काठमाडौं । सरकारको विशेष दूतका रुपमा नयाँदिल्ली पुगेका उपप्रधानमन्त्री विमलेन्द्र निधि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपका अनुसार मोदीलाई भेट्न निधि मोदीको दिल्ली स्थित सरकारी निवास सेभन रेस कोर्स पुगेका हुन् । मोदी निधिलाई निवासमा देखेर मुस्कुराए । मुस्कुराएरै कुरा गरे ।
भेटका क्रममा निधिले भारतीय प्रधानमन्त्रीसंग सरकारले मधेसी मोर्चाको माग सम्बोधनमा चालेको कदम, संविधान कार्यान्वयनमा भारतको सहयोग लगायतका विषयमा कुरा गरेका बताइएको छ ।
भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणबारे छलफल भएको छ । यस्तै, निधिले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
यसअघि मोदीले जनकपुर, मुक्तिनाथ र लुम्बिनी भ्रमणमा इच्छा राखेपनि भ्रमण हुन सकेको थिएन । मोदी १८औं सार्क सम्मेलन र भूकम्पपछि भएको दातृ निकायको सम्मेलनमा नेपाल आएका थिए ।
यस्तै, भेटका क्रममा भारतीय प्रधानमन्त्री मोदीले भारतले चासो राखेका बहुचर्चित आयोजनाबारे कुरा गरेका बुझिएको छ । मुख्य गरेर भारत सुरक्षा क्षेत्रको खतराबाट डराएकाले गृहमन्त्री निधिसंग सुरक्षा संयन्त्रको समन्वयका विषयमा छलफल भएको बताइएको छ ।