सिन्धुली। परम्परादेखी चलिआएको बालिघरे प्रथा अझै हट्न सकेको छैन। सिन्धुलीका ग्रामीण क्षेत्रमा मात्र होइन सदरमुकाम वरपर पनि अहिले सम्म बालिघरे प्रथा कायमै छ।
दुधौली नगरपालिका–३ का पूर्ण बहादुर विक अहिले पनि वर्ष भरिको आफ्नो पारीश्रमिक अन्नपात लिएर चिक्त बुझाउछन। उमेरले ५० वर्ष नाघिसकेका विकले गाउँका आफ्ना विष्ट(ग्राहक)को हषिया, कोदालो लगायत कृषि औजार बनाए वापत प्रत्येक घरधुरीसँग ज्यालाको रुपमा अन्नपात लिने गरेका छन। उनले गाउँभरिका विष्टहरुको काम यसरी नै गर्दै आएका छन।
विक त एक प्रतिनिधी पात्र मात्र हुन् उनी जस्तै ग्रामीण क्षेत्रका दलित समुदायले लुगा सिलाएको, कृषि औजार बनाएको पारीश्रमिक वापत अहिले पनि बालिघरे प्रथामै चित्त बुझाउनु परीररहेको छ। अर्का झागाँझोली रातमाटा गाविस–२ का सानुमान विश्वकर्मा पनि आरन चलाए वापत मकै र धानमा काम गरिरहेका छन।
उनले कामको पारीश्रमिक वापत वार्षिक विष्टसँग अन्न लिने गर्छन। सदियौ देखी चलिआएको बालिघरे प्रथा निर्मुल हुन नसक्दा आफुहरुले काम गरेवापतको मुल्य नपाएको उनीहरुको गुनासो छ। बालिघरे प्रथा अनुसार उनीहरु परीवारबाट भिन्न हुँदा ग्राहकको पनि अंशवण्डा गर्ने गर्छन। आफ्नो अंशमा परेका ग्राहकको वर्षदिनको औजार बनाउने तथा लुगा सिलाउने काम उनीहरु बालिघरे प्रथाको आधारमा गर्दै आएका छन।
अझै पनि ग्रामीण क्षेत्रमा छुवाछुत प्रथा हट्न सकेको छैन त्यसमाथि सदियौ देखि चलिआएको बालिघरे प्रथामा उनीहरु चित्त बुझाउन बाध्य छन।
मुलुकमा दलितको नाममा आन्दोलन र सवैलाई सम्मानका साथै काममा लगाएपछि परिश्रम अनुसार मुल्य दिनुपर्ने भाषणहरु नेताहरुबाट हुने गरेको भएपनि त्यस अनुसारको अझै परिवर्तन हुन नसकेको दलित समुदायको गुनासो छ । नेपाली कांग्रेस सिन्धुलीका दलित नेता रित वहादुर परियार अझै पनि ग्रामीण क्षेत्रमा बालिघरे प्रथा कामयै रहेको स्वीकार गर्छन।
‘ठुला मेसीन किन्न सक्नेले शुल्क तोकेर काम गरे पनि ग्रामीण भेगका गरीब दलितहरु अझै पनि बालिघरे प्रथाका कारण श्रम शोषणमा परीरहेका छन’, परियारले भने। दलित सम्बन्धी काग गर्ने दर्जनौं संस्था सदरमुकाममा सिमित भइदिदा ग्रामीण भेगका दलितहरु आफ्नो पारिश्रमिक लिन सकिरहेका छैनन्। ‘दलितका नाममा आएका अबौं रुपैयाँ सदरमुकाममा सभा सेमिनार गरेर सकिन्छ तर हाम्रो हितका लागी खासै काम गरेको देखिदैन। ’नेकपा माओवादी केन्द्रका नेता बावुराम नेपालीले गुनासो गरे।
एकातिर जातीय छुवाछुत र अर्कोतिर बालिघरे जस्ता प्रथाका कारण ग्रामीण भेगका दलितहरु श्रमशोषणमा परिरहेका छन। यस तर्फ सम्बन्धीत निकायको ध्यान जान जरुरी देखिन्छ।