arrow

नेपालको नूनमा मापदण्ड भन्दा अत्यधिक बढी आयोडिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २२ आइतबार
aayo-noons.jpg

काठमाडौं । नेपाली भान्सा मा प्रयोग हुने नूनमा आयोडिनको मात्रा आवश्यकता भन्दा निकै बढी पाइएको छ । नेपालका करिब ११ जना विज्ञ अनुसन्धानकर्ताको नेतृत्वमा गरिएको अध्ययनले नेपाली भान्साको नूनमा आयोडिनको मात्रा अत्यधिक हुने गरेको निश्कर्ष निकालेको हो ।

काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सेस (केआईएस)का अनुसन्धानकर्ता बसन्त गिरी, शिशिर पाण्डे, सदीक्षा शाक्य, भानुभक्त न्यौपाने, त्रिभुवन विश्वविद्यालयका अनुसन्धानकर्ता कृष्णप्रसाद कण्डेल, चन्द्रदिपकुमार यादव, रामप्रवोद यादव, राजेन्द्रबहादुर जीसी, मेघराज योञ्जन,  पोखरा विश्वविद्यालयका अनुसन्धानकर्ता विष्णुप्रसाद पाण्डे र सुदूरपश्चिम विश्वविद्यालयका अनुसन्धानकर्ता प्रेमसिंह साउँदको नेतृत्वमा भएको अध्ययनले यस्तो देखाएको हो ।

यी अनुसन्धानकर्ताहरुले गरेको यो अध्ययन न्युयोर्क एकेडेमी अफ साइन्सेसको ‘एनल्स अफ द न्युयोर्क एकेडेमी अफ साइन्सेस’ जर्नलमा मे २५ मा प्रकाशित भएको छ ।

उक्त जर्नल रिपोर्ट अनुसार अनुसन्धानका लागि विभिन्न सात जिल्लाका २११७ घरबाट नूनको नमुना संकलन गरिएको थियो। यी मध्ये ९८.१ प्रतिशत घरको नुन आयोडिनयुक्त पाइएको छ ।

तर सबै घरको नूनमा औसतमा आयोडिन मात्रा ५३.९ पीपीएम (पार्ट्स पर मिलियन) पाइएको छ । सबैभन्दा कम आयोडिनको मात्रा हुने घरमा ४३.५ पीपीएम र सबैभन्दा बढी हुने घरमा ६१.४ पीपीएम भेटिएको छ । अध्ययन अनुसार ६५ प्रतिशत नुनमा त ४५ पीपीएमदेखि ७५ पीपीएमसम्म आयोडिन फेला परेको छ । 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड एवं अन्यको सिफारिस अनुसार नूनमा आयोडिनको मात्रा १५ पीपीएम हुनुपर्ने हो । तर, यो अध्ययनबाट नेपालमा प्रयोग हुने नूनमा मापदण्ड भन्दा तीनदेखि पाँच गुणाबढीसम्मको आयोडिन हुने गरेको देखिएको छ ।

अध्ययन अनुसार समग्रमा नमूनाको ८३.९ प्रतिशत नूनमा अत्यधिक आयोडिनको मात्रा, १३.३ प्रतिशतमा पर्याप्त र ०.९ प्रतिशत नूनमा अपर्याप्त आयोडिन फेला परेको छ ।

केही जिल्लामा तलमाथि मात्रा भए पनि समग्रमा यो अध्ययनले नेपालमा प्रयोग हुने आयोडिनयुक्त नुनमा आयोडिनको मात्रा अत्यधिक हुने गरेको पुष्टि गरेको छ ।

आयोडिन थाइरोइड ग्रन्थीसँग संलग्न शारीरिक प्रक्रियाहरूको नियमनका लागि आवश्यक तत्व हो। तथापि, आयोडिनको अपर्याप्त र अत्यधिक सेवनले स्वास्थ्य समस्या निम्त्याउँछ ।

आयोडिनको कमी हुँदा र आयोडिनको मात्रा बढी हुँदा हाइपोथायरायडिज्म, हाइपर थाइरोइडिज्म, थाइरोइडाइटिस, गलगण्ड, थाइरोइड पेपिलरी क्यान्सर, र थाइरोटोक्सिकोसिस जस्ता स्वास्थ्य समस्या निम्तिने गर्छन् ।

विश्वव्यापी साल्ट आयोडिन (यूएसआई) कार्यक्रम विश्वभरीको जनसंख्यालाई पर्याप्त आयोडिन उपलब्ध गराउन सफल भएको छ। 

प्याकेजिङको गुणस्तर, आयोडिनयुक्त नुनको ढुवानी र भण्डारणको अवस्थाले आयोडिनको उपलब्धता निर्धारण गर्दछ। नेपालले करिब ५० वर्ष अघि नै गलगण्ड निर्मूल गरेको थियो, अहिले थाइराइडको समस्या बढ्दै गएको छ ।

उत्पादनपछि प्याकेजिङ, ढुवानी, भण्डारण, पसलहुँदै घरसम्म आइपुग्दा नुनमा आयोडिनको मात्रा घटेर मापदण्ड अनुसार पुग्ने आंकलन अनुसार नेपालमा औद्योगिक उत्पादन गर्दा राखिने आयोडिनको मात्रा ५० पीपीएम रहेको छ ।

यद्यपि, यो अध्ययनले औद्योगिको उत्पादनका क्रममा नै आयोडिनको मात्रा ५० पीपीएम भन्दा बढी राखिने गरेको देखाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ