काठमाडौं। ओखलढुङ्गा स्थायी घर भएका रामचन्द्र परियारले घरमा पेन्टस् लगाउने काम गरेको झण्डै ५ वर्ष जति भयो। उनी विहान पत्रपत्रिका वितरणको काम गर्छन् भने दिनभर र कहिले त रातीसम्म पनि पेन्ट्स लगाउने काममा लागिरहेका हुन्छन्। तर, शुक्रबार उनीसँग काठमाडौंको सिनामंगलमा भेट्दा उनले पेन्ट्समा प्रयोग हुने लीडको मात्रा बढी हुने गरेको र यसले स्वास्थ्यमा गम्भीर असर पुर्याउने विषयमासम्म पनि जानकारी नभएको बताए।
उनले पेन्ट्स लगाउने विषयमा जानकारी भएको भएपनि पेन्ट्सबाट कस्ता समस्याहरू सिर्जना हुन्छन् भन्ने कुराको विषयमा आजसम्म कसैले नभनेको र आफूले पनि यसलाई धेरै महत्वका साथ नहेरेको पनि बताए।
हामीले यसरी प्रयोगकर्ताको अज्ञानता देखेपनि पेन्टस्हरूको बट्टामा मापदण्ड अनुसार सावधानीमूलक विषय उल्लेख गरिएको छ या छैन भनेर हेर्न जाँदा कुनैपनि पेन्ट्सले यस्तो सावधानी मूलक विषयहरू पेन्ट्सको बट्टामा उल्लेख नगरेको भेटिएको छ। कतिपयले त यस्ता पेन्ट्स प्रयोगगर्न सकिने अन्तिम मिति र मूल्य समेत उल्लेख नगर्ने गरेको पनि भेटिएको छ।
सरकारले पेण्ट्समा ९० पीपीएमसम्म मापदण्ड भित्र रहेको मान्ने गरी २०७१ साल फाल्गुन ७ गते राजपत्रमा प्रकाशित भएर २०७२ असार ५ गतेदेखि लागूहुने गरी मापदण्ड जारी गरेको थियो। तरपनि मापदण्डको छेउछाउसम्म समेत नआईपुगेका पेन्ट्स उद्योगहरू खुलेहाम बजारमा हानिकारक सामग्री बेचिरहेका छन्। तर, यतिहुँदा सम्मपनि सरकार बेखबर छ र कुनैपनि कारबाही र यसबारे सचेतना समेत दिने गरेको छैन।
लीडको मात्राको सवालसँगै मूल्य र प्रयोग गर्न सकिने अन्तिम मिति स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था मापदण्डले स्पष्टसँग तोकेको छ। तर, केही पेन्ट्स बाहेक अन्य कुनै पनि पेन्ट्सले मूल्यसूची र प्रयोग गर्न सकिने अन्तिम म्याद उल्लेख गर्ने गरेका छैनन्। अझ भन्ने हो भने यसको प्रयोगमा ध्यान दिनुपर्ने कुरा र प्रयोगकर्तालाई यसको प्रयोग र सचेतताको विषयमा सावधानी गराउने विषय उल्लेख गर्नुपर्ने भनेर पनि मापदण्डले तोकेको छ।
तर, बजारमा अहिले पाईने कुनैपनि पेन्ट्सहरू न त त्यसभित्र प्रयोग गरिने लीडका हिसावले मापदण्ड भित्र छन् न त मूल्य र प्रयोगका हिसावले नै। यसरी मापदण्डलाई ठाडो चुनौती दिएर आफ्ना उत्पादनलाई बजारमा पठाएर उपभोक्ता स्वास्थ्यमाथि खेलवाड गर्ने पेन्ट्स कम्पनीलाई कहिलेसम्म उन्मुक्ति दिईने हो त्यो भने हेर्दै जानु पर्नेछ।