arrow

दश बुँदे पक्षधरलाई टिकट नदिँदा एमालेले गुमायो कीर्तिपुरको गढ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
uml-flag.png

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा वर्षौंदेखिको वामपन्थी गढमा नेपाली कांग्रेसले झण्डा गाड्यो । स्थानीय तहको निर्वाचनबाट नगरपालिकामा नेपाली कांग्रेसले मेयरसहित बहुमत वडामा जित हासिल गरेको छ । नगरपालिकाको मेयरमा कांग्रेसका राजकुमार नकर्मीले एमालेका रत्नकेशर बज्राचार्यलाई पराजित गरेर विजयी भएका हुन् । 

नकर्मीले बज्राचार्यलाई साढे चार हजार मतले पराजित गरेका हुन् । नकर्मी ९ हजार ४३ मत ल्याएर मेयरमा निर्वाचित हुँदा एमालेका बज्राचार्यले ५ हजार ५०७ मत ल्याए । अघिल्ला दुई स्थानीय निर्वाचनमा एमालेले विजय हासिल गरेको कीर्तिपुर नगरपालिका यसपटक नेपाली कांग्रेसको पोल्टामा गएको छ। नगरप्रमुख–उपप्रमुखसहित ९ वटा वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  

यो नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवारले पनि प्रतिस्पर्धात्मक मत प्राप्त गरेका छन् । सो पार्टीका प्रा. शिवशरण महर्जनले ४ हजार ९० मत प्राप्त गरेका छन् । उपमेयरमा पनि नेपाली कांग्रेसकी शुभलक्ष्मी शाक्य (सुनिता) ले विजय हासिल गरेकी छिन् । शाक्यले ८ हजार ६ सय ६५ मत प्राप्त गरेकी छन् । 

निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले ७ हजार २ सय ६ मत र तेस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी सुशीला बस्नेतले २ हजार २ सय ४० मत प्राप्त गरेकी छिन् । यो नगरपालिकाका सम्पूर्ण वडाहरुमासमेत एमाले हारेको छ । १० मध्ये ९ वटा वडाका वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरुले विजय हासिल गरेका छन् । 

एमालेको परम्परागत किल्लाको रुपमा रहेको कीर्तिपुर बढारिनुका पछाडि एमालेभित्र रहेका १० बुँदे समूहका नेतालाई टिकट नदिनु र त्यहाँका लोकप्रिय नेता सुरेन्द्र मानन्धर जिम्मेवारविहीन हुनु नै प्रमुख कारण रहेको छ । त्यहाँ लोकप्रिय मानिएका निवर्तमान मेयर रमेश महर्जनलाई मेयरको टिकट नदिनु पनि अर्को कारण रहेको छ । 

कीर्तिपुरमा लोकप्रिय रहेका महर्जन एमालेभित्रको अन्तरद्वन्द्वको समयमा माधव नेपाल–वामदेव गौतम खेमामा थिए । गौतम नेतृत्वको ‘एमाले एकता अभियान’ को सदस्यसमेत रहेका महर्जन स्थानीय तहमा ‘१० बुँदे पक्षधर’ नेता हुन् । 

यद्यपि उनी आफैँंले टिकट पाउनु पर्छ भनेर लागेका थिएनन् । अर्कोतर्फ विद्यार्थी राजनीतिबाट आएका बटुकृष्ण थापा माधव नेपालतिर लाग्नु पनि अर्को कारण रहेको छ । स्थानीय पार्टी कमिटीले यसपटक पनि महर्जनलाई उम्मेदवार बनाइँदा विजय हासिल गर्ने भन्दै उनको नाम सिफारिस गरेको थियो ।

तर, ‘१० बुँदे पक्षधर’ भएकै कारण ओलीले उनलाई टिकट दिन आनाकानी गरे । महर्जनलाई टिकट दिनुपर्छ भनेर ओलीलाई पटक पटक भनिएको भए पनि महर्जनलाई टिकट दिइएको थिएन ।

 ‘एमालेभित्र फरक दृष्टिकोण राख्ने भए पनि उहाँलाई टिकट दिँदा जितिने अवस्था छ भनिएको थियो’, कीर्तिपुरका एक नेताले भने । एमाले अन्तरद्धन्द्धका बेला आफूलाई साथ नदिएकै आधारमा महर्जनलाई मेयरको टिकटबाट बञ्चित गरेका ओलीले माओवादी केन्द्रबाट नयाँशक्ति हुँदै एमाले प्रवेश गरेका केशरत्नलाई टिकट दिनु नै कीर्तिपुरजस्तो एमालेको किल्लामा हार व्यहोर्नुपरेको एमालेका एक नेताले भने । 

ओलीले एमालेबाट अलोकप्रिय व्यक्तिलाई मेयरको टिकट दिनु र माओवादी केन्द्रले बौद्धिक छविका व्यक्तिलाई टिकट दिनु पनि कीर्तिपुरमा एमालेको पराजयको कारण बनेको स्रोतको दाबी छ । 

माओवादीले प्रा. शिवशरण महर्जनलाई मेयरको उम्मेदवार बनाएको थियो । एमालेको केही मत माओवादीतिर गएको अनुमान गरिएको छ । त्यहाँ माओवादीले आफ्नो पकड बढाएको छ । २०७४ र २०५४ का दुवै निर्वाचनमा कीर्तिपुर नगरपालिकामा एमाले विजयी भएको थियो । ‘एमालेभित्र रहेका १० बुँदे पक्षधरलाई वेवास्ता गर्दा एमालेले काठमाडौंको महत्वपूर्ण स्थान गुमाएको छ’, एमाले काठमाडौंका एक नेताको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ