- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल वामगठबन्धन बनाउने पक्षमा उभिएका छन् । एस पार्टीले शनिबार स्थानीय तहको निर्वाचनको समीक्षा गर्न बसेको बैठकमा खनाल वामगठबन्धनको पक्षमा उभिएका हुन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन दल विशेष गरी नेपाली कांग्रेस र माओवादी केन्द्रले सोचेजस्तो सहयोग नगरेको बताउँदै खनालले जतिसक्दो चाँडो वामगठबन्धन बनाउन जोड दिएका हुन् ।
सम्मानित नेता खनालले गठबन्धनमा इमानदारी नदेखिएको बताएका थिए । उनले बैठकमा गठबन्धन फलदायी नभएको र धोका पाएको बताउँदै वामगठबन्धन हुनुपर्ने बताएको स्रोतले जनाएको छ । बैठकमा नेता खनालले आफूहरु इमानदार भएको र इमानदार भएकै कारण मतदाता बनेको तर गठबन्धनका अन्य सहयात्रीहरु इमानदार नभएको भन्दै बैठकमा बृहद समीक्षा गर्नुपर्ने माग गरेका थिए ।
‘स्थानीय तहको निर्वाचनबाट धेरै सन्तुष्ट हुने आधार देखिएको छैन, यो गठबन्धनभित्र सम्मानजनक ढंगले गठबन्धन हुँदै भएन । त्यो नभएको हुनाले त्यसबारे बृहद समीक्षा गर्नुपर्ने अवस्था आएको हो । त्यसबारे हामीले पाँच दलभित्र पनि राखेका छौं, हामी आफैं पनि समीक्षा गर्दैछौं,’सम्मानित खनालले बैठकपछि भनेका थिए ।
उनले वामपन्थीहरुबीच एकता हुनु चाँहिँ बस्तुगत आवश्यकता भएको बताएका थिए । ‘यतिबेला वामपन्थी आन्दोलनका मेजर संगठनका नेताहरु अहिले वामपन्थी एकताको पक्षमा देखिनुहुन्न । यसो हुनाले तत्काल वामपन्थी एकताको आवश्यकता भए पनि त्यो सम्भावना चाँहिँ निकै कमजोर छ । हामी स्थानीय तहको निर्वाचनबाट धेरै असन्तुष्ट छौं । किनभने यो पाँच दलको गठबन्धनभित्र सम्मानजनक ढंगले गठबन्धन हुँदै भएन । त्यो नभएको हुनाले हामी असन्तुष्ट छौं । त्यो असन्तुष्टि हामीले पाँचदल भित्र पनि राखेका छौं । हामी आफैं पनि समिक्षा गर्दैछौं । अव हामी ठ्याक्कै यो समिक्षाको बीचमा छौं । समीक्षा गरिसकेपछि अब के के निस्कन्छ, त्यस आधारमा हामी तपाईहरुसँग फेरि कुरा गर्दछौं ,’ उनले भने ।
शनिबार बसेको बैठकमा नेताहरुले आफूहरुले इमानदारपूर्वक मत दिँदा पनि कांग्रेस र माओवादीबाट सहयोग प्राप्त नभएको, केन्द्रमा भएको सहमतिलाई स्थानीय तहका नेता कार्यकर्ताले कार्यान्वयन नगरेको बताएका थिए ।
त्यतिमात्र होइन कांग्रेस र माओवादी मिलेर एस पार्टीलाई पाखा लगाएको बताएका थिए । उनीहरुले कांग्रेस र माओवादी मिल्न सक्ने स्थानमा एसलाई उम्मेदवारी दिनसमेत बन्देज गरेको आरोप पनि लगाएका थिए ।
‘धेरै स्थानमा कांग्रेस र माओवादी मिलेर हामीलाई प्रमुख, उपप्रमुख र वडाध्यक्षमा समेत बन्देज गरेको पाइयो । समग्रमा यो गठबन्धन कांग्रेस र माओवादीका लागि मात्रै फलदायी रह्यो’,बैठकमा सहभागी एक नेताले भने ।
उनका अनुसार केही नेताहरुले गठबन्धन सफल भएको पनि बताएका थिए । तर त्यो आवाज नगन्य मात्रमा आएको थियो । गठबन्धनको विषयमा धेरै छलफल भएपछि एस पार्टीको बैठकले सातवटै प्रदेशबाट सूचना संकलनका लागि पार्टीका शीर्ष नेताहरुलाई खटाउने निर्णय गरेको छ ।
पार्टी सचिवालयको बैठकले स्थानीय तह निर्वाचनको लागि गम्भीर ढंगले समीक्षा गर्न सही सूचना आवश्यकता रहेको भन्दै विरोधलाई सामान्य पार्न खोजेको छ ।
सूचना संकलनका लागि सबै प्रदेशमा १–१ जना सचिवालयका सदस्यहरुलाई खटाउने निर्णय गरेको हो । ‘यो गठबन्धनलाई निरन्तरता दिने गरी आएको प्रस्ताव हो’ एक नेताले भने ‘गठबन्धनको ज्यादै विरोध भएपछि सूचना संकलन गर्ने भन्दै सात वटै प्रदेशमा नेताहरु खटाउने निर्णय भएको छ ।’
बैठकले पाँच दिनभित्र स्थानीय तह निर्वाचनको सम्पूर्ण सूचना संकलन गरिसक्ने गरी प्रदेश १ मा जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा प्रमेश हमाल, लुम्बिनी प्रदेशमा विजय पौडेल, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा वेदुराम भुसाललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
बैठकमा गठबन्धनभित्र पनि स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिकाको विषयमा गम्भीर ढंगले छलफल गरिएको पनि बैठकपछि सम्मानित नेता खनालले बताए ।
त्यसैगरी उपमहासचिव गंगालाल तुलाधारका अनुसार स्थानीय निर्वाचनको विषयमा समग्र छलफल भएको थियो । केही सूचनाहरुमा कमजोरी भयो कि भनेर सूचना संकलन गर्ने गरी नेताहरु खटाइएको छ’, उपमहासचिव तुलाधरले भने ।
उनका अनुसार निर्मम भएर समीक्षा गर्नुपर्ने भएकाले पनि सूचना संकलन गर्नुपर्नेछ । ‘मनबचनले हामी इमानदार हुँदा हुँदै कतिपय स्थानमा धोका भएको हो कि भन्ने महशुस भएको छ त्यसकारण निर्मम समीक्षा गर्नुपर्नेछ’, उपमहासचिव तुलाधारले भने ।
उनका अनुसार त्यसरी आएको सूचनालाई सचिवालयबाहेक अन्य कमिटीमा पनि छलफल गर्ने र आगामी रणनीति तय गरिनेछ ।