arrow

ढल्केबरमा सवस्टेशन नबन्दा भारतबाट विद्युत् आयात गर्न समस्या

logo
रमेश लम्साल,
प्रकाशित २०७३ भदौ ४ शनिबार
janardanwithtoli.jpeg
ढल्केबर (धनुषा)। विगत तीन वर्षदेखि निर्माणका क्रममा रहेको ढल्केबर सव स्टेशनले पूर्णता नपाउँदा भारतबाट आयात गर्ने भनिएको थप विद्युत् ल्याउन समस्या हुने भएपछि सरकारले चासो व्यक्त गरेको छ । 
 
आगामी हिउँदमा विद्युत् भार कटौतीलाई सात घन्टामा सीमित गर्न पनि २२० केभी क्षमताको सो सव स्टेशन आगामी मङ्सिरभित्र सम्पन्न गर्नुपर्छ । तर नेपाल विद्युत् प्राधिकरण र चिनियाँ ठेकेदार सिपिजिसिबीच आवश्यक समन्वय हुन नसक्दा सवस्टेशन निर्माण प्रक्रियाले गति लिन नसकेको अवस्थामा ऊर्जा मन्त्रालयले तत्काल सो परियोजना निर्माण सम्पन्न गर्न निर्देशन दिएको हो । 
 
ऊर्जा मन्त्री जनार्दन शर्मा नेतृत्वको उच्चस्तरीय सरकारी प्रतिनिधि मण्डलले ढल्केबर सव स्टेशनको निर्माण प्रक्रियाका बारेमा चासो व्यक्तगर्दै आयोजना प्रमुख र सम्बन्धित ठेकेदारलाई आगामी चार महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएको हो । 
 
नेपाल र भारतबीच केही समयअघि सम्पन्न ऊर्जा सचिवस्तरीय बैठकले नेपालले माग गरे बमोजिमको विद्युत् भारतले उपलब्ध गराउन सहमति जनाएको थियो । भारतले उपलब्ध गराउने विद्युत् ल्याउन ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मार्फत विद्युत् उपलब्ध गराउन सहमति भए पनि नेपालतर्फ सवस्टेसन निर्माण प्रक्रियाले गति नलिँदा समस्या उत्पन्न हुँदै आएको छ । 
 
चिनियाँ ठेकेदारले केही सामान्य समस्या देखाएको छ । नालाबाट पानी व्यवस्थापन, विद्यमान सवस्टेशन नजिक रहेको प्राधिकरणको टावरको स्थानान्तरण र कोलकात्ता बन्दरगाहामा रोकिएको सामान तत्काल छुटाइदिन सरकारसँग माग गरेको छ । ठेकेदारले उठाएको सो विषय जटिल नभएको र सव स्टेशन निर्माण हुने स्थानमा जग्गा सम्याउने र माटो परीक्षणलगायतका काम सकिएकाले आगामी मङ्सिरभित्र आयोजना सम्पन्न गर्न कुनै गाह्रो नहुने सम्बन्धित आयोजनाको दाबी छ । 
 
ऊर्जामन्त्री शर्माले जुनसुकै विधि र उपाय अपनाएर भए पनि सव स्टेशनको काम सम्पन्न गर्न प्राधिकरणका प्रसारण निर्देशनालय प्रमुख कन्हैया मानन्धर, आयोजना प्रमुख राधेशशरण महतो र चिनियाँ ठेकेदार सिपिजिसिलाई निर्देशन दिएका छन् । 
 
मन्त्री शर्माले भने , “हामीसँग समय छैन, आगामी हिउँद लाग्नु भन्दा पहिल्यै सव स्टेशनको काम सम्पन्न हुनुपर्छ । भारतबाट तत्काल ल्याउने भनिएको १५० मेगावाट विद्युत् आउनुपर्छ ।” 
 
नेपालतर्फ सव स्टेशनको काम अगाडि नबढेपछि भारतीय पक्षले मोबाइल सव स्टेशन राखेर भए पनि नेपाललाई आवश्यक पर्ने विद्युत् उपलब्ध गराउन तयार देखिएको छ । तर सो प्रक्रिया पनि अगाडि बढ्न सकेको छैन । 
 
प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले मोबाइल सव स्टेशनको विषयमा प्रारम्भिक छलफल मात्रै भएको र कुनै पनि निष्कर्षमा नपुगिएको बताउछन् । काफ्लेले भने  “हाम्रो ध्यान स्थायी सव स्टेशन नै भएकाले आगामी हिउँदमा सात घन्टामा विद्युत्भार कटौती सीमित गर्न मङ्सिरभित्र काम सम्पन्न गर्न प्रयासरत छौँ । ठेकेदार र सरोकार भएका निकायले तोकेको जिम्मेवारी अनुसार काम गरे निर्माण सम्पन्न हुनसक्छ ।” 
 
ठेकेदार सिपिजिसिका प्रतिनिधि फाङले माथिल्लो मस्र्याङ्दीमा कार्यरत एक सय चिनियाँ कामदारलाई यसै साताबाट काममा लगाउने तयारी गरिएको बताए । “हामीले उठाएका सामान्य समस्या नेपाल सरकारले समाधान गरिदिएको खण्डमा हामी तोकिएको समयमा सव स्टेशनको काम सम्पन्न गर्न सक्छौँ”– फाङले भने । 
 
आयोजना प्रमुख महतोले पनि एकाध दिनभित्रैमा निर्माण कार्यले गतिलिने विश्वास व्यक्त गरे । “हामीले मुलुकको आवश्यकता र सरकारको निर्देशनका आधारमा काम अगाडि बढाएका छौ, आवश्यक जनशक्ति उपलब्ध गराउन सहयोग गर्छौ, त्यसो हुँदा मङ्सिरभित्र सव स्टेशन निर्माण सम्पन्न हुन सक्छ”– प्रमुख महतोले भने । 
 
सवस्टेशन निर्माण प्रक्रियाले गतिलिन नसक्नुको पछाडि माटो परीक्षणमा नै १० महिनाभन्दा बढी समय लागेको र परामर्शदाताले अन्य प्राविधिक काममा समय लगाएका कारण पर धकेलिएको गुनासो पनि ठेकेदारले गरेको छ । प्रसारण निर्देशनालयका प्रमुख मानन्धरले जुनसूकै समस्या समाधान गर्न प्राधिकरण, प्राधिकरण सञ्चालक समिति र ऊर्जा मन्त्रालय तयार भएकाले कुनै पनि अप्ठ्यारो नमानी काम गर्नुपर्ने बताउछन् । 
 
दैनिक जानकारी गराउनुस समस्या समाधान गर्छु– मन्त्री शर्मा 
 
त्यसो त ऊर्जामन्त्री शर्माले सव स्टेशन निर्माणमा हुने दैनिक प्रगति र समस्या आफूलाई जानकारी गराउन निर्देशन दिएका छन् । ‘‘कुनै समस्या आए मलाई जानकारी गराउनूस, मेरो तहबाट हुने समाधान म गर्छु । मेरो तहबाट हुन नसक्ने समस्याको समाधान प्रधानमन्त्री तहमा लगेर निरुपण गर्छु’’ – मन्त्री शर्माले भने । 
 
विद्यमान सवस्टेशनमा भारतबाट आयात गरिएको ८० मेगावाट बाहेक अरु विद्युत् थप गर्न सम्भव छैन । कुल ४०० केभी क्षमताको प्रसारण लाइनलाई १३२ केभीमा रुपान्तरण गरेर भारतबाट विद्युत् आयात गरिएको छ । नयाँ सव स्टेशन निर्माण हुनसकेको खण्डमा भारतबाट थप ३०० मेगावाट विद्युत् आयात गर्न सकिने प्राधिकरणका अर्का निर्देशक कुलमान घिसिङ बताउछन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ