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेस जितेको छ । 

दिपायल सिलगढी नगरपालिकामा २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा कांग्रेसका घनश्याम पाठक मेयरमा निर्वाचित भएका थिए । त्यसपछि २०५४ मा भएको निर्वाचनमा एमालेले कब्जा जमायो । जसमा एमालेका पूर्णराज जोशी जितेका थिए ।

२०७४ मा भएको स्थानीय तह निर्वाचनमा एमालेकी उम्मेदवार मञ्जु मलासी विजयी भएकी थिइन् । जसमा कांग्रेसबाट अहिले निर्वाचित मेयर खड्का नै उनीसँग पराजित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ