काठमाडौं । नेपाली काँग्रेसले संघीय संरचनामा जाँदा स्थानीय निकायको स्वरूप कस्तो हुने भन्ने विषयमा अन्तरक्रिया आयोजना गरेको छ । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारणको सन्दर्भमा राय, सल्लाह एवं सुझाव संकलनार्थ कांग्रेसले भाद्र ५ र ६ गतेको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको नेपाली काँग्रेसले जनाएको छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारी एवं सदस्यहरु र जिल्ला सभापतिहरुको सहभागिता रहने नेपाली काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कार्यक्रम काठमाडौँको वानेश्वर स्थित आनन्द इभेन्ट पार्टी प्यालेसमा गरिने तयारी गरिएको छ भने विहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गर्ने गर्ने बताईएको छ ।
यस अघि नै साउन ११ गते बसेको काँग्रेस संसदीय दलको बैंठकमा स्थानीय निकाय अन्तर्गतको गाउँपालिका ५ सय ६५ हुँदा विभिन्न समस्या सिर्जना हुनसक्ने भन्दै यसको संख्या एक हजारसम्म पुर्याउनुपर्ने धारणा पनि धेरैले राखेका थिए। यसरी थोरै गाउँपालिका राख्दा विकेन्द्रीकरणको मान्यता विपरित हुने र स्थानीय नेतृत्व पनि सीमित हुने भन्दै यसको संख्या बढाउनु पर्ने पक्षमा बैठक देखिएको पनि काँग्रेस नेताहरूले बताएका छन् ।
त्यस्तै, गरी बैठकले पहाडी गाउँ भएका जिल्लामा बढीमा ३ गाउँ भन्दा बढी मिलाउन नहुने पक्षमा लाग्नु पर्ने निर्णय पनि गरेको छ । यसरी पहाडी क्षेत्रमा धेरै गाउँ जोड्दा सेवाग्राहीलाई समस्या हुने भएकोले यसमा सचेत हुनुपर्ने ठहर पनि काँग्रेसले गरेको छ ।